प्रधानमन्त्री ओलीलाई माधव नेपालको जवाफ : 'आज तपाईंको फोन साथीहरूको दबाबले मात्र उठाएको हुँ'

फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई वरिष्ठ नेता माधवकुमार नेपालले साथीहरुको दबाबका कारण बाध्यतावश मात्र फोन उठाएको जवाफ दिएका छन्।

केन्द्रीय कमिटी बैठक बस्ने पूर्वसन्ध्यामा बिहीबार बेलुकी प्रधानमन्त्री ओलीले गरेको फोन उठाएर यस्तो जवाफ दिएका हुन्। 'आज तपाईंको फोन उठाउने नै थिइनँ, केही साथीहरूले अत्यन्तै जोड दिएकाले मात्र उठाएको हुँ', ओलीले शुक्रवार बस्ने स्थायी कमिटी बैठकमा आउन अनुरोध गर्दा नेपालले भनेका थिए, 'केन्द्रीय कमिटी बैठक स्थगित गर्नुस्। सर्वोच्च अदालतको निर्णय आउँछ। त्यसपछि कसरी अघि बढ्ने भन्नेबारे छलफल हुन्छ।'

एमालेका दुवै समूहका नेताहरुबीच बिहीवार बिहान कुपण्डोलस्थित समिट होटलमा भएको कुराकानीअनुसार ओली र नेपालबीच संवाद गराउन दुवै पक्षका दोस्रो तहका नेताहरु सहमत भएका थिए। सोही बमोजिम एकता जुटाउने कार्यदलका संयोजक सुवास नेम्वाङसहित सदस्यहरु विष्णु पौडेल, शङ्कर पोखरेललगायत बालुवाटार पुगेर ओलीलाई फोन गर्न लगाएका थिए।

नेपाल पक्षका नेताहरु सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट कोटेश्वर पुगेर नेपाललाई फोन उठाएर कुरा गर्न दबाब दिएका थिए। बुद्धनगरमा नेपाल पक्षका स्थायी कमिटी सदस्यको अनौपचारिक छलफलपछि नेता नेपालसँगै कार्यदलमा रहेका नेताहरु पनि कोटेश्वर पुगेका थिए।

नेपालले सुरुमा नेताहरुलाई ओलीसँग आज कुराकानी नगर्ने अडान राखेपछि नेता पाण्डे र बिष्टको उनीसँग विवादै हुने अवस्था आएको थियो। त्यसपछि बल्ल नेपालले ओलीको फोन उठाएर कुरा गरेका थिए।

अध्यक्ष केपी ओलीले शुक्रबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन्, तर उक्त बैठकमा माधव नेपाल समूह भने सहभागी नहुने निर्णय गरिसकेको छ।

प्रकाशित मिति: : 2021-07-02 12:40:00

प्रतिकृया दिनुहोस्