न यताको, न उताको हुनु पनि एउटा अलग परिचय बनिदिँदो रहेछ। काँठ क्षेत्रले यस्तै परिचय बोकेको छ। यहाँ बस्नेहरूबारे भनिन्छ– काँठका मानिस न सहरिया हुन सक्छन्, न गाउँले हुन चाहन्छन्।
काँठ क्षेत्रको हावापानी र संस्कृतिमा हुर्केका कवि विनोद विक्रम केसीले 'काँठे' मनोविज्ञानबारे निर्मम भएर लेखेका छन्– काँठेसँग जन्मजात एउटा अहंकार हुन्छ। पाखाभित्तामै सही, राजधानीमा एउटा घर र अलिकति जमिन हुनुको अहंकार! यो खोक्रो अहंकारले आफू खोक्रो भएको काँठेलाई पत्तै हुँदैन।
यही खोक्रोपनलाई कलाकार हरिवंश आचार्यले आफ्नो चिरपरिचित हास्यव्यंग्य शैलीमा करिब पच्चीस वर्षअघि गीतमा ढालेका थिए।
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रा बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे बीस लाख...
चामल महँगो, पीठो सस्तो हुन्छ। यस गीतमा चामल भनेको जमिन र पीठो भनेको मोटरसाइकल हो।
'हङकङ घुम्छन् दुई जना दम्पती...', यसमा हङकङ मोजमस्ती र रमाइलोको संकेतका रूपमा आएको छ। हरिवंश आफैंले लेखेर गाएको यो गीतको लय पनि उनैले बनाएका हुन्।