सर्लाहीमा जेसिबीको बकेटले हिर्काएर वडाध्यक्षको हत्या

सर्लाहीको ईश्वरपुर नगरपालिकामा एक वडा अध्यक्षको हत्या भएको छ।

गएराति ईश्वरपुर नगरपालिका वडा नं. ३ भक्तिपुरका वडा अध्यक्ष सूर्यकुमार श्रेष्ठलाई जेसिबी चालकले जेसिबीको बकेटले हिर्काएर हत्या गरेको प्रहरीले जनाएको छ।

शुक्रबार राति वडाध्यक्ष श्रेष्ठ ईश्वरपुर नगरपालिका ३ भक्तिपुर भन्ने स्थानमा पोखरी सौन्दर्यीकरणको काम हेर्न भनेर गएका थिए। पोखरी सौन्दर्यीकरणको कार्य नगरपालिकाकै बजेटबाट भइरहेको थियो।

सोही पोखरीको सौन्दर्यीकरणको निरीक्षणका लागि वडाध्यक्ष श्रेष्ठ ठेक्केदार प्रेमराज दाहालसँगै पुगेका थिए। राति अबेरसम्म वडाध्यक्ष श्रेष्ठ, जेसिबीका ठेकेदार प्रेमराज दाहाल र जेसिबी चालक रविन भन्ने हर्क बहादुर तामाङ नजिकैको होटलमा सँगै खाजा खाएकाा थिए।

खाजा खाएपछि उनीहरुबिच समान्य विवाद भएको थियो। विवादकै क्रममा पोखरी नजिक पुगेपछि चालक तामाङले जेसिबी चलाएर वडाध्यक्ष श्रेष्ठलाई जेसिबको बकेटले प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

प्रहरीले घटनामा संलग्न भएको आरोपमा जेसिबीका ठेकेदार दाहाल र जेसिबीका चालक तामाङलाई नियन्त्रणमा लिएको छ। दाहाललाई घटना लगत्तै नियन्त्रणमा लिइएको र फरार रहेका जेसिबी चालक तामाङलाई आज बिहान लालबन्दीबाट पक्राउ गरिएको प्रहरीले बताए।

दुवै जनालाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखिएको छ। मृतक वडाध्यक्ष श्रेष्ठको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-06-26 12:24:00

प्रतिकृया दिनुहोस्