बारुद बनेर पड्किएको काठमाडौंको कोठा

शिलापत्र

काठमाडौँ

विमल पाेखरेल

पत्रकार रूपा सुनारले जातका कारण भाडामा नदिइएको एउटा कोठाको सहारा लिएर सिङ्गो समाज हल्लाइदिएकी छिन् । समाज यसरी हल्लिनु जातीय विभेदका जराहरू कमजोर हुँदै गएको प्रमाण पनि हो । समाजमा हजारौँ वर्ष पुराना जातीय विभेदका जराहरू धेरै बलिया थिए । अब ती क्रमशः मक्किँदै, कुहिँदै गएका छन् । काठमाडौंको एउटा कोठा जसरी बारुद बनेर पड्कियो, अब धेरै कोठाहरू यसरी नै पड्किँदै जानेछन् ।

कतिपयले यस घटनामा रूपा सुनारलाई आफ्नो जात देखाई भनेका छन् । निश्चित रूपमा उनले आफ्नो जात देखाएकी हुन् । उनले न्यायको जात, समानताको जात, मान्छे हुन पाउनुपर्ने संघर्षको जात देखाएकी हुन् । उनले आफ्नो जात देखाएकै कारणले छुवाछुत र विभेदमा रमाइरहेको समाज नराम्रोसँग हल्लिएको हो । दलित जातिले अहिले जसरी शक्ति प्राप्त गरेको छ, त्यो धेरै महत्त्वपूर्ण छ र प्राप्त गरेको शक्तिलाई मुक्तिका लागि सदुपयोग गरिनुपर्दछ । 

दलित संघर्षको ऊर्जा 

जातीय विभेदका जराहरू जति धेरै हल्लिँदै जान्छन्, उखेल्न उति सजिलो हुन्छ । समाजमा बढ्दै गएको जातीय भेदभाव र छुवाछुतविरोधी चेतनाका कारण रूपा सुनारको सानो आवाजले पनि विस्फोटक रूप लिएको हो । अब छुवाछुतका घटनाहरू सहेर दलित समुदाय बस्दैन र बस्नु हुँदैन भन्ने गतिलो उदाहरण पनि हो । रूपा सुनारले लाखौँ दलितलाई ऊर्जा दिएकी छिन् । 

दलित आन्दोलनको सन्दर्भमा ठूलठूला सडक संघर्ष गर्दा पनि सुनेको नसुनेझैँ गर्ने समाज काठमाडौंको एउटा कोठा प्रकरणबाट हल्लिएको छ । छुवाछुतको मूल जरो सडकमा होइन, कथित् उच्च जातका मान्छेको घरमा, कोठाकोठामा र दिमागमा छ । कोठा प्रकरणबाट के कुराको पुष्टि भएको छ भने जातीय विभेद उच्च जातीय अहङ्कार बोकेका प्रत्येक घरघरमा जकडिएको भए पनि अब त्यसका जरा कुहिन थालेका छन् । मान्छेहरू सार्वजनिक रूपमा छुवाछुतलाई समर्थन गर्नै नसक्ने गरी थला परेका छन् । छुवाछुतको भावना भएका र मान्ने व्यक्तिहरूलाई सामाजिक व्यवहारमा लुकेर हिँड्नुपरेको छ ।


प्रकाशित मिति: : 2021-06-24 17:49:00

प्रतिकृया दिनुहोस्