कोरोनाको सम्भावित तेस्रो लहरबाट बच्ने तयारी

कोरोना महामारीको तेस्रो र चौथो लहरले बालबालिका धेरै प्रभावित हुने आँकलन सरकारले गरेको छ।

शुक्रबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सबै स्वास्थ्य संस्थालाई परिपत्र गर्दै तेस्रो र चौथो लहरबाट बालबालिका प्रभावित हुने भन्दै स्वास्थ्य संस्थामा तयार रहेका आइसोलेसनमा रहेका शय्याको २० प्रतिशत शैय्या बालबालिकाका लागि छुट्टाउन र अन्य तयारी गर्न मन्त्रालयले निर्देशन दिएको छ।

जिल्लामा रहेको एक मात्र अस्पताल धौलागिरि अस्पतालमा तेस्रो लहरसँग जुध्न पूर्वाधारको अभाव छ। अस्पतालमा बालबालिकाका लागि आवश्यक सघन उपचार कक्ष (एनआइसियु र पिआइसियु) छैन्।

'बालबालिकाका लागि भनेर छुट्टै व्यवस्था केही पनि छैन्' अस्पतालका प्रमुख चिकित्सक शैलेन्द्र बिक पोखरेलले भने, 'अहिले पनि शङ्कास्पद बिरामीको जाँच र उपचार वयस्कहरुको जस्तै गरेर गरिरहेका छौँ, फर्काएका छैनौँ।’ बच्चाको लागि आवश्यक पूर्वाधारको तयारीमा लागेको उनले बताए।

एक महिनाभन्दा कम उमेरका बालबालिकाका लागि अन्य समयमा समेत आवश्यक पर्ने एनआइसियु स्थापनाका लागि पटक–पटक आग्रह गरिएको भएपनि अहिलेसम्म सङ्घीय र प्रदेश सरकारबाट सम्बोधन हुन नसकेको गुनासो उनले गरे। '२० प्रतिशत शैय्याको विषयमा हामी छलफलमै छौँ, तयारी केही भैसकेको छैन्', उनले भन्नुभयो 'पूर्वतयारीमा लाग्ने निर्देशन छ सोही अनुसार काम हुन्छन्।'

अस्पतालमा दाताहरुले बालबालिका लागि आवश्यक सघन उपचार कक्षको स्थापनामा चासो देखाएको उनले बताए। दाताको सहयोग लिएर व्यवस्थापनमा लाग्ने अस्पतालको तयारी छ।

स्वास्थ्य कार्यालय बागलुङले भने सबै बर्थिङ सेन्टर, स्वास्थ्य संस्था र अस्थायी कोभिड अस्पताललाई दोस्रो र तेस्रो लहरका लागि तयार राख्ने प्रयास थालेको छ।

'बच्चा प्रभावित हुने भाइरसले बर्थिङ सेन्टरमा सबैभन्दा ठूलो प्रभाव राख्छ', कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले भने, 'हामीले छलफल चलाउँछौँ र निर्देशनअनुसार तयारी हुन्छ।' घिमिरेका अनुसार बालबालिकाको अक्सिजनको मात्र नाप्ने यन्त्र, मास्क, र अस्पतालहरुमा अनुगमन गर्ने विधिको अभाव छ।

वयस्कहरुका लागि प्रयोग हुने स्रोत साधनले बालबालिकाका लागि नहुने कार्यालयको आँकलन छ। बागलुङमा निसीखोला, बरेङ, ताराखोला र काठेखोला गाउँपालिकामा अस्थायी कोभिड अस्पताल बनाइएको छ। ती अस्पतालहरुमा पनि बालबालिकाका लागि शैय्या भने छुट्टाएका छैनन्।

निशेधाज्ञाले आश्रममा अभाव

सडक मानवहरुको उद्धार र स्याहार गर्दै आएको मानव सेवा आश्रम बागलुङ निशेधाज्ञाका कारण समस्यामा परेको छ। दाताहरुको सहयोगका आधारमा सञ्चालित आश्रममा निशेधाज्ञामा सहयोग आउन छोडेको हो। सहयोग गर्ने दाताहरु कोरोना सङ्क्रमणको त्रासका कारण आश्रमको सम्पर्कमा आउन छोडेपछि सहयोग घटेको हो।

दाताहरु आउन छोडेपछि आश्रम सञ्चालनमा हम्मेहम्मे परेको छ। पचपन्न महिला, बालबालिका तथा वयोवृद्धाहरुलाई आश्रय दिइरहेको आश्रमले दैनिक खर्च चलाउन समेत कठिन भएको आश्रमकी सञ्चालिका सुमिरा लामाले बताए। आश्रममा दाल, चामल, नुन, तेललगायतका दैनिक उपभोग्य वस्तु सकिएका छन्।

आश्रमको दैनिक सञ्चालन खर्च गर्न नगदसमेत छैन। सञ्चित पुँजी नरहेको र सहयोग रोकिँदा आश्रम सञ्चालनमा समस्या भएको लामाले बताए। जन्मदिन, स्मृति दिवस र अन्य सामाजिक सङ्घसंस्थाहरुको स्थापना दिवसका कार्यक्रम हुँदा आश्रमलाई सहयोग आउने गरेको थियो।

निशेधाज्ञाका कारण कुनै पनि कार्यक्रमहरु सञ्चालन भएका छैनन्। वैदेशिक रोजगारमा रहेकाहरुले गर्ने सहयोग समेत रोकिएको छ। लामो समय सहयोग रोकिँदा भएको सञ्चित रकम समेत सकिएको आश्रमले जनाएको छ।

'सहयोगी मनका धनी व्यक्तिहरूको कारण मानव सेवा आश्रम सञ्चालन भइरहेको थियो' लामा भन्छन्, 'अहिले कोही आउनु भएको छैन्, यहाँका लक्ष्मीनारायणहरुलाई खाना खाजा खुवाउन समेत समस्या भैरहेको छ।'

स्थानीय व्यापारीबाट खाद्यान्न उधारो लिएर काम चलाएको लामाले बताए। आश्रममा रहेका ५३ जनालाई कोरोनाविरुद्धको खोप लगाइएकाले सङ्क्रमणबाट हुने क्षतिको त्रास भने कम छ।रासस

प्रकाशित मिति: : 2021-06-05 14:05:00

प्रतिकृया दिनुहोस्