आमाको ‘क’ र विपश्यनाको ‘ज्ञ’

शिलापत्र

शितल दाहाल

मेरी आमालाई राम्ररी पढ्न लेख्न आउँदैनथ्याे। कदेखि ज्ञसम्म भन्न सक्नुहुन्थ्यो। लेख्नचाहिँ ‘क’ सम्म पनि आउँदैनथ्याे। गाउँमा प्रौढ शिक्षा सुरु भयो। आमाले पनि कक्षा सुरु गर्नुभयो। त्यसपछि अक्षरहरूसँग आमाको चिनजान मात्र भएन, गहिरो मित्रतासमेत कायम भयो। अहिले आमाको फेसबुक अकाउन्ट छ। चिनजान र आफन्तसँग म्यासेन्जरमार्फत कुरा गर्नुहुन्छ। कबाट कृतघ्न शब्द बन्छ र कबाटै कृतज्ञ पनि।

‘क’ बाट सुरु हुने अक्षरहरूको यात्रा अनन्त छ भन्ने अनुमान आमाले गरिसक्नुभयो। नवौँ पटक विपश्यना ध्यानको अनुभव अक्षरमा उतार्दै गर्दा म मेरो आमाले सिकेको ‘क’ सम्झिरहेछु। ‘क’ चिन्नु भनेको फगत 'क' अक्षरलाई जान्नु होइन रहेछ, अक्षरको आयतन, आयाम र परिधि नाप्नु मात्र पनि ‘क’बारे ज्ञात हुनु होइन रहेछ। शब्दहरूको अन्त्यहीन शृंखला यही ‘क’ बाट सुरु हुने रहेछ। 

पहिलो पटक विपश्यना ध्यानको अभ्यास गर्न काठमाडौं, शिवपुरीको फेदमा रहेको ‘धर्म श्रृङ्ग’ विपश्यना ध्यान केन्द्रमा पुग्दा मलाई लागेको थिएन, मेरो आमाले सिकेको ‘क’जस्तै यो ध्यान पनि विशाल र बृहत्तर छ भनेर। ‘क’सँगको साक्षात्कारपछि आमाको जीवनमा शब्दहरू जसरी निर्वाध रूपमा आउन थाले, म पनि कम्तीमा वर्षको एकपटक दशदिवसीय विपश्यना ध्यानका लागि समय निकाल्न थालेँ। हिसाब गर्‍यो भने पनि जीवनका एक सयभन्दा बढी दिन विभिन्न स्थानमा रहेका विपश्यना ध्यान केन्द्रमा बित्न पुगेछ। 

 

प्रकाशित मिति: : 2021-05-29 23:34:00

प्रतिकृया दिनुहोस्