अक्सिजन प्लान्ट जोड्न कनकाई नगरपालिकाका मेयरले दिए तलबबाट १० लाख रुपैयाँ

झापाको कनकाई नगरपालिका मेयर राजेन्द्रकुमार पोखरेलले आफ्नो तलवबाट अक्सिजन प्लान्ट स्थापना गर्नका लागि नगद १० लाख रुपैंया  सहयोग गरेका छन्। शनिवार १४ औ गणतन्त्र दिवसको अवसर पारेर नगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर पोखरेलले नगद १० लाख रुपैंया सहयोग गरेका हुन्। नगरपालिकाले दुई करोड अनुमानित लागतमा  ५० वटा सिलेण्डर भर्न सक्ने क्षमता भएको अक्सिजन प्लान्ट निर्माण गर्न लागेको र आफुले पनि ३ बर्षको पारिश्रमिक वापतको तलबबाट सहयोग गरेको मेयर पोखरेलले बताए।

 उनले  उपप्रमुख मञ्जु दाहाल प्रसाईलाई १० लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्।स्थानीय स्तर तथा देश विदेशमा रहेकाबाट एक करोड संकलन हुने नगर प्रमुख पोखरेलले लक्ष्य राखेका छन्। त्यस्तै नगरबाट ६० लाखवढी रकम निकाशा गरिने र अन्य सहयोगीदाताहरुबाट संकलन गरी अक्सिजन प्लान्ट ३ महिनाभित्र सञ्चालन गरिने उनले बताएका छन्।

‘कोरोना महामारी अझै प्रकोपको रुपमा फैलिने विश्लेशण वैज्ञानिक तथा चिकित्सकहरुको अनुमान छ’ नगर प्रमुख पोखरेलले भने ‘यस महामारी तथा अन्य विपद्का लागि समेत अक्सिजन प्लान्ट राख्नु अनिवार्य भएको छ।’नगरमा रहेको प्रथामिक स्वास्थ्य केन्द्र सुरुङ्गालाई प्रस्तावित कनकाई नगर अस्पताल निर्माण गरिने नगर प्रमुख पोखरेलले बताए। हाल नगर अस्पतालमा ५ सयवढि विरामी परिक्षणका लागि आउने गरेको उनले बताए । ‘अक्सिजनको अभावले धेरैले ज्यान गुमाइरहेका छन्’ उनले भने ‘कनकाई नगरमा संघीय तथा प्रदेश सरकार साथै विभिन्न सहगोगीहरुकोे सहयोगमा अक्सिजनको अभाव हुन दिएका छैनौ।’ उनले आवश्यकताको आधारमा घरघरमा अक्सिजन पुर्याइरहेको समेत बताए। नगरमा हालसम्म १३ जनाले कोरोनाबाट ज्यान गुमाएको नगर उपप्रमुख प्रसाईले जानकारी दिइन्। 

प्रकाशित मिति: : 2021-05-29 16:46:00

प्रतिकृया दिनुहोस्