मेरा प्रिय मावली भाइ प्रमोद ढुंगेलले (आफ्ना माता-पिता) मेरा प्यारा मामा-माइजूहरूको स्मरणात्मक लेख प्रकाशन गर्ने अठोट गरेकोमा अपार हर्षको अनुभव गर्दै यस लेखमा सात समुद्र पारिबाट मावलीका माया र स्नेहको अभावमा उब्जिएको हाम्रो अपूरो र अविस्मरणीय तड्पन पनि समावेश गर्न चाहेँ।
मामाहरू तीन भाइ र आमाहरू छ बहिनीहरूमध्ये हाम्री आमा हजुरबा-हजुरआमाकी माइली छोरी र मामाहरूकी माल्दिदी रे!
‘म सात वर्षकी छँदा मेरो विवाह भएको, त्यो पनि दिदीका जेठाजुसित’ भन्नुहुन्थ्यो आमाले।
पिताजीको यो दोस्रो विवाह रे!
माइला बडा पिताले आमाकै फुपूकी छोरी र कान्छा पिताले ठूलीआमा विवाह गर्नुभा रे! पछि पिताले पूर्वविवाहित पत्नी त्यागी भाइकी साली (हाम्री आमालाई) विवाह गर्नुभा रे! करिवन् अठार-बीस वर्षको अन्तर हुँदो हो माता-पिताको।
विवाहपछि मैतालु नभित्र्याई पिताजीहरू तीनै भाइ बर्मा हानिनुभएको रे!
बाटैमा अर्की आमा लिएर बर्मा आइपुग्नुभएछ पिताजी।
यहाँ बर्मामा खाने-बस्ने चाँजोपाँजो मिलिसकेपछि माइला बडा पिता-बडीमाहरू एकफेर मुलुक फिर्नुभएछ। उहाँहरू पुनः बर्मा आउँदा आमालाई पनि लिएर आउनुभाको रहेछ।
‘त्यसबेला म जम्मा एघार वर्षकी थिएँ, बाख्रा हेर्न गएकी मलाई बोलाएर ल्याए अनि उनीहरुका साथलगाई मलाई बर्मा पठाइदिए’, आमा भन्नुहुन्थ्यो।
कति हृदय विदारक छ कथा।
सात समुद्र पारि, नौलो गाउँ, नौलो ठाउँ जम्मै अनविज्ञ र अपरिचित परिप्रेक्ष्य, एउटी किशोरी त्यो पनि सौतामाथि, यो थियो आमाको कहालीलाग्दो किशोरावस्था। ‘छोरीले फलामका चिउरा चपाउन सक्नुपर्छ’, सायदै यो उखान हाम्रै आमाका लागि हो कि!
लामो समयको अन्तरालमा धेरै उकाली ओरालीहरू पार गर्दै आमा-पिताजीहरु केही भौतिक सम्पत्तिका साथ छ भाइ छोरा र पाँच बहिनी छोरीहरूका धनी हुनुभएछ।
अब हामी ठूला हुँदै गयौँ। कतिकति पटक आमा एक्लै टोलिएर आँसु पुछेको पनि हामी देख्ने गर्थ्यौँ र सोध्थ्यौँ ‘आमा किन यस्तो? आमा भन्नुहुन्थ्यो’, आज बा-आमा र माइतीको यादले धेरै सतायो बा।’ आमाका कुरा सुन्दा हाम्रा पनि आँखा रसाउँथे।
आमा कतिकति बेला आफू जन्मे र खेली बढेको ठाउँ, आफ्नो बाल्यकालका कथाहरु पनि सम्झना आएसम्म सुनाउनुहुन्थ्यो। हामी मख्खपरी सुन्थ्यौँ। आमा भन्नुहुन्थ्यो- म त लेख्न-पढ्न पनि केही जान्दिनँ, तिमीहरु त जान्दछौ, एउटा चिठी लेखिदेओन मलाई म मेरा माइतीलाई पठाउँछु।
यस्तै यस्तै कुरा चल्दा मैले एकदिन आमासँग सोधेँ- मावलको ठेगाना जान्नुहुन्छ आमा? हाम्रो मावल कहाँ हो?
‘मुलुकमा…’ आमाको उत्तर। माता-पिता र त्यस्तै अरु पनि थुप्रै बूढापाकाहरु ‘हाम्रो मुलुक यस्तो उस्तो, मुलुकमा यस्तो हुन्थ्यो, उस्तो हुन्थ्यो, यो-त्यो’ इत्यादि कुरा गर्ने गरेका हामी सुन्ने गर्थ्यौं। र यतिबेलासम्म, हाम्रा माता-पिताहरु आफ्नो देश छाडेर पराय देश छिरेका रहेछन् भन्ने कुरा, हामीले पनि बुझ्न थालेका थियौं।
त्यसर्थ आमाले भनेको मुलुकको अर्थ लगाउन पनि मलाई गाह्रो परेन।
अनि मैले पुनः सोधेँ, ‘मुलुक त मुलुक कुन ठाउँ आमा, गाउँ, नगर, जिल्ला (यहाँको भाषामा) यस्तै त होला नि त्यहाँ पनि?
‘पहाड…’ आमाको उत्तर हुन्थ्यो। त्यो दिन त्यत्ति नै जान्नुभयो। कत्ति सोझी हुनुन्थ्यो हाम्री आमा, चिठी पठाइदेओ भन्नुहुन्थ्यो।
एकदिन माता-पिता दुवै भएकाे ठाउँमा, मुलुकमा हाम्रो घर कुन ठाउँ र मावल कुन ठाउँ भनेर मैले सोधेपछि पिताले भन्नुभयो- बाँझागरा घर र मावल मुलपानी हो।
अनि कुन नगर, कुन जिल्ला पर्यो होला? भन्दा पिताजीबाट पनि यकिन हुन नसकेपछि म निराश हुनुपर्यो।
आमाको चाहना पूरा गर्ने र आफ्नो पनि मावली पत्ता लगाउने जिज्ञासा अब भने खुरुन्धारमा परिणत भइसकेको थियो।
‘इच्छा सिद्धीका लागि खुरुन्धार अत्यावश्यक छ’ भन्ने मनोविद्हरूको भनाइलाई मेरो जीवनको यस घटनाले पूर्ण सार्थक तुल्याइदिएको छ।
मावल पत्ता लगाउने जिज्ञासा जागेको केही दिनपछि नै मजस्तै नेपाल, नेपाली र नेपाली भाषाप्रति अगाध प्रेम गर्ने एकजना अग्रजले ‘लाऊ यो किताब हेर’ भन्दै नेपालको भूगोल नामक एउटा थोत्रो आधाउधी फाटेको पुस्तक मलाई थमाइदिए। सरसर्ती हेर्दै गएँ र मैले खोजेको त्यहाँ पाएँ।
त्यो किताबमा नेपालका हरेक गाउँठाउँ, सदरमुकाम र तिनको जिल्ला पनि खोलिदिएको तथा ती ठाउँमा पत्राचार गर्दा भारतका कुनकुन पोष्ट अफिस लेख्नुपर्नेसम्म पनि राखिदिएको पढ्न पाउँदा त ‘कानाले आँखा भेटेको’ अनुभव गरेँ मैले। किनभने त्यहाँ ‘मुलपानी’ पनि मैले भेटाएँ। खुसीको सीमा रहेन। दगुर्दै आमा भाको ठाउँमा पुगेँ म र गम्ल्याङ्ग अंगालो हाल्दै भनेँ, ‘आमा, सपना पूरा भो।’
‘ह’न के भन्छ यो?’
‘हो आमा, अब तपाईंको चिठी मावल पुग्छ, मैले सबै ठेगाना पत्ता लगाएँ।’
त्यो क्षणको आमाको अनुहार कसरी वर्णन गरुँ म खै!
‘हजुरबा, मामाहरूको नाउँ त थाहा होला नि आमा?’
‘हजुरबा र ठूलो मामा त स्वर्गे भइसके रे! माइला मामाको नाउँ परमानन्द हो।’
‘ल भैगो अब भरे चिठी लेख्नुपर्छ है!’
फक्रेको गुलावजस्तो आमाको अनुहार हेरिरहेँ म।
त्यही साँझ पिताजीसहित सबै परिवार बसी सबैको सल्लाहमा चिठी लेखिसकेर पढेर सुनाएँ मैले। चिठीमा यहाँको पूर्ण ठेगाना पनि राखिदिएको थिएँ। सबैका अनुहारमा खुसी छाएको थियो।
भोलिपल्ट ‘श्री परमानन्द ढुंगेल’का नाउँमा अघि पढेको किताबकै अनुसारको ठेगाना लेखी पत्र रजिस्ट्रार गरिदिएँ मैले।
हामी सानै छँदा अरुहरु सबै त मावल भन्दै कत्ति रमाउँदै दगुर्थे। ‘हामी पनि मावल जाउँ न आमा…’, भन्दा आमा भन्नुहुन्थ्यो, ‘तिमीहरुको मावल धेरैधेरै टाढा छ बाबु हो, अब तिमीहरु ठूला भएर थुप्रै धन कमाउनू अनि जानुपर्छ है!’
अरु साथीसंगी मावल गएको देख्दा हामीलाई कताकता दुख्ने गर्थ्यो।
चिठी रजिस्ट्रार गरेको पनि महिनादिन हुनलाग्यो, पुगे-नपुगेको अत्तोपत्तै थिएन। मैले भने चिठी पुगोस् भन्दै आफूले जानेसुने जति सबै देवी-देवताहरू भाकिसकेको थिएँ।
निष्पट्ट कालो बादल फाटेर झलमल्ल जुन हाँस्यो, घरमा नेपालबाट चिठी आयो। प्रेषक ठेगाना- पं. पशुपतिनाथ ढुंगेल, मुलपानी आठराई, जिल्ला तेह्रथुम, कोशी अञ्चल, नेपाल।
साँझ सबै परिवार जुटेपछि चिठी पढियो, सबैका अङ्गप्रत्यङ्ग नाचेका थिए। विशेषतः आमाको अनुहारबाट चाँदनी चुहिरहेको थियो।
दशकौँ बिछोडिएका दिदी-भिनाजूहरूको पत्र अचानक पढ्न पाउँदा हर्षको सीमा नरहेको, हजुरआमासहित मावली परिवार सबै कुशल मंगल रहेको, प्रापकको नाउँ फरक र अपरिपक्व ठेगानाले गर्दा पत्र पाउन अबेर भएको तर बर्मामा आफन्त हुने ढुङ्गेल वंशमा हामी मात्र परेकाले अबेर भएनि पत्र हात लाग्यो भनी लेख्नुभाथ्यो मामाले।
साथै दुवै मामाहरूका नाउँ पं. श्री पशुपतिनाथ ढुङ्गेल, पं. श्री खगेन्द्रमणी ढुङ्गेल र त्यहाँको परिपक्व ठेगाना पनि पत्रमा राखिदिनुभएको हुँदा अब भने मावलीको पक्कापक्की टुङ्गो लाग्यो। दुई-तीन फेर पत्र आदानप्रदान पनि भयो। आज जस्तो सामाजिक सञ्जाल र इन्टरनेटको युग हुँदो हो त कति राम्रो सम्पर्क हुँदो हो , तर के गर्नु उबेला पत्राचारको युग न पर्यो।
यसरी नै समय बित्दै थियो, मावली सम्पर्कको वर्षौंपछि माइली दिदी-भिनाजू नेपाल, काठमाण्डू सरुवा हुनुभयो। यतिबेला पिताजी स्वर्गे भैसक्नुभाथ्यो। दिदीले मसितबाट मावलको ठेगाना लिएर जानुभाथ्यो। दिदीको बहादुरीलाई सलाम गर्नैपर्छ। सडक सुविधा नभएको त्योबेला , पहाडको विकट बाटोमा भरियाको डोको चढेर पनि, तेह्रथुम, मुलपानी आठराईमा ममतामयी आमा जन्मेको घर, आफ्नो मावल टेकेरै छाड्नुभो।
यो हेरी, मावलको प्यासमा कति प्यासी थियौँ हामी यहाँ भनिरहनु नपर्ला।
यसरी बादल पारिको देशबाट आएकी नातिनी भेटी हजुरआमाको हृदय गदगद भई हर्षाश्रु बहे। अचानक नसाेचेकी भाञ्जीको आगमनमा मामाहरूको छाती ढकमक्क फक्रियो। उमङ्ग र आनन्दको माहाेल छायो। हजुरआमाकी प्याउली नातिनी, मामा-माइजूहरुकी प्यारी भान्जी, सानिमा-सानाबाउहरुकी मायालु छोरी हुँदै केहीदिन बिताई दिदी काठमाण्डू फिर्नुभयो।
त्यसबेलासम्म कान्छो मामाको परिवार मात्र पहाडमा र माइलो मामाको परिवार तराई झरिसक्नुभाथ्यो कि! यो मलाई पक्का यकिन भएन।
केही दिनपछि दिदी बर्मा आउनुभयो र त्यहाँ मावली भेटेको सबै वृत्तान्त सुनाउनुभयो। अनि हामीले आमालाई पनि मावल पुर्याउन सल्लाह मिलायौँ।
केही समयपश्चात् सबै प्रबन्ध मिलिसकेपछि दिदीको साथ लगाई आमालाई नेपाल पठायौँ। त्यसबेला आमाले साठी वसन्त पारगरिसक्नुभाथ्यो।
आमा नेपाल पुग्नुभयो। चालीस बढी वर्षपछि आफू जन्मेको पहाड घरको आँगन टेक्नुभयो। आफू खेलिबढी हुर्केको धुलो माटोको सुगन्धमा आफ्नो बालापनको अनुभव गर्नुभयो। दशकौँ बिछोडिएकी छोरीसित आमाको भेटभयो। तर त्यसबेला हजुरआमा दृष्टिविहीन भइसक्नुभएकाले छोरी देख्न पाउनुभएन, आमाले मात्र हजुरआमा देख्नपाउनुभयो।
दिदीसित भाइ-बहिनीहरुको भेट भयो। सबैका आँखाबाट हर्षाश्रु झरे, रुवावासी चल्यो। दिन-रात कसरी बिते पत्तै नपाई वर्षदिन बित्यो। तीज आयो, दशैँ आयो, तिहार आयो। चालीस वर्षभन्दा बढी बिछोडिएको माइतमा रमाउने आमाको धोको बल्ल पूरा भयो। हजुरआमा र मामाहरुको साथमा नेपाल तथा भारतका तीर्थधामहरु दर्शन गरिसकेपछि नचाहँदानचाहँदै, धोको पूरा नहुँदै बाध्यतावश आफ्नी आमाको प्यारो काख र मामाहरुको न्यानो माया छोडी आमा बर्मा फिर्नुभयो।
यतिबेला त कान्छो मामाको परिवार पहाडमै र माइलो मामाको परिवार तराईमा हुनुहुन्थ्यो होला।
आमाले दर्शन-भेट गरी घर फर्केको वर्ष दिनपछि हजुरआमाको देहान्त भयो। आमासित भेट गराइदिने माइली छोरीको गुणगान गाउँदै मातृवियोगमा आमा धेरै रुनुभयो।
आज आमाले हामीलाई छोडेर स्वर्गारोहण गरेको पनि अट्ठार वर्ष भइसकेछ।
आमाका हामी जम्माजम्मी छ भाइ छोरा र पाँच बहिनी छोरी हौँ। नाति-नातिना २२ जना पनाति-नी, खनाति-नी गर्दा कुल सन्तान करिवन् सयसम्म होलान्। माइली दिदी-भिनाजू र एकभाइ छोराको परिवार मात्र नेपालमा छन्। माइली दिदीका अर्का भाइ छोराको परिवार र अरु हामी सबै बर्मामै छौँ।
हामी छोरा-छोरीमध्येबाट तीन भाइ र चार बहिनीहरूले मावल टेकिसकेका छन्। आज हामी दुई भाइ र चार बहिनी जीवित छौँ। जीवितमध्ये मलाई मात्र मावल टेक्न जुरेको छैन। योजना पूरा नहुँदै कान्छो मामा अस्ताउनुभयो। तरै पनि योजना जारी नै छ।
मामाहरूको प्यारो भाञ्जो।
लाबरबारी मिचीना,
कछिन राज्य, म्यान्मार (बर्मा)