करिब दुई महिनाअघि जनमत पार्टीका अध्यक्ष सिके राउतले एउटा निकै ‘गम्भिर’ खुलासा गरे। एउटा टेलिभिजन अन्तर्वार्तामा राउतले भनेका थिए- प्रधानमन्त्री (पुष्पकमल दाहाल प्रचण्ड) र गृहमन्त्री (नारायणकाजी श्रेष्ठ)ले बालेनलाई पक्राउ गर्न खोजेका थिए…।
कान्तिपुर टेलिभीजनको ‘फायर साइड’मा अन्तर्वार्ताका क्रममा राउतले एउटा गोप्य बैठकमा भएको कुरा भनेका थिए। प्रधानमन्त्री आफैले त्यो ‘गोप्य’ बैठक डाकेका थिए। त्यसमा सत्तापक्षीय दलहरूका नेताहरू थिए। त्यो बेला नेपाली काँग्रेस र राउतको जनमत पार्टी पनि सरकारमै थियो।
बैठकमा प्रधानसेनापति, नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुखहरू अनि गृहमन्त्री श्रेष्ठ पनि थिए। प्रधानमन्त्रीको त्यो प्रस्तावबारे राउतको राय मागे। राउतले हुँदैन भने। अनि देउवाले भनिदिए ‘लोकतन्त्र हो, बोल्न पाइन्छ। बोल्दैमा पक्राउ गर्ने भन्ने हुँदैन। बोलेर के भो त सिंहदरबारमा आगो लगाइदिए त…?’
गत भदौको दोस्रो सातातिर थियो। काठमाडौं महानगरका प्रमुख बालेन साहकी सुत्केरी श्रीमतिलाई महानगरको गाडीले अस्पताल हिँडाएको थियो। भदौ १६ गते साँझतिर त्यो गाडीलाई कोटेश्वरमा ट्राफिक प्रहरीले केरकार गरे। आधाराततिर बालेनले एउटा स्टाटर लेखे ‘…आजलाई केही भएन। भोलिदेखि हाम्रो महानगरका कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु…। याद राख चोर सरकार…!
त्यसपछि नै प्रचण्डले त्यो ‘गोप्य’ बैठक बोलाएका थिए। त्यहाँ उनले बालेनलाई ‘ठोक्नैपर्छ…’ भन्ने भावमा भनेका थिए ‘हामी चोर नै हौ त…? पक्राउ त गर्नैपर्छ…।’ राउत देउवाहरूले मानेनन्। त्यो कुरा त्यहीँ नै सिमित रह्यो।
राउतको यो खुलासापछि प्रधानमन्त्री प्रचण्ड आफैले त्यही कार्यक्रमार्फत प्रष्टीकरण दिए।
‘मैले पहिला पनि बालेनजीलाई लोकतन्त्रको बगैचमा फुलेको सुन्दर फूल भनेको थिएँ। अहिले पनि त्यही नै भन्छु’ प्रधानमन्त्री प्रचण्डले भनेका थिए ‘सिंहदरबार जलाउँछु भनेर लेखेपछि यो त अराजकै भयो भनेर हामीले स्पष्टीकरण लिने कि भन्नेसम्म छलफल गरेका हौं। पक्राउ गर्ने भन्ने कुरै उठेन…।’
सिंहदरबारसँग भिडिरहेका एक्ला बालेन
राष्ट्रियसभा गृहमा काठमाडौं महानगरपालिका प्रमुखको अन्तिम चुनावी परिणाम घोषणा हुँदै गर्दा आफ्ना सहयोगी लिएर बालेन साह सिसडोल पुगेर त्यहाँका स्थानीयसँग केही वाचा गरिरहेका थिए।
काठमाडौं उपत्यकाका लागि सधैको पिरालो बनिरहेको ‘फोहोर’ व्यवस्थापन बालेनका लागि पनि प्रमुख चुनौती नै हो। जसलाई बेलाबेला अवरोध गर्ने सिसडोलले नै थेग्दै आएको छ।
बालेन र सिंहदरबारबीचको पहिलो वार पनि यही नै हो- फोहोर व्यवस्थापनका लागि संघीय सरकारले कुनै वास्ता नगरेपछि उनले सुरुवातदेखि नै सिंहदरबामाथि कडा अभिव्यक्ति दिँदै आएका छन्। त्यो चुनौती सिंहदरबारसँगको युद्धजस्तै बनेको छ। मेयर भएर आएदेखि अहिलेसम्मै बालेनले सिंहदरबारसँग लडिरहेको एउटा ‘फोहोर युद्ध’ पनि हो। उनले कैयौपटक सिंहदरबारको फोहोर उठाइदिएनन्। धेरैपटक नेताका घरका फोहोर नउठाउने धम्की दिए। केही दिनअघि उनले त उनले फोहोरका ट्रकहरू लगेर मन्त्रीका निवासअघि लाइन लगाइदिए।
‘सिंहदरबार’ जलाउने धम्कीदेखि नेताका घरमा फोहोर थुपारिदिनेसम्मका हर्कतहरू त्यसैका परिणाम थिए। अलिकति ‘अराजक’ जस्ता लाग्ने बालेनका यी हर्कतहरूमा भने उनलाई चाहने लाखौं युवाले सरकार अनि नेताहरूमाथिको ‘आक्रोश’ पोख्ने आफ्नै बिम्ब देख्न थाले।
योसँगै काठमाडौं ‘बनाउन’ कस्सिएका बालेनका हरेक पाइलाहरू राजनीतिक आक्रमणका शिकार बन्न थाले। त्यो भनेको मुख्यत: चुनावी परिणाम नै थियो।
२०७९ सालको बैशाख अन्तिमतिर भएको स्थानीय निर्वाचनमा ‘बालेन’ अनि ‘लौरो’ आम युवाका चुनावी बिम्बमात्रै थिएनन्, राजनीतिमा जागेका केही नयाँ आशा र तरंगहरू पनि थिए। पूर्वको धरानमा एक्लै माइक लगाएर चुनावी प्रचारमा जुटेका हर्क साम्पाङ अनि पश्चिमको धनगढीमा शालीन प्रचारमा व्यस्त गोपाल हमालसँगै काठमाडौंमा बालेनको उम्मेदवारी एकप्रकारको तरंग ल्याएको थियो।
नेपाली राजनीतिको एउटा बिरासत धानिरहेको सिंह परिवारबाट काठमाडौंको मेयर हुन मैदानमा उत्रिएका ५९ वर्षीया सिर्जना सिंह र दुई पटक काठमाडौंको मेयर भइसकेका ६३ वर्षका केशव स्थापित निकै पछि छोडेर बालेन काठमाडौंको मेयर बने। हेर्दाहेर्दै ३२ वर्षको युवा ‘र्यापर’ अनि इन्जिनियरिङको एउटा विद्यार्थी ‘केटो’ देशको राजधानी काठमाडौंको मेयर बनिदिएको थियो। त्यो पनि कैयौ पुराना राजनीतिक दलका गठबन्धनहरू अनि दिग्गज नेताहरूलाई माथ दिँदै।
दलहरूलाई ‘उभराएको’ सबैभन्दा ठूलो ‘ईगो’ भनेको त्यै ‘केटो’ मेयर थियो।
काठमाडौंका सुकुम्बासी बस्ती उठाउने निर्णय होस् या सडकपेटीका दुकानहरू हटाउँदा, वा यहाँका सार्वजनिक जमिन मिचेर बनाइएका घरटहरा भत्काउँदा नै किन नहोस्। अनि पुरिएका खोलानाला खोस्रिंदा पनि बालेन दलहरूको निशानामा परिरहे। तर पनि उनले सिंहदरबारसँग ‘वार’ गरिरहे।
सिंहदरबारमा यिनै दलहरूको हालिमुहाली छ। सारा कर्मचारी प्रशासनमा यिनीहरूकै भागबण्डा चल्छ। तर बालेनले एउटै ‘लौरा’को भरमा चुनाव जितेका हुन्। उनीसँग दलहरूको जस्तै झन्डा समाउने कुनै झुन्ड थिएन र अहिले पनि छैन। बरु उनलाई निष्काम चाहनेहरूको ठूलै भीड थियो। जो चुनावी अभियानदेखि मतगणनाका १३ दिनसम्म ‘बालेन…बालेन’ भन्दै राष्ट्रियसभा गृहअघि निरन्तर साथ दिइरहे। बालेनको बल भनेको त्यत्तिमात्रै हो।
दलीय दम्भको पछिल्लो परिणाम हो प्रमुख सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र बालेनबीचको टकराव।
‘स्वतन्त्र मेयर’ छेकिरहेका ‘दलीयतन्त्र’
नगरसभाको बैठक लाइभ गर्दा चर्काचर्की गर्ने अहिले एमालेबाटै जितेका वडाअध्यक्षहरू छन्। बालेन ‘स्वतन्त्र’ बनेर मेयर बनेका हुन्। उनको कुनै संगठन छैन र कार्यकर्ता पनि छैनन्।
अहिले ‘न्यूरोड’मा देखिएको तमासा पनि त्यसैको परिणाम हो।
केही दिनअघि चक्रपथको धुलो उठाएर बालेनले सडक विभागअघि थुपारिदिए। त्यसलाई सडक विभागले ‘अराजक’ भनिदियो। त्यसपछि बालेनले खुला बनाउन लागेको न्यूरोडको सडकपेटीहरू नबिगार्न भन्दै सडक विभागले बालेनलाई चेतावनीमात्रै दिएन बरु उनले फोडेका सडकपेटीहरूमाथि सडक विभाग आफैले पिच गरिदियो। त्यही विषयमा सोमबार न्यूरोड झन्डै तनावग्रस्त भयो।
यसअघि नै बालेनले न्यूरोडका सडक किनाराका पार्किङहरू हटाएका थिए। त्यसपछि न्यूरोड अलि खुला भयो। पैदल यात्रुलाई सहजिलो बनाइदिन उनले त्यहाँका सडकपेटीहरू फराकिलो पार्न खोजेका थिए तर विभागले रोकिदियो। विभागभन्दा अघि काठमाडौं वडा नं २२का वडाअध्यक्ष चिनीकाजी महर्जनले नै स्थानीयलाई सडकमा ओरालेर बिरोध गरेका थिए। उनै वडाअध्यक्षले त्यसपछि नगरसभाको बैठकमा पनि बालेनसँग चर्काचर्की गरे। यसअघि बालेनलाई ‘झपार्ने’ वडाअध्यक्षका रुपमा उनी भाइरल नै हुन्।
यी घटनाक्रमबीच बालेनले पनि निरन्तर ‘गिरीबन्धु टी स्टेट’का बारेमा निरन्तर खबरदारी गर्दै आएका छन्। उनकै कानुनी सल्लाहकार ओमप्रकाश अर्यालले गिरीबन्धु मुद्दाको फैसला सरकारी पोल्टामा पार्न सफल भएका थिए। जग्गा साटफेरको नाममा २०५१ सालको मनमोहन अधिकारीको अल्पमतको सरकारदेखि २०७४ पछिको केपी ओलीको सरकारसम्मले गिरीबन्धु टी स्टेटको करिब ४ सय ५२ बिघा जमिनमाथि नीतिगत भ्रष्टाचार गर्दै आएको छ। मनमोहनको त्यो अल्पमतको सरकारमा केपी ओली गृहमन्त्री थिए। त्यहाँदेखि प्रधानमन्त्री भएर २०७५ पछिका हरेक निर्णयहरूमा ओली गाँसिएका छन्। सर्वोच्चको फैसलाले देखाइदिएको पनि त्यही नै हो।
बालेनले आफ्ना कानुनी सल्लाहकारलाई त्यो फैसलाका लागि बधाई दिने क्रममा गिरीबन्धुका बारेमा लामै कहानी लेखे। एकपटक होइन पटक पटक। उनले गिरीबन्धु टि स्टेटसँग जग्गा सट्टाभर्ना गर्नका लागि लागि परेका अनि ठूलो नेताहरूको लगानी रहेका करिब ‘१०१’का कम्पनीका नामहरू नै सार्वजनिक गरिदिए। त्योसँगै उनले केपी ओलीलाई ‘कारबाही’ गर्नुपर्ने सन्देश पनि छोडे।
ओलीकै पार्टीका वडाअध्यक्षहरूले आफ्नो अभियानमा निरन्तर अवरोध गर्न थालेपछि सोमबार फेरि उनले एउटा लामै स्टाटस लेखेर ओली जेलका लागि तयार रहन खुला चुनौती दिए।
‘१० हजार करोड को काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनु होला माननीय केपी ओलीज्यू… राज्यको सम्पूर्ण शक्ति लगाएर न्यूरोडमा हामीले बनाउन लागेको फूटपाथ फेरि सडक बनाउनु थाल्नुभएछ’ बालेनले लेखेका छन् ‘…अनि समयमै गिरिबन्धुमा पीडितको बैना फिर्ता गर्नुहोला। नत्र कोही साँच्चैको नयाँ आउला र फाइल पल्टाउला। हुन त, पहिले पनि जेल बस्नु भएको हो। धन्यवाद…।’
बालेनको यो स्टाटसमा हजारौं टिप्पणी अनि शेयर र ‘भ्यूज’हरू आउँदै गर्दा सडक विभागको टोलीले न्यूरोडको सडकपेटीमा कालोपत्रे बिच्छ्याउँदै थियो जसलाई बालेनले फराकिलो बनाउँदै थियो। त्यसैबेला नगर प्रहरी आए। स्थानीयवासी ओइरिए। नेपाल प्रहरीको टोली पनि तुरन्तै तैनाथ भयो। तर विभागको टोलीले ती सडक पेटीहरूलाई पिचगरिवरी सडकपेटी पहिलाकै स्थानमा खुम्च्याइदियो।