सेतो स्कर्टमा राताे ‘दाग’

दिपा धिताल

रूकुम पश्चिम

आज पनि त्यो दिन ताजै लाग्छ। करिब २०५१ सालतिरको कुरा हो, म कक्षा ८ मा पढ्दै थिएँ। निलो सर्ट, सेतो स्कर्ट अनि निलो मोजा र जुत्तामा सजिएर स्कुल गएकी म। त्यो उमेर, ती दिन आजभन्दा धेरै फरक थिए।

म सानैदेखि पहिलो बेन्चमा नै बस्दथेँ। त्यो दिन पनि म साबिक जस्तै पहिलो बेन्चमा नै बसेकी थिएँ। पहिलो घण्टीको पढाई सकाएर दोस्रो सुरु हुँदै थियो। दोस्रो घण्टीमा विज्ञान विषयको पढाइ। त्यसमा पनि प्रश्न-उत्तर घोक्नुपर्ने। म पहिले नै तयार भएर बस्ने गर्थेँ। सरले सोधेको प्रश्नको उत्तर मैले पनि दिनुपर्ने हुन्थ्यो।

हरेक दिन मेरो पछाडिको बेन्चमा केटा साथीहरु बस्थे। त्यसदिन उनीहरु अगाडिदेखि नै खासखुसु गर्दै हाँस्दै थिए। सरले सोधेको उत्तर दिनलाई म उठ्दा जोडले हाँस्न थाले। शिक्षकको हप्काइपछि उनीहरु जबरजस्त चुप भए।

मैले गलत जवाफ दिएको थिइनँ। साथीहरु किन हाँसे भन्ने सोचले म गम्न थालेँ। ४५ मिनेट सकाएर सर बाहिर निस्किनुभयो। सहपाठी उदण्ड केटाहरुले मलाई गिज्याउन थाले। पछि थाहा भो कुरा फरक रहेछ। मेरो सेतो स्कर्ट रातो भएको रहेछ।

मलाई के भयो? म केही सोच्न सकिनँ। न मलाई चोट लागेको थियो, न त दुखेको छ। अलमलमा परेँ। यत्तिकै बेला मेरो नजिकैको साथीले भनि ‘त नछुने भइस्।’ म त लाजले भुतुक्क भएँ। अब म के गरुँ? म त लाजले मरे सरह भएँ। आमा, भाउजु र दिदीले महिनावारी हुँदा त पड्किन्छ ठुलो आवाज आउँछ भनेको सुनेको थिएँ तर केही भएन।

बेन्चबाट उठ्न सकिरहेको थिइनँ। साथीहरुको आडमा उठेर तेस्रो घण्टीको सर कक्षामा नआउँदै म बाहिरिएँ। विद्यालयबाट घर जानलाई १ घण्टा हिँड्नुपर्ने। अब कसरी जाने? कसलाई के भन्ने? बजारमा कहिँकतै प्याड नपाइने अनि पाइए पनि किन्न नसकिने।

सेतो स्कर्टको रातो छापलाई साथीको आडमा छोपेर १ घण्टाको बाटो हिँडेर घर पुगेँ। आमासँग भन्ने आँट पनि आएन। साथीले भनिदिइ। ‘अब तँ ७ दिनसम्म बस्ने’ कोठा भन्दै अँध्यारो कोठामा लगेर राखिदिनुभयो। ठुस्स ढुसी गन्हाउने कोठामा राखेको ७ दिनसम्म सूर्य र पुरुषको अनुहार नहेरी बसेको त्यो दिन मेरो मानस्पटलमा अहिले पनि ताजै लाग्छ।

अन्धविश्वासले आज पनि धेरै ठाउँमा जरा गाडेको छ। उतिबेलाका लागि केही बुझेका पढेका भनिएको मेरो परिवारले किशोर अवस्थामा ७ दिनसम्म बिनाकारण मलाई थुनेजस्तै आज पनि धेरै नानीहरु महिनावारीपछि पारिवारिक रुपमा हेलामा पर्छन्।

०००

सिता (नाम परिवर्तन) अहिले १९ वर्षकी भइन्। १२ वर्षको हुँदा विद्यालय पढ्न गएको समयमा चौथो घण्टी पढाइ भइरहेको बेला तल्लो पेट दुखेको महसुस भयो। एक्कासी योनीबाट रगत आयो। हातको रुमालले जति पुछे पनि रगत बग्न रोकिएन। जति आउँछ, त्यति नै पुछिरहिन्। 

उनलाई असजिलो महसुस भयो। स्कुल छोडेर घरमा गइन्। घरमा लाज हुन्छ भनेको अंगबाट रगत आएको कुरा कसरी भन्नु। खाना खान पनि मन लागेन। त्यो दिन नखाइ बसेकी उनले अर्को दिन पनि कपडाले पुछिराखिन्। धेरै तनावमा देखेर आमाले सोधिन्, बल्ल बल्ल भन्ने आँट आयो। उनलाई पछि पो थाहा भयो- महिनावारी पो भएको रहेछु भनेर।

०००

हाम्रो कक्षाको किताबमा पनि थियो तर राम्रोसँग पढाइनै भएको थिएन। र मलाई यसको बारेमा कसैले भनेको पनि थिएन। मेरो र सिताको दुई घटना त प्रतिनिधि पात्र मात्र हुन्। अहिले पनि हाम्रो समाजमा महिनावारीप्रति गलत धारणा र महिनावरीप्रति छुवाछुत यथावत नै छ। सुदूरपश्चिममा छाउ गोठ छ भने नेपालका अन्य भागहरुमा घरमै छाउ रहेको छ।

महिनावारी भनेको त महिनामा १ पटक महिला वा किशोरीहरुमा नियमित हुने प्रक्रिया पो हो। किशोरीहरुमा ९ वर्षदेखि सुरु भएर करिब ४५/५० वर्षसम्म हरेक २८ दिनको बीचमा हुने चक्रलाई महिनावारी भनिन्छ। यो त मानव सृष्टिको लागि तयारी भएको जाली झिल्लीहरु हुन् त। शुक्रकिट नपाउँदा रगतको रुपमा योनीदार हुँदै बाहिर निस्केको हो। हाम्रो समाजमा अहिले पनि यौन तथा प्रजनन् स्वास्थ्यका सवालमा खुलेर बोल्न नसक्ने लाजको घेराभित्र राखिएको छ।

अहिले सामुदायिक विद्यालयहरुमा निशुल्क प्याड वितरण निरन्तर भइरहेका छन्। तर धेरै विद्यालयमा प्याडको व्यवस्थापन गतिलो छैन। पहिलो समस्या किशोरीहरु प्याड माग्न आउँदैनन् भने शिक्षकले पनि प्रयाप्त दिन चाहँदैनन्। धेरै विद्यालयमा प्याड छ तर व्यवस्थापन गर्ने स्थान (इन्सीनेटर) छैन। प्याड चेन्ज गर्ने स्थान छैन। कुनै एक शिक्षकलाई जिम्मा दिएको छ तर विद्यालय अनुपस्थितिमा प्याड वितरण हुँदैन। कति ठाउँमा महिनावारी भएपछि ४ दिन विद्यालय छोड्नुपर्ने बाध्यतासमेत छ।

विद्यालयको कोर्षमा यौन तथा प्रजनन् स्वास्थ्य, महिनावारीसम्बन्धीको जानकारीमूलक कुराहरु पनि छन् तर विद्यार्थीहरुसँग विस्तृत छलफल नहुनु मुख्य समस्या छ। अहिले पनि खुलेर कुरा गर्न नचाहनु, लाजको रुपमा हेरिनुको परिणाम अहिले पनि किशोरी तथा महिलाहरुले महिनावारीका समयमा सास्ती भोग्नु परेको हो।

जतिबेला महिलालाई पोषिलो खानाको आवस्यकता पर्छ, सरसफाइमा ध्यान दिनुपर्छ, त्यही समयमा महिलालाई अछुतो मानिदिने, फलफुल, दही-दूध खानाबाट बन्चित गरिनु, महिनावारी भएकै कारण विभिन्न कुराहरुमा रोकावट र छाउपडीका कारणमा मानसिक रुपमा तनाव भोग्नुपर्ने बाध्यता अहिले पनि रहेको छ।

यस्ता खालका अन्धविश्वास हटाउनका लागि विद्यालय शिक्षाको धेरै नै महत्व छ। हरेक विद्यालयले यस्ता कुराहरुलाई विशेष प्राथमिकतामा राखेर अध्यापन गराउन जरुरी छ। र हरेक स्थानीय तहले स्यानिटरी प्याड निशुल्क वितरण गर्न जरुरी छ। महिनावारी भनेको त मानव सृष्टिलाई जोगाइराख्ने कुरा पो हो त। 

प्रकाशित मिति: : 2024-05-23 13:43:00

प्रतिकृया दिनुहोस्