भिगन-काजोल: एक प्रेमकथा

कमल विक

काठमाडाैं
Break n Links
Break n Links

‘शाकाहार’ अनि ‘भिगन’बीचको दूरी अलिकतिमात्रै छ, शाकाहारहरू मासु अनि माछाजन्य खानेकुरा खाँदैनन्। त्यसको सट्टामा दूग्धजन्य चिजहरू खान सक्छन्। तर ‘भेगानिज्म’मा त्यो दूध वा त्यसबाट बन्ने कुनै पनि चिज वर्जित छ। संसारभरि मौलाइरहेको ‘भिगन’ समुदायले हरेक ‘सजीव’ प्राणीको प्रेमलाई दर्शाउँछ।

भिगन मात्रै भोजन वा त्यसको परिकार होइन, बरु त्यो एउटा अलि फरकखाले जीवनशैली हो। जसमा आहारसँगै आदत अनि स्वभाव पनि गाँसिएको हुन्छ।

नेपाली समाजमा र यहाँको जीवनशैलीमा भने ‘भिगन’ बिल्कुलै नयाँ हो। यही नयाँ जीवनशैलीलाई आफ्नो ‘कर्म’ बनाउन सुरु गरेकी एउटी नेपाली चेली भने अहिले संसारभरि चर्चामा छिन्। अझ विशेषगरी ‘भेगानिज्म कम्युनिटीमा’। केही दिनअघि फोब्स म्यागेजिनले छानेका एसिया क्षेत्रका ३० वर्षमुनिका ३० प्रभावशाली ‘नवप्रवर्द्धक’को सूचीमा अटेको एउटा नाम हो- काजोल सेठिया।

नेपालमा पनि बिस्तारै ‘भिगन’ जीवनशैली पछ्याउनेहरू बढ्न थालेका छन्। भर्खर-भर्खर ‘भिगन’ रेस्टुरेन्टहरू खुल्न थालेका छन्, कतिपय रेस्टुरेन्टका ‘मेनु’हरूमा ‘भिगन’ रेसिपीहरू थपिएका छन्।

हरेक प्राणीको जीवनको स्वतन्त्रतालाई प्रेम गर्ने यो समुदायमा धेरैजसो युवा-युवतीहरू छन्। जसले हर सजीव प्राणीको जीवनलाई उत्तिकै प्रेम गर्दछन्।

‘भिगन’ जीवनशैली सुरु गर्दागर्दै ‘भेगानिज्म प्रोडक्ट’मा ‘स्टार्टअप’ बनेकी काजोलसँग पनि जनावरप्रतिको त्यस्तै प्रेमकथा गाँसिएको छ।

०००

काजोल ६/७ वर्षकी हुँदा बुबाले घरमा कुकुर ल्याएका थिए। त्यही कुकुरसँग खेल्दै र हुर्किँदै गर्दा काजोलमा जनावरप्रति प्रेमभाव प्रगाढ हुन थाल्यो। उनी घरभित्रको कुकुरलाई मात्र होइन, घरबाहिर भेटिने कुकुरलाई पनि प्रेम गर्थिन्।

उनले हरेक दिन विद्यालय जाँदा सडकमा भेटिने कुकुरलाई केही न केही खुवाउने गर्थिन्।

‘म स्कुल जाँदा सधैं कुकुरलाई केही न केही खुवाउँथेँ’, काजोलले भनिन्, ‘त्यही भएर होला मलाई देख्ने बित्तिकै कुकुरहरु मेरो पछिपछि लाग्थे।’

‘यसले कुकुरलाई पछि लगाएर हिँड्छे’ भनेर स्कुलका साथी-भाइहरू काजोलसँग तर्किन्थे। तर, त्यसबाट उनको जनावर प्रेम कत्ति कम भएन। बरु त्यो मौलाउँदै गयो।

काजोलले कुकुरलाई खाना खुवाउने, घाइते र अशक्त कुकुरहरूलाई औषधिमूलो पनि गर्थिन्। कुकुरहरूको सेल्टरहोमहरूमा उनले स्वंयसेवा पनि गरिन्। सडक अनि गल्लीहरूमा भेटिने बेवारिसे कुकुरहरूलाई घरमै लगेर स्यहार्थिन्। यो कर्म अहिले पनि छुटेको छैन।

नेपालबाट प्लस टू सकेर सिंगारपुर अध्ययन गर्न पुगेपछि पनि काजोलको त्यस्तै साथीहरुसँग संगत भयो। सिंगापुरमा इन्जिनियरिङ अध्ययन गर्दैगर्दा काजोल सन् २०१४ तिर ‘भिगन’ बनिन्। आफूले बाँचिरहेको जीवनशैलीको यो ‘भिगन’ मोड त्यही जनावरसँग गाँसिएको गहिरो प्रेमभाव थियो।

काजोलले सिंगापुरबाट इन्जिनियरिङको अध्ययन पूरा गरिन्। एक वर्ष काम पनि गरिन्। त्यसमाथि उनको स्टार्टअप बिजनेस पनि थियो।

सिंगापुरको व्यस्तताका बाबजुद उनी दुई महिनाको छुट्टी लिएर नेपाल फर्किइन्।

नेपाल फर्किँदा काजोलले पूर्णरुपमा भिगन जीवनशैली अपनाइसकेकी थिइन्। तर, नेपालमा भिगन उत्पादनहरू नै थिएनन्। अर्थात् ‘भेगानिज्म कम्युनिटी’का लागि कुनै ‘डेडिगेटेड प्रोडक्ट’ नै थिएन।

काजोलको लागि उनकी आमाले नै भिगन खानेकुराहरू बनाउन थालिन्।

काजोलका लागि बनेको भिगन खाना उनका साथीहरुले पनि चाख्ने मौका पाए। भिगन चाखेका ती साथीहरुले काजोललाई सुझाए, ‘आहा, क्या मिठो! तिमी यो सबै नेपालीलाई खुवाउनुपर्छ।’

साथीहरुको कुराले काजोलको मन छोयो।

उनले सन २०१८ मा करिब २० हजार पैसा खर्चिएर बिक्रीका लागि भिगन प्रोडक्ट उत्पादन गर्न थालिन्। त्यतिबेला उनी दुई प्रकारका भिगन प्रोडक्ट उत्पादन गर्थिन्।

र, घरबाटै सुरु भयो, ‘भिगन डेरी नेपाल’।

थोरै परिणाममा उत्पादन गरेका भिगनका उत्पादनहरु बोकेर उनी आफैँ बजार धाउन थालिन। ‘सुरुमा प्रोडक्ट बेच्न भन्दा पनि भिगनबारे मानिसलाई बुझाउन नै गाह्रो थियो’, उनी विगत सुनाउँछिन्।

काजोल त्यतिबेला प्रोडक्ट उत्पादन सँग-सँगै बजारीकणमा बढी ध्यान दिन थालेकी थिइन्। ‘भिगन’मा मान्छेको आदत बस्नुपर्छ। त्योभन्दा अगाडी उसले ‘भिगन’ बुझ्नुपर्छ। भिगन प्रोडक्ट मात्रै भिगन जीवनशैलीका लागि होइन, यसको उपयोग सबैले गर्नसक्छन्।

उनी भिगनका पखेटाहरु नेपालमा फैलाउँदै थिइन्, त्यहीबेला कोरोना महामारी सुरु भयो। सारा संसारै ठप्पजस्तो थियो।

त्यतिबेलासम्म काजोलका लागि भिगन डेरी नेपाल कुनै नाफा-घाटाको व्यापार थिएन। भिगन जीवनशैली अरु मानिसलाई बुझाउने एउटा प्रयास पनि थियो।

त्यसैले कोभिड संकटले काजोललाई घाटाभन्दा बढी नाफा गर्‍यो।

कोरोना महामारीपछि मानिसमा स्वास्थ्य सचेतना बढ्यो। मानिस शाहाकारी बन्न थाले। खानपिनमा ध्यान दिन थाले। अनि, मानिसको पहिलो रोजाइमा पर्‍यो, भिगन।

त्यसमाथि भिगन युवामाझ एउटा रहरको कल्चर पनि बनिरह्यो।

‘कोभिडसम्म धेरै गाह्रो भयो। त्यसपछि भने सजिलो भयो। कोभिडपछि मानिसले स्वास्थ्यमा बढी ध्यान दिन थाले अनि हाम्रो व्यापार पनि बढ्न थाल्यो,’ काजोल त्यो संकटबाट पैदा भएको अवसरबारे सुनाउँछिन्, ‘म त के भन्छु भने कोभिड अगाडि त्यो प्रोजेक्टको रुपमा थियो, कोभिडपछि बल्ल व्यापारको रुपमा विकसित भयो।’

त्यसपछि काजोललाई पछाडि फर्किनु परेन।

कठिनाइहरु भने नआएका होइन्। तर, एउटा सोचसहित अगाडि बढेकी उनलाई पछाडि फर्निने विकल्प नै थिएन। जस्तो कठिनाइमा पनि उनी निरन्तर अगाडि बढिरहिन्।

‘कहिलेकाहीँ यो गर्न सकिँदैन कि भन्ने आउथ्यो तर म त्यसमा अल्झिन। खासमा यो भावाना जोडिएको बिजनेस थियो नि त, जस्तो कि जनावरप्रतिको प्रेम’, काजोललाई अप्ठ्यारो पनि रोकिन नदिने यही एउटा उदाहरण प्रस्तुत गरिन्।

उनी निरन्तर अगाडि बढिरहिन्...

०००

यही जेठ ३ गते पनि काजोल भिगन डेरीको व्यापारका लागि सोलुखुम्बुको सदरमुकाम लुक्ला जाँदै थिइन्।

बिहान साढे सात बजे उनी चढेको तारा एयरको जहाज लुक्ला उड्न त्रिभुवन विमानस्थलको रन-वेमा चलमलाउँदै थियो।

काजोलले मोबाइल फ्लाइट-मोडमा राख्नका लागि खल्तीबाट निकालिन्। त्यतिबेला उनको ह्वाटएप ग्रुप पूरै बधाईका सन्देशहरुले भरिएको थियो।

जहाज उड्नै लाग्दा काजोलले थाहा पाइन्, फोब्सको एसिया क्षेत्रको ३० वर्षमुनिका ३० प्रभावशाली युवाको सूचीमा परेको।

उनले तत्काल घरमा आमालाई फोन गरेर खुसी साटिन्।

जहाज लुक्ला उड्यो।

फोब्सको सूचीमा परेका नेपालका दुई चेली उनी (काजोल) र ह्याप्पी माइण्डस् नेपालकी श्रेया गिरीको चर्चा सामाजिक सञ्जालभरि थियो।

तर, काजोल लुक्लामा ग्राहकलाई भिगनबारे बुझाउन र सामान बिक्री गर्नमा तल्लिन थिइन्।

घरबाट तारन्तार म्यासेज आइरहेका थिए, ‘तिमी छिटो घर फर्क छोरी तिमीलाई यहाँ मिडियाले खोजिरहेका छन्’ भन्दै। तर, काजोलले लक्ष्य पूरा नहुँदै काठमाडौँ नफर्किने अठोट गरिन्।

एक हप्तापछि बल्ल काठमाडौँ फर्किइन।

काठमाडौँ फर्किएको भोलिपल्ट बिएल नेपाली सेवाको सम्पर्कमा आएकी काजोलले भनेकी थिइन्, ‘मैले यसरी मिहेनत गरेकी थिएँ र त फोब्समा परेँ। त्यही भएर गरिरहेको काम छोड्ने कुरा भएन। काम सकेर बल्ल फर्किएँ नि...’

०००

नेपालका काठमाडौँ, पोखरा, चितवन, बुटवलसँगै विदेशी पर्यटकहरुले भरिने हिमाली क्षेत्रका सहरमा भिगन कल्चर विकसित छ। नेपालमा यसको सम्भावना बढी रहेको काजोलको बुझाइ छ।

भिगन डेरी नेपालका सामान भारतमा उत्पादन र प्याकिङ हुन्छन्।

आगामी दिनमा भने नेपालमा नै कारखाना खोलेर उत्पादन सुरु गर्ने योजनामा काजोल छिन्।

त्यसैले काजोलको ध्यान अहिले नेपालमा भिगन कल्चर विकास गर्नेमा छ। र, त आफैँ बजारमा जान्छिन् र भिगनबारे बुझाउँछिन्। ‘दिनमा एक-दुईजना नयाँ क्लाइन्डसँग भेट हुन्छ’, उनले भनिन्, ‘अहिलेसम्म पहिलो क्लाइन्डलाई म आफैँ भेट्ने गरेकी छु।’

सिंगापुरका अवसरहरु त्यागेर स्वदेश फर्किएकी काजोल नेपालमा धेरै सम्भावना रहेको बताउँछिन्। उनको बुझाइमा नेपाल भर्जिन मार्केट हो। यहाँ जे चाह्यो, जस्तो चाह्यो त्यस्तै व्यापार गर्न सकिन्छ।

‘विदेशमा धेरै नयाँ बिजनेसहरु विकास भएका छन्। ती बिजनेसहरु नेपालमा ल्याएर गर्न सकियो भने यहाँ धेरै प्रगति गर्न सकिन्छ। त्यस्ता कुराहरु नेपालमा पनि चाहिएको छ, नेपालमा पनि व्यापार गर्न अवसरहरु छन्। म चाहिँ भन्छु विदेशको यात्रा गर्नुहोस् र त्यहाँ देखेका र गरेका काम नेपालमा आएर पूरा गर्नुहोस्।’

र, अन्तिममा भन्छिन्, ‘जनावरहरुलाई माया गर्नु एकदमै मायालाग्दो छ। उनीहरुको हिंसा नगर्नुहोस्।’

भिडियो:

प्रकाशित मिति: : 2024-06-04 20:13:00

प्रतिकृया दिनुहोस्