‘गाउँ आएकाे बाटाे’ले अन्तर्राष्ट्रिय बजारमा नेपाली फिल्मकाे बिउ राेप्ने काम गर्‍याे- निर्माता राई (भिडियाे)

कमल विक

काठमाडाैं

‘गाउँमा बाटाे (विकास) आएपछि समुदायकाे आर्थिक, सामाजिक र सांस्कृतिक क्षेत्रमा कस्ताे प्रभाव पर्छ?’ भन्ने प्रश्नमाथि केन्द्रित चलचित्र ‘गाउँ आएकाे बाटाे’ आगामी शुक्रबार (जेठ २५ गते) देशभर प्रदर्शन हुँदैछ।

राई समुदायकाे संस्कार र संस्कृतिलाई समेटेर नवीन सुब्बाकाे निर्देशनमा बनाइएकाे याे चलचित्र विश्वका प्रतिष्ठित चलचित्र महाेत्सवहरु (टाेरन्टाे इन्टरनेसनल फिल्म फेस्टिवल, बुसान फिल्म फेस्टिवल)मा प्रिमियर शाे भइसकेकाे छ।

नेपालमा प्रदर्शन अगावै विश्वचलचित्र बजारमा चर्चामा रहेकाे चलचित्र ‘गाउँ आएकाे बाटाे’ फिल्मका निर्माता आमाेद राईसँग चलचित्र निर्माण र अन्तर्राष्ट्रिय चलचित्र महाेत्सवमा उपस्थितिबारे बिएलकर्मी कमल विकले गरेकाे कुराकानी प्रस्तुत छ:  


‘गाउँ आएकाे बाटाे’ कस्ताे फिल्म हाे?

याे राई समुदायकाे पृष्ठभूमिमा आधारित नेपाली चलचित्र हाे। यसलाई नवीन सब्बाले निर्देशन गर्नुभएकाे छ। र, पात्रहरुमा दयाहाङ राई, पशुपति राई र प्रसन राई हुनुहुन्छ।

याे चलचित्र विश्वकाे प्रतिष्ठित फिल्म फेस्टिवलहरुमा पुगेकाे छ। जस्तै: टाेरन्टाे इन्टरनेसनल फिल्म फेस्टिवलमा वर्ल्ड प्रिमियर भएकाे छ। त्यसैगरी बुसान इन्टरनेसनल फिल्म फेस्टिवलमा एसियन प्रिमियर र साओ पाओलाे इन्टरनेसल फिल्म फेस्टिवल ब्राजिलमा साउथ अमेरिकन प्रिमियर भएकाे छ। काेटेवर्ग इन्टरनेसनल फिल्म फेस्टिवल स्विडेनमा युराेपियन प्रिमियर भएकाे छ। बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिवलमा पनि चाइनिज प्रिमियर भएकाे छ।

र, आउने जेठ २५ गते नेपालभरि प्रदर्शन हुँदैछ।

फिल्मकाे कथावस्तु बताइदिनुन...

फिल्मकाे कथावस्तु राई पृष्ठभूमिमा आधारित छ। याे बाउ-छाेराबीचकाे कथा हाे।

गाउँमा बाटाे आएपछि संस्कार, संस्कृति र अर्थतन्त्रमा कस्ताे असर गर्छ भन्ने कथा यसमा छ। याे फिल्म पूर्वकाे भाेजपुर (जहाँ राई वान्तवा समुदाय छ)मा सुटिङ गरिएकाे हाे। फिल्मकाे तयारी २०१७देखि भएकाे थियाे। २०१९मा प्रि-प्राेडक्सनमा बसेका थियाैँ। तर, काेभिडकाे कारण हामी सुटिङमा जान सकेनाैँ। २०२१मा फेरि प्रि-प्राेडक्सनमा बस्याैँ। सुटिङ २०२२काे नाेबेम्बरबाट सुरु भएर ८० दिनमा सकिएकाे थियाे।

२०२३ अगष्टसम्म लगभग सबै काम सकेर फेस्टिवलतिर पठाउन सुरु भएकाे थियाे।

याे फिल्म सामुदायिक लगानीमा बनेकाे हाे भन्ने सुनिन्छ, याे भनेकाे कस्ताे अवधारणा हाे?

हाे, याे फिल्ममा हामीले सामुदायिक लगानीकाे अवधारणमा लगानी गरेका छाैँ। याे अवधारणा निर्देशक नवीन सुब्बाकाे नै हाे।

पहिला त म याे फिल्ममा कसरी जाेडिएँ भन्ने कुरा स्पष्ट पार्छु।

मेराे बसाइँ हङकङमा हाे। त्यहाँ बस्न लागेकाे दुई दशक भयाे। त्यहाँ शिक्षककाे रुपमा काम गर्छु। त्यसका साथ-साथै अल्पसंख्यक समुदायका लागि पनि काम गरिरहेकाे छु। त्यही क्रममा हामी अल्पसंख्यक समुदाय कसरी त्यहाँकाे मेन स्ट्रिममा सहभागी हुन सकिन्छ भनेर एक प्रकारका कार्यक्रमहरु गरिरहन्छाैँ।

र, मेराे बुझाइअनुसार त्यहाँकाे समुदायमा इन्टरगेसन गर्न हाम्राे चलचित्र, कला, संस्कृति, संगीतकाे माध्यमबाट अझै सहज हुन्छ जस्ताे लाग्याे। तर, त्यसका लागि पनि हाम्राे कला, फिल्म, संगीत पनि अन्तर्राष्ट्रियस्तरकाे हुनु पर्‍याे। ताकि अन्तर्राष्ट्रिय समुदायले पनि हेर्न सकाेस्। यही परिवेशमा मलाई नवीन दाइले याे चलचित्रका लागि प्रस्ताव गर्नुभयाे।

दाइकाे काम पनि अन्तर्राष्ट्रियस्तरकाे हुने भएकाेले यसमा काम गर्न पाएँ भने हाम्राे कथा अन्तर्राष्टिय क्षेत्रमा लैजान सकिन्छ भनेर जाेडिएकाे हाे।

म जाेडिएपछि दाइले सामुदायिक लगानीकाे अवधारणा ल्याउनुभयाे।

याे कथा जुन समुदायबाट आएकाे छ, त्यही समुदायका मानिसहरुले लगानी गरियाे भने उनीहरुले ओनरसिप पनि लिन सक्छन्। र, समुदायलाई पनि सहभागी गराउन सकिन्छ भन्ने थियाे। साथ-साथै हामीले कला, संस्कृतिकाे माध्यमबाट समुदायमा चेतना पनि फैलाउन सकिन्छ भन्ने लाग्याे।

याे चलचित्र राई समुदायकाे भएकाे हुनाले विश्वभरि रहेका राई समुदायहरुलाई नै हामीले लगानीका लागि आव्हान गर्‍याैँ। जस्तै: अमेरिकामा नेपाली चलचित्रकाे बजार कति छ? त्यही आधारमा त्यहाँ कति स्क्रिनिङ (शाे) गर्न सकिन्छ भन्ने अनुमान गर्‍याैँ। त्यसका आधारमा बजेट बनायाैँ।

युके, हङकङ, युराेप, काेरिया, अस्ट्रेलिया र नेपालमा पनि त्यही किसिमकाे अवधारणमा बजेट बनाएर लगानीकाे माेडालिटी बनायाैँ।

याे अवधारणामा फिल्म बनाउँदा कत्तिकाे गाह्राे हुने रहेछ?

गाह्राे त जे काम गर्दा पनि हुन्छ नै। गाह्राेपनलाई नै अवराेध ठानियाे भने ओभरक्रस (अगाडि बढ्न) गर्न सकिँदैन।

म फिल्ममा नयाँ भएकाे हुनाले र याे अवधारणा पनि नयाँ भएकाे हुनाले गाह्राे त गाह्रै भएकाे हाे।

सामुदायिक लगानीकाे अवधारण पनि समुदायका मानिसहरुका लागि नयाँ थियाे। पहिलाेपटक उनीहरुलाई बुझाउन पनि गाह्राे नै परेकाे थियाे। त्यसक्रममा जाे-जाे सहमत हुनु भयाे उहाँहरु सहभागी हुनु भयाे।

तर, जे जस्ताे भएपनि हामीले चलचित्र बनाउन सक्याैँ। याे अवधारणा पनि सफल भयाे।

फिल्ममा दयाहाङ राईले कसरी काम गर्नुभएकाे छ?

मेकिङकाे बारेमा म भन्दा पनि निर्देशकज्यूसँग कुरा गर्दा मज्जाले आउँछ हाेला। क्रिएटिभ कामकाे पूरै जिम्मा स्वतन्त्र रुपमा निर्देशकीय टिमलाई दिइएकाे थियाे।

तर, पनि काम गर्ने क्रममा मैले पनि धेरै थाेरै इनपुटहरु दिइरहेकाे थिएँ।

पहिला सुरुवातमा याे फिल्मकाे आइडिया बनाउँदै गर्दा दयाहाङ राईलाई नै लिने भन्ने थिएन। स्क्रिप्टकाे काम गर्ने क्रममा निर्देशक नवीन सुब्बा दाइले नै नन्-कलाकारसँग काम गर्ने कि भन्नु भएकाे थियाे। पछि दाइले ठिक छ प्राेफेसनल कलाकारसँग नै काम गराैँ न भन्नु भयाे।

अनि, दाइले नै दयाहाङ सरलाई प्रस्ताव गर्नुभयाे।

दयाहाङ सरसँग पनि कनेक्सन कसरी भयाे भन्दा...

उहाँ कवडी- ३काे हङकङ प्रिमियरमा आउनुभएकाे थियाे। त्यतिखेर उहाँकाे पनि मसँग भेटघाट भयाे। त्यही क्रममा मैले हाम्राे फिल्मकाे बारेमा उहाँसँग भलाकुसारी गरेकाे थिएँ। उहाँले त्यतिबेला नै इच्छा जगाउनु भएकाे थियाे।

‘याे फिल्ममा त मलाई इन्भल्ब हुने इन्ट्रेस्ट छ। मलाई नवीन दाइकाे फाेन नम्बर दिनुहाेस् न, म नेपाल गएर कुरा गर्छु’ भन्नु भयाे।

मैले नम्बर दिएँ।

र, नवीन दाइलाई पनि भनेँ।

नेपाल फर्किएपछि उहाँले नै नवीन दाइसँग कुरा गर्नुभयाे।

नवीन दाइले हाम्राे फिल्ममा कमिटमेन्ट कुरा राख्नु भयाे। नवीन दाइकाे काममा धेरै समय लाग्छ। अलिकति मिहेनत गर्नुपर्ने हुन्छ। त्याे गर्न सक्छ किन सक्दैन भनेर भन्नु भएकाे थियाे।

त्याे कमिटमेन्ट राख्दा दयाहाङ सरले भन्नुभयाे, ‘म गर्छु। किनभने, याे मेराे समुदायकाे चलचित्र हाे। मेराे लागि नितान्त फरक चलचित्र हुनेछ।’

अनि, नवीन सुब्बा दाइले जे-जे रिक्वायर्ट राख्नु भएकाे थियाे, त्यसमा उहाँ सहमत हुनु भयाे।

क्यारेक्टर बिल्डअपका लागि नै उहाँले एक महिना तयारी गर्नुभयाे।

सुटिङमा जानुभन्दा १५ दिन अगाडि पनि त्यहीँ ठाउँमा गएर क्यारेक्टर बिल्डअपका लागि धेरै काम गर्नुभयाे।

याे फिल्ममा बाँसकाे काम गर्ने क्यारेक्टर छ। बाँस काट्नेदेखि चाेया बनाउने। त्यहाँकाे समुदायसँग इन्भल्ब हुने गर्नु भयाे।

याे सुटिङकाे लागि पनि ८० दिनकाे लामाे समय लाग्याे। मैले सुनेअनुसार दायाहाङ सरले सबैभन्दा लामाे समय दिएकाे फिल्म हाे याे।

जे हाेस् उहाँले याे चलचित्रमा निकै नै मेहनत गर्नुभएकाे छ।

अन्तर्राष्ट्रिय फेस्टिवलहरुमा दर्शककाे प्रतिक्रिया कस्ताे थियाे?

टाेरन्टाे फिल्म फेस्टिवलमा जाँदा हाम्राे फिल्मकाे काम पूरा सकिएकाे थिए। फिल्म लक त भएकाे थियाे। तर, साउण्डकाे कामहरु गर्न बाँकी थियाे। हामीले एउटा रफ लक पठाएका थियाैँ। त्यसमा उहाँहरुले एक्सेप्ट गर्नु भयाे। यहाँकाे हाम्राे काम फिनिस नै भएकाे थिएन। समिट भएर एक्सेप्ट भइसकेपछि हामीले यति रफ्तारमा काम गर्नु पर्‍याे कि साउण्डमा, कलरमा याे सबैमा गर्नु पर्‍याे। र, पनि हामीले डेडलाइनलाई पनि मिड गर्न सकेनाैँ। हाम्राे एक हप्ता जति ढिला भयाे। फाइन (जरिवाना) पनि तिराउने खालकाे अवस्था थियाे।

तर, हामीले उहाँहरुलाई हाम्रा समस्याहरु बुझायाैँ र उहाँहरुले स्वीकार गर्नु भयाे।

टाेरन्टाे फिल्म फेस्टिवल संसारकै सबैभन्दा ठुलाे मार्केटदेखि लिएर धेरै दर्शक सहभागी हुने फेस्टिवल भनेर चिनिन्छ।

वर्ल्ड प्रिमियरपछि हामीले इन्टरनेसनल सेल्स एजेण्ड र डिस्ट्रिब्युटरहरुसँग डिल गर्न सक्ने रहेछाैँ। तर, हामी एकदमै काम सक्काउनमै लाग्नुपर्ने थियाे। हामीसँग स्राेत एकदमै कम थियाे। हामीले एकदमै सकस भएर नै पूरा गर्‍याैँ। त्यहाँ पुग्न नै हामीलाई धाै-धाै पर्‍याे। त्यही भएर हामीले जुन तरिकाले प्रमाेड गर्नुपर्ने थियाे, त्याे हामीले गर्न सकिएन।

तर, पनि मिडियाहरु कभर गरे। हेर्ने हाे भने एकदर्जन मिडियाले कभर गरे। जस्तै: भेराइटी, फब्सदेखि लिएर थुप्रै म्यागजिन र अनलाइनहरुले कभर गरे।

त्यहाँनेर अडियन्सहरुले पनि सकारात्मक प्रतिक्रिया दिए। हाम्राे पब्लिक शाेका लागि दुइटा शाे थियाे। त्याे पनि दुई हप्ताअगाडि नै हाउसफुल भएकाे थियाे।

त्यसैगरी बुसान,

बुसानलाई पनि एसियाकै कान्स भन्छन्। त्यहाँ एसियन प्रिमियर भयाे हाम्राे।

खास बुसानले वर्ल्ड प्रिमियर मागेकाे थियाे। तर, यहाँ हाम्राे डाइरेक्टरकाे गुड बाइ काठमाडाैँ फिल्म पहिला नै गइसकेकाे हुनाले हामीले टाेरन्टाेमै वर्ल्ड प्रिमियर गर्ने निर्णय गरेर यता एसियन प्रिमियर गर्‍याैँ।

त्यहाँ पनि अडियन्सबाट राम्राे रेस्पाेन्स (प्रतिक्रिया) भएकाे थियाे।

हामी त फिल्मकाे हिसाबले धेरै पछि थियाैँ र पनि काेरियन दर्शकले हाम्राे फिल्मलाई राम्रै प्रतिक्रिया दिनुभयाे।

त्यसैगरी हाम्राे साउद एसियन फिल्म फेस्टिवल मुम्बईमा भएकाे थियाे। बलिउडकाे फिल्म हेर्ने त्यहाँका दर्शकले पनि हाम्राे फिल्म एकदमै मन पराए।

त्यसैगरी स्विडेनकाे प्रिमियरमा भने हामी उपस्थित हुन सकेनाैँ। तर, त्यहाँकाे लेटरबक्सतिरकाे कमेन्ट हेर्दा राम्राे प्रतिक्रिया आएकाे थियाे।

त्यसैगरी दुई (तीन) हप्ता अगाडि बेइजिङ इन्टरनेसनल फिल्म फेस्टिवलमा पनि याे फिल्म गएकाे थियाे। र, त्यहाँ पुग्ने याे पहिलाे नेपाली फिल्म हाे। र, त्यहाँ चाइनिज अडिन्स छक्कै परे। उनीहरुले नेपालकाे फिल्मबारे चासाे पनि दिए।

गाउँ आएकाे बाटाेले अन्तर्राष्ट्रिय चलचित्र बजारमा एउटा बिउ राेप्ने काम गरेकाे छ।

फिल्मकाे प्राविधिक काम विदेशीसँग गर्नुभएकाे छ, किन?

नवीन दाइलाई नेपालकाे डिपीहरुसँग भन्दा विदेशी डिपीहरुसँग अलिकति क्षमता छ, सिप छ र उनीहरुले गुणस्तरीय काम गर्छन् भन्ने लागेकाे हुनाले हाेला सायद विदेशी डिपीहरुसँग काम गर्न चाहनु भएकाे हाे।

उनीहरु र नवीन दाइकाे काेर्डिनेसन पनि मिल्याे जस्ताे लाग्छ।

अनि के पनि हाे भने हाम्राे चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा पुर्‍याउनका लागि त्यही क्वालिटी (गुणस्तर)काे मेनपावर त चाहियाे नि त।

तर, नेपालीले गर्नै सक्दैनन् भन्ने कुरा भने हाेइन। हाम्राे प्राेजेक्टमा अन्तर्राष्ट्रिय क्षेत्रबाट पनि काम गर्छाैँ भनेर उहाँहरुले इच्छा जाहेर गर्नुभएकाे थियाे। त्यसकारण गर्दा हामीले याे चलचित्रमा डिपी युएसएबाट, एडिटर ताइवानबाट ल्यायाैँ।

नवीन दाइले पनि विदेशहरुसँग काम गर्न खाेज्नु भयाे। मैले पनि जाेसँग क्षमता छ, उसैसँग काम गर्न खाेजेँ।

फेरि, हामीले सबै काम विदेशीसँग गरेकाे हाेइन। जस्ताे: साउण्डकाे डिजाइनकाे काम नेपालकाे किशाेर आचार्यज्यूसँग गरियाे। उहाँले एकदम क्वालिटी (गुणस्तरीय) काम गर्ने भएकाे हुनाले उहाँसँग गरेकाे हाे।

यसकाे मतलब हामीले विदेशीसँग मात्र गर्छाैँ भन्ने हाेइन नेपालीहरुमा त्याे खालकाे क्षमता छ भने पनि हामी गर्छाैँ। त्यस्ताे केही हाेइन।

विदेशीसँग काम गर्दा के फाइदा भयाे?

विदेशीहरुले सुरुदेखि नै त्याे कुरालाई गहिराइसम्म पुगेर अध्ययन गर्ने, हेर्ने, बुझ्ने छलफल गर्ने गर्नुहुन्छ। जस्ताे उहाँहरुले काम गर्नुभन्दा अगाडि हाम्राे मुन्दुमकाे अध्ययन गर्नु भएकाे थियाे।

मैले त अरुसँग काम गरेकाे छैन, याे पहिलाे हाे। नवीन दाइकाे भनाइअनुसार उनीहरु अलिकति गहिराे अध्ययन गर्ने भएकाे हुनाले उनीहरूसँग काम गर्न राम्राे हुन्छ।

तपाईंकाे फिल्मसँगकाे साइनाे के हाे?

मैले अगाडि पनि भनेँ,- म अल्पसंख्यक समुदायमा समावेश भएर अभियन्ताकाे रुपमा काम गरिरहेकाे थिएँ। हाम्राे अल्पसंख्यक समुदायकाे (जस्तै: नेपाली, पाकिस्तानी, फिलिपिनाे) भाषा र संस्कृतिलाई हङकङ सरकारले पनि सम्बाेधन गर्नुपर्छ भनेर लागिरहेका थियाैँ।

किनभने, त्यहाँकाे बेसिक ल (यहाँकाे संविधान जस्तै)मा समेटेकाे थियाे। अब त्यसलाई कसरी कार्यान्वयन गर्ने भन्ने कुराहरु थियाे।

म शिक्षक भएकाे हुनाले याे कुराहरु विद्यार्थी (बच्चा)हरुमा विकसित हुनकाे लागि अत्यन्त आवश्यक छ भन्ने महसुस गर्थेँ। जब उसले आफ्नाे मातृभाषा र संस्कार संस्कृति पढ्न पाउँदैन तब उसकाे विकास प्रक्रियामा जहिले पनि असर परिरहन्छ।

त्यसका साथ-साथै त्यहाँकाे स्थानीय समुदायसँग कसरी घुलमिल हुने भन्ने कुरा पनि आयाे। जस्तै एउटा नेपालीले चाइनिजसँग कसरी हुने त? खाली भाषा जानेर त हुँदैन नि। त्यसैले हामीले हाम्राे कला, साहित्य आरदानप्रदान गरियाे भने त्याे हुन्छ भन्ने मलाई लाग्थ्याे।

त्याे अभियानकाे क्रममा मेराे शैक्षिक व्यक्तित्वहरुसँग पनि राम्राे सम्पर्क थियाे। पत्रकारहरुसँग पनि हुँदै गयाे। त्यहाँकाे स्थानीय चाइनिज कलाकारहरुसँग पनि हुँदै गयाे।

र, हङकङमा बस्ने नेपालीकाे इतिहास गाेर्खा समुदायबाट सुरु भएकाे हुनाले म गाेर्खा इतिहासलाई हङकङकाे इतिहासमा समावेश गर्नुपर्छ र त्यहाँकाे विभिन्न मातहतमा गाेर्खा इतिहास सम्बाेधन हुनुपर्छ भनेर लागिरहकाे थिएँ। र, त्यही विषयमा चासाे दिने धेरै कलाकारहरु हुनुहुन्छ, उनीहरुसँग मेराे कनेक्सन भएकाे थियाे।

त्यसमाथि मलाई हङकङकाे फिल्म एकदमै मनपर्छ। हङकङकाे कला, संस्कृति र आर्टस् विश्वस्तरीय हुन्छ। त्यसले पनि मलाई आकर्षित गरिरहेकाे थियाे।

अनि, चाइनिज फिल्महरु त संसारले हेर्छ। हाम्राे फिल्म पनि त्याे किसिमकाे कसरी बनाउन सकिएला भन्ने मलाई लागिरहन्थ्याे। त्यसकारण म उनीहरुसँग जाेडिरहेकाे थिएँ। त्यही कारण हाे म यता जाेडिएकाे।

फिल्मी क्षेत्रमा आएर के पाउनु भयाे?

मैले के पाएँ र के गरेँ भन्दा पनि नेपाली चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा लैजानुपर्छ भन्ने मेराे एउटा प्यासन हाे। त्यही भएर मेराे व्यक्तिगत मात्रै नभएर याे सम्पूर्ण नेपालीकाे सफलता हाे जस्ताे लाग्छ। मेराे विचारमा विदेशमा बस्ने सबै नेपालीहरुले पनि गाैरव गर्छ जस्ताे लाग्छ मलाई।

र, याे चलचित्रकाे माध्यमबाट हामीले आफ्नाे कथा विश्वभरि भन्न सकेका छाैँ, त्याे नै उपलब्धि हाे जस्ताे लाग्छ।

याे फिल्मबारे नेपालीले जान्नुपर्ने कुरा के हाे?

हाम्राे समाजमा अन्तर्राष्ट्रिय फिल्म फेस्टिवलमा पुगेकाे फिल्म बुझ्न कठिन हुन्छ भन्ने छ। तर, जहाँसम्म लाग्छ हाम्राे गाउँ आएकाे बाटाे सरल छ। बाउ-छाेराबीचकाे कथा छ। र, याे एउटा राई समुदायकाे कथा हाे। राई राईमात्रै नभएर पहिला त नेपाली हाे नि त, त्यसैले याे सम्पूर्ण नेपालीकाे कथा हाे।

हामीले अहिले हाम्राे जीवनशैली जसरी बुझिरहेका छाैँ, त्यसमा अलिकति साेच्नुपर्ने याे फिल्मले प्रश्न गर्छ।

याे एउटा मानवीयताकाे कथा हाे। विकास, संस्कार र संस्कृतिबीचकाे कथा हाे भनेर बुझ्नुपर्छ।

फिल्मले विदेशी भूमिमा चर्चा कमाइरहँदा कत्तिकाे उत्साहित हुनुहुन्छ?

विश्वका दर्शकहरुले यसलाई सकारात्मक रुपमा लिनु भयाे। हाम्राे कथालाई पनि कनेक्सन गर्न सक्नु भयाे। र, घरेलु बजारमा आएपछि हाम्राे आफ्नै दर्शकहरुले याे कथालाई कनेक्सन गर्न सक्नुहुनेछ। मन पराइदिनुहुनेछ भन्ने आश गरेका छाैँ।

Photo : Facebook/A Road to a Village, Video: Sani Shakya

प्रकाशित मिति: : 2024-06-01 17:09:00

प्रतिकृया दिनुहोस्