आज हामी ऐतिहासिक मोडमा छौँ। ऐतिहासिक दिनको थप एक वर्ष पार गर्दैछौँ। अहिले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा छ। यो व्यवस्था स्थापना गर्न लामो बलिदानीपूर्ण संघर्ष गर्नुपर्याे। यही संघर्षका क्रममा कहिले सफलता त कहिले पाएका सफलताहरु पनि खोसिने क्रम जारी रहे। अन्तताेतन्वा संघर्षले सफलता प्राप्त गर्याे र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो।
मुलुकमा स्वच्छ राजनीतिक वातावरण नभएको हुँदा केही मुठ्ठीभर व्यक्तिहरुको शक्तिमा बोलबाला रहेको थियो। देशका अधिकांश जनता शोषण र उत्पीडनले सताइएका थिए। अधिकतम जनताको भलाई हुने राजनीतिक व्यवस्थाको खाँचो महसुस गरेर गणतन्त्र स्थापना गरिएको हो। गणतन्त्रको वास्तविक सफलताको अर्थ सार्वभौमसत्ता सम्पन्न नेपाली जनता भनेर सगौरव नेपाली जनताले बखान गर्न पाए।
हामीले ‘सबै कुरा यही प्रणालीबाट पाइन्छ’ भनेर बोलेको पनि दशक बढी भइसक्यो।
देशमा उहिले असमानता थियो, पछौटेपन थियो र आज पनि छ। केही परिवर्तनको स्वरुप फेरिएको भने नभएको होइन, जस्तो समानुपातिक प्रतिनिधित्व, महिला, दलित, पछाडि पारिएको समुदाय आदि बर्ग र क्षेत्रहरुको पनि सदनदेखि स्थानीय सरकारसम्म र उपभोक्तादेखि अन्य क्षेत्रमा समेत प्रतिनिधित्व गराउनुपर्ने बाध्यकारी व्यवस्था बन्याे।
यद्यपि, यो खालको समावेशी प्रतिनिधित्व छनौटमा पनि अनेकौ प्रश्न हरु भने नआएका होइनन्?
लामो समयदेखि मुलुक राजनीतिक प्रणाली र नेतृत्वको निरन्तर परिवर्तन भइरहने अवस्थामा छ। इतिहासबाट फर्केर वर्तमानसम्म आइपुग्दा पनि यो सत्ता र सरकार अस्थिरताको रोग निको हुन सकिरहेको छैन। नेपाल र नेपाली जनता जहाँको त्यहीँ रहने भूमरीमा फसेको छ, यो भूमरीबाट कहिले छुटकारा पाउने?
गाउँघरको अवस्था जस्ताको त्यस्तै छ। केही दशक अघिसम्म घोडा चल्ने ठुला सडक आज मोटरसाइकल गाडी...चल्दैछन। हिजो र आजको अवस्था आकाश पातालको भइसक्यो।
‘मान्छेको व्यवहार वातावरणले तय गर्छ’, भनेजस्तै एकतन्त्रीय हुकुमी शासनले जन्माएर बढाएको र हुर्काएको यो देशको प्रत्येक नागरिक चुक्ली, चाप्लुसी र चाकडीमा पोख्त छ। नेपाली समाज त्यसबाट छुटकारा पाउन सकेको छैन।
मलाई सम्झना छ, गणतन्त्र घोषणा भएको दिन। जुन घर-दैलो चोक-चौतारासम्म दीपावली गरेर भित्राएको दिन, जुन हर्ष उल्लासको लाली ओठमा छाएको थियो। यथार्थमा आज त्यो लाली कहाँ गयो?
गणतन्त्र स्थापनापछि पनि हाम्रो देशको हालत कस्तो छ, धेरै भन्दै पर्दैन। सक्नेसम्म, भ्याउनेसम्म, उमेर पुगेसम्म, काम पाउने अवस्थासम्म सबैजना पासपोर्ट बनाउन र भिसा आवेदन दिनमै व्यस्त छन्। ‘गणतन्त्रमा कोही भोकै पर्दैन, कोही भोकै मर्दैन’ भनेका होइनौँ? खोइ छाक टार्नकै लागि विदेशिने युवालाई रोक्नसकेको?
गणतन्त्र आयो भने, विकास हुन्छ, समानता हुन्छ, शिक्षा, स्वास्थ्य, रोजगार देशभित्रै पाइन्छ भन्ने सुनेको थिएँ।
तर, खै गणतन्त्रले दशकाै नाघ्दा पनि विकास कसरी हुन्छ? विकासका पूर्वाधारहरु के-के हुन्? शिक्षाको महत्त्व के हो? आधुनिकीकरण को महत्त्व के छ? अनवरत ढंगले बगेका खोला-नाला नदीलाई उपयोग गरेर विद्युतीकरण कसरी गर्न सकिन्छ?
देशमा भएभरका युवालाई ‘फ्रि टिकट र फ्रि भिसा’ भन्दै बढी भन्दा बढी देशसँग श्रम सम्झौता गर्दै सस्तो कामदारको रुपमा विदेशिन बाध्य पार्नुको साटो नेपाली युवा(जनता)मा सीपमुलक क्षमताको विकास कसरी गर्न सकिन्छ, देशमा भएको मानवीय संशाधनलाई सक्षम बनाउन के गर्नुपर्छ? उपचारको अभावमा मृत्युको शय्यामा छटपटाइरहनुपर्ने बाध्यताबाट छुटकारा पाउने उपाय के हुने?
परिवर्तनको नाममा हिजो हिँडिरहेको बाटोमा सुरुसुरु हिँड्ने काम मात्रै भएको छ, कठिन परिस्थिति पछि नयाँ दिशामा मोडिन सकेका छैनौँ।
हाम्रो गणतन्त्र मानौँ यस्तो छ, हामीसँग उर्बर जमिन छ, ढुङ्गा छ, सिमेन्ट बनाउने सम्पूर्ण चिज छ, काठ छ, खर छ, जस्तापाता बनाउने ठाउँ छ, घर बनाउने दक्ष जनशक्ति पनि छ र दुनियाँका घर पनि बनाएका छन् र पनि आफ्नो लागि सुरक्षित बस्ने घर छैन।
हामीसँग प्रशस्त जमिन छ तर खाद्यान्न छैन। नदी, खोला र झरना छन तर सिँचाइ छैन। सभ्यता, भाषा र संस्कृति छन् तर लगाउने लुगा आफ्नै छैनन्। के गणतन्त्रको उपहार यही हो त?
गणतन्त्रमा समृद्धिकाे आधार के-के हुन्?
जुनसुकै देशको समृद्धिको आधार त्यस देशको भूगोल र जनतामा हुन्छ। हाम्रो देशको समृद्धिको आधार पनि हाम्रो देश र नेपाली जनता हुन्। गणतन्त्रपछिका हाम्रा जनप्रतिनिधिहरु परिवर्तनका परिकल्पनाकार हुनुपर्ने होइन र? तर, खोइ त पञ्चायतकालीन कामको ढराबाट देश अघि बढ्न सकेकाे? देश बनाउने श्रमजीवी जनता हुन्। खाेइ, जनतालाई देश र सरकारप्रति विश्वसनीयता दिन सकेको?
आजको राजनीतिक परिवर्तनको अर्थ समग्र परिवर्तनका लागि हो। यो खाली राजनीतिक परिवर्तनमात्रै होइन, समग्र आर्थिक, सामाजिक परिवर्तनको लागि यो राजनीति परिवर्तन भएको हो।
आज निरक्षरता, सामाजिक पछौटेपन, नकारात्मकता, कुशासन, गरिबी र भोकमरीले प्रसय पाइरहेकाे छ।
हरेक गणतन्त्र दिवसले कुख्यात अपराधीहरुलाई हुकुमी शैलीमा न्यायको ‘बक्सिस्’ दिइन्छ। यो पटक पनि यस्तै ‘बक्सिस्’ पाउनेहरुको लर्को लाग्ने होला।
गणतन्त्रमा रक्सी पिउन र चुरोट सल्काउन जति ठाउँ उपलब्ध छन्, त्यसको अनुपातमा राम्रो लेक्चर सुन्ने ठाउँहरु भएनन्, नेता र मन्त्रीलगायत प्रतिष्ठित व्यक्तिदेखि सामान्य नागरिकसम्म क्लब र डान्स बारले प्रसय पाए तर पुस्तकालाय, संग्राहलय, कला केन्द्र, तालिम केन्द्र बनाउनेतिर कसैकाे ध्यान गएन। के यस्ता गतिविधिले हाम्रेा संस्कार र संस्कृतिकाे रक्षा हुन्छ त?
देशको अर्थतन्त्र दिनानुदिन बिग्रदो अवस्थामा छ। सहकारी ठगी र चर्को ब्याजदरले सास्ती दिएको छ। व्यवसायीक वातावरणमा स्थिरता छाएको छ। मजदूरहरुले काम पाउन छोडेका छन्, ऊर्जा संकट र लगातारको सुरक्षा चासोको डरले लगानी घट्दै गएको छ।
कि हाम्रो गणतन्त्र चमेरो र छेपारोको कथाजस्तो हो।
एकपटक एउटा चमेरो उड्दै गर्दा माथिबाट खस्यो। र, छेपारोको पञ्जामा पर्यो। उसले छेपारोसँग ज्यानको भिख माग्यो।
छेपारोले भन्यो, ‘म त चरादेखि घिनाउँछु। म तलाई छोड्दिनँ।’
चमेरोले भन्यो, ‘म त मुसो हुँ, कहाँ चमेरो हुँ र?’
अनि, त्यो छुट्यो।
केही समयपछि त्यो चमेरो फेरि भुइँमा खस्यो। र, अर्को छेपारोको पञ्जामा पर्याे। त्यसले त्यो छेपारोसँग ज्यान नलिइदिन बिन्ती गर्यो। त्यो छेपारोले म मुसोलाई देखिसहन्न भन्यो चमेरोले आफू मुसो नभई चमेरो भएको तर्क गर्याे। र, दोस्रोपटक पनि छुटकारा पायो।
यसरी त्यो चमेरोले आफ्नो नाम फेरेर दुईपटक आफ्नो ज्यान बचायो।
चमेरोको चरीत्रजस्तै हाम्रो गणतन्त्रको भाष्य स्थापित नहोस्, गणतन्त्र दिवसकाे हार्दिक शुभकामना!