एकताका भारतीय डाँकाले बरडंगा कल्याणपुरवाशीलाई बाह्रै महिना दुःख दिने गर्थे। रतुवामाई–१ कल्याणपुर क्षेत्रका बासिन्दालाई त्यसबेला के गर्ने भनेर दुविद्धा थियो। त्यतिकैमा स्थानीयले उपाय निकाले, चोर–डाँका रुङ्न टुङ घर निर्माण गर्ने। २०२६ सालमा तत्कालीन स्थानीय प्रशासनको सहयोगमा काठको टुङघर निर्माण भयाे।
सोही टुङ घरमा चढेर परैबाट डाँका आएको नआएको स्थानीयले हेर्ने गर्थे। आएको देखे सचेत भएर पूर्वतयारी गरेर बस्थे। भारतीय डाँकाहरुले गाईबस्तु अन्नवाली लगायत जे भेट्यो त्यहि खोसेर लग्थे।
विसं २०६० मा कल्याणपुर–आमबारी–उर्लाबारी सडकको स्तरोन्नति गर्ने क्रममा काठको टुङ घर सडक विभागले भत्काई दियो। गाउँको पहिचान रहेको टुङ घर भत्किएपछि गाउँका युवा दुःखी भए। उनीहरुको मनले मानेन्। त्यतिबेलै वैदेशिक रोजगारीमा गएका युवाको सहयोगमा स्थानीयवासीले कङ्क्रिटको टुङ घर निर्माण गरे। अनि गाउँको पहिचान जोगाए। १० तले टुङ घरले यतिबेला गाउँको पर्यटन प्रवद्र्धन गरिहेको छ।
टुङ घर चढेर वरपरको दृश्य अवलोकन गर्ने र तस्बिर खिच्न आन्तरिक पर्यटक आउन गर्छन्। कङ्क्रिटको टुङघर त्यस क्षेत्रको आकर्षणको केन्द्र बनेको छ। यतिबेला कोरोना कहरका कारण मानिसहरुको चहल पहल छैन्, तर यसअघि सोही क्षेत्रमा दैनिक सय भन्दा बढी आन्तरिक पर्यटक आउने गरेका थिए।
निर्माण समितिका सचिव राजेन्द्र बराल भन्छन्–‘टुङघरले मोरङका लारिकट्टा, कर्सिया, सिङ्गारी, सौंठा, कल्याणपुर लगायतका गाउँलाई लक्षित गरेर पर्यटक तान्नेछ। सचिव बरालले भने, ‘कल्याणपुरलाई माया गर्ने चन्दादाता र सहयोगीबाट प्राप्त झन्डै १५ लाख रुपैयाँले टुङघर निर्माण गरेका हौँ।’
वैदेशिक रोजगारमा गएका युवाले प्राप्त चन्दा सहयोगबाट सिँढी र छानो लगाउने व्यवस्था गरिएको बरालले बताए।
हाल कल्याणपुरवासीले सो टुङ घरलाई पर्यटन प्रवर्धन केन्द्रका रुपमा विकास गर्दै लाने बताएका छन्। स्थानीयवासी चेतन कोइरालाका अनुसार कल्याणपुर पर्यटकीय सम्भावना बोकेको ठाउँ हो। त्यसैले सो टुङघरलाई पर्यटक तान्ने आधारका रुपमा विकसित गर्दै लगेको कोइरालाको भनाइ छ।