प्रतिनिधिसभा विघटनपछिको राजनीतिक घटनाक्रमका बारेमा छलफल गर्न नयाँ बानेश्वरमा बसेको विपक्षी गठबन्धनको बैठकले प्रतिनिधि सभा विघटनविरूद्ध सडक र अदालत दुबै मोर्चाबाट लडाइँ लड्ने निर्णय गरेका छन्।
नेपाली कांग्रेस, माओवादीकेन्द्र, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र–बाबुराम समूह र राष्ट्रिय जनमोर्चाका नेताहरूले संयुक्त वक्तव्य जारी गर्दै राष्ट्रपतिको शुक्रबार रातिको कदम असंवैधानिक, अलोकतान्त्रिक, प्रतिगामी र अनैतिक भएको निष्कर्ष निकाल्दै प्रतिरोधका लागि आह्वान गरेको छ।
विपक्षी गठवन्धनको बैठकपछि प्रचण्डले भने,‘यो कदम असंवैधानिक मात्र होइन, निरंकुश, स्वैच्छाचारी र प्रतिगमनकारी छ। यो प्रतिगमनकारी कदमका विरुद्ध हिजो १४९ जनाले दावी प्रस्तुत गरेका थियौं, उहाँहरु सबैको हस्ताक्षरसहित सर्वाेच्च जान्छौं। अदालतले लोकतन्त्रको पक्षमा निर्णय गर्नेछ भन्ने हामीलाई विश्वास छ। ’