देश बनाउन मन चाहिन्छ (भिडियोसहित)

हेमन्त विवश

काठमाडौँ

पश्चिम नेपालको दाङ सतपरिया गाउँमा जन्मेको एउटा बालक।

जब बोर्डिङ स्कुलमा भर्ना भए, तब त्यहाँ रटाइएका अङ्ग्रेजी शब्द घरमा सुनाउन थाले।

खेती किसानी गर्ने सामान्य परिवार। उहिले गाउँघरतिर छोराछोरीलाई बोर्डिङमा पढाउनु ठूलै कर्म ठानिन्थ्यो। बुवा देवबहादुर खड्का दङ्ग परेर दुई–चार जना बसेको ठाउँमा छोरालाई बोलाएर भन्न थाल्थे, ‘कति कक्षामा पढ्छस रे, उहाँहरूलाई भनिदे त ?’ 

ती बालकले उत्तर दिन्थे –‘स्ट्यान्डर्ड वान।’

‘यो त खै के हो, अर्कै क्लासमा पो पढ्छ !’ भन्दै बुवाले पुनः प्रश्न तेस्याउँथे, ‘के खान्छस् रे ?’

बालक फूर्तिका साथ सुनाउँथे, ‘ब्रेकफास्ट !’ 

यी कुराहरू थाहा थिएन– बुवा देवबहादुरलाई। फेरि पनि बुवाको मुहारमा खुशीका धर्साहरू देखिन्थे। १० वर्ष घर छोडेर होस्टेलको जिन्दगी बिताई छोराले एसएलसी उत्तीर्ण गरेपछि बुवा निकै खुशी भए।



तमीलाई त किताब मात्र देखाया हुँ, हजुर !

खप्तडका पाटनभन्दा कयौँ गुणा ठूला छन् दुःखका पाटनहरू



त्यतिखेर बुवाको प्रश्नको उत्तर दिने ती बालक थिए– शोभानसिंह खड्का। उनी आज जापानको इष्टब्रीज कम्पनीको डेपुटी जनरल छन्। तर, दाङको त्यो घरमा आज छोरोले पढिदिए हुन्थ्यो भन्ने सपना बोकेका बुवाका प्रश्न नै सुनिदैनन्।

बुवा देवबहादुरले छोडिसके धर्ती। त्यहाँ छ त हरपल आँखामा देखिने गाउँको पुरानो तस्विर छ। मनमा बास बस्न आउने विगतको याद छ। अनि माया गर्ने आमा र उनै माइला दाजुको परिवार छ।

हरेक मान्छेको आ–आफ्नैखाले विगत हुन्छ। विगतको याद नआउने शायद् कोही हुँदैन होला। निकै प्रिय बनिदिन्छन्– विगतका ती दिनहरू। विगत वर्तमानको आधार पनि त हो। जसलाई सम्झेर, जसबाट शिक्षा लिएर मान्छे अघि बढ्छ।

समय, दुःख, संघर्षजस्ता कुराहरू बुझ्ने मौका पाउँछ तर विगतका केही घटनाहरू यस्ता हुन्छन् जसको प्रसङ्ग आउनासाथ आँखा रसाइदिन्छन्। शोभानसिंहको लागि त्यस्तो निकै पीडादायी घटना थियो– जेठा दाइ कुमानसिंको २९ वर्षको उमेरमा भएको दुखद मृत्यु।

शोभानसिंह आइएस्सी पढ्दै थिए। घर–परिवारमा पढेलेखेका, गाउँ समाजमा चिनिएका थिए कुमानसिंह। जो काँग्रेस समर्थक भएर राजनीतिमा पनि सक्रिय थिए। गाउँघरतिर रातमा माओवादीको त्रास दिनमा सेनाको त्रास उस्तै थियो। एकाएक जब उनले संसार त्यागे तब परिवारमा छाउने नै भयो दुःखको कुहिरोले। आमाबुवालाई सम्झाउन सक्ने क्षमता थिएन उनमा। एकातिर पढाइलाई निरन्तरता दिनु पर्ने थियो।

अर्कोतिर घरको चिन्ता। यही कारणले आई एस्सीमा सोचेजस्तो नम्बर ल्याउन सकेनन्। आई एस्सी उत्तीर्ण गरेपछि उनले पोखरा विश्वविद्यालयमा नाम निकाली इन्जिनियरिङ पढ्न थाले।

२०६० सालमा इन्जिनियरिङ उत्तीर्ण गरेपछि नेपालमा कतै काम पाएनन्। माओवादी द्वन्द्व चर्किसकेको थियो। ती दिन सम्झिदै उनी सुनाउँछन् –‘बुवाले घरमा नआइजा भन्नु हुन्थ्यो। माइलदाइ पनि खेतीपाती गर्ने। घरमा कमाइ कसैको थिएन। आमाबुवालाई महिनामा आठ दश हजार त खर्च पठाउन सकुँला भन्ने सोचेर विदेशको सपना देख्न थालेँ। सपनाका देशभित्र पर्थे अमेरिका, अष्टेलिया र जर्मनी। सँगसँगै जापानको लागि पनि ‘एप्लाइ’ गरेको थिएँ। जापानकै भीसा लाग्यो तर घरमा बुवासँग नगदको नाममा १० हजार रुपैयाँसम्म पनि थिएन। अनि घरमा भएको सुन बेचेर, केही ऋण सापट गरी पढ्नलाई जापान पुगियो।’



सम्राटले के जान्दथे विसुँको महत्व 

दुई महिना कसरी काँटू ?



तोकिएको समय काम गरेर पढाइ अगाडि बढाए उनले। ‘मास्टर्स’ पढ्दै गर्दा आजभन्दा ११ वर्षअघि बीचमा एकाएक नेपाल आएका खड्का पुगे– पुनः पोखरा। जहाँ भित्री मनले रोजेको मान्छेको बसाइ थियो। मनले रोजेको त्यो अनुहार थियो तिनै लक्ष्मी पौडेलको। जो अहिले जीवन साथी बनेकी छन्।

वातावरण विज्ञानमा स्नातक गरेकी लक्ष्मी पढाइमा निकै जेहेनदार थिइन। पोखरामा पढ्नेताका लक्ष्मीका बुवाको घर छेउमै थियो शोभानको डेरा। पल्लो घरको झ्यालबाट चियाउँथे बेलाबखत उनी। त्यतिखेरै मन पराइसकेका थिए दुबैले एकअर्कालाई। उपाध्याय बाहुनकी छोरी सामाजिक मान्यता अनुसार जात मिल्दैन थियो।

खड्का सानैदेखि जातभात भन्ने कुराको पर्वाह गर्दैन थिए। यसमानेमा लक्ष्मीका आमाबुवा पनि उदार नै देखिए। छोरी जुवाइ दुवैलाई टीका लागाई आशीर्वाद दिई सजिलैसँग पठाइदिए।

शोभानसिं दुलही ल्याएर त आए तर उनले ब्रतवन्ध नै गरेका थिएनन्। बुटवल पुगेर सिउँदोमा सिन्दूर हाल्न भनी मन्दिरमा पुग्दा पुजारीले सोधेछन् – ‘ब्रतवन्ध गरेको छ कि छैन ?’

शोभानसिंले उत्तर दिएछन्, ‘छैन।’

अनि पुजारीले भनेछन्, ‘बिहे भन्दा महत्वपूर्ण त ब्रतवन्ध पो हो। ब्रतवन्ध नै नगरी बिहे ?’ अनि गरे उनले ब्रतवन्ध। त्यसपछि त्यसैदिन दिउँसो मन्दिरमै लक्ष्मीको सिउँदोमा सिन्दूर हालेर बाँधिए वैवाहिक जीवनमा। अहिले सात वर्षकी छोरी सारासहित तीनै जना जापानमा बसोवास गरिरहेका छन्।

उनले इष्टब्रीज कम्पनी मार्फत् इष्ट एशियाका राष्ट्रबाट जापान आउने विदेशीका लागि मोवायल, इन्टरनेट, अपार्टमेन्टजस्ता चाहिने सबै सेवा उपलब्ध गराइरहेका छन्। अधिकांश नेपाली विद्यार्थीहरू उनी कार्यरत कम्पनीबाटै सेवा लिइरहेका छन्। उक्त कम्पनीका लगानीकर्ता साइतो सोची सुरुमा रिक्युट भन्ने कम्पनीमा काम गर्थे। तिनै सोचीले जापान राम्रो बनाउने हो भने एसियासँग ‘कनेक्ट’ गर्नुपर्छ भन्ने सोचले इष्टब्रीज कम्पनी खोले।



पहिलो डेउडा गायक

बाबा भन्ने शब्द सुन्नु नपरे हुन्थ्यो ठान्छु



मास्टर्स गरिसकेपछि खड्काले केही समय अनुसन्धानको काम गरे। सुरुमा इष्टब्रीजमा इन्जिनियरका रुपमा नियुक्ति पाएका उनले केही समयमै मार्केटिङमा काम गर्नुपर्‍याे। उनले कम्पनीमा प्रवेश गरिसकेपछि एकाएक सेल्स बढ्यो। 

अहिले उनी उक्त कम्पनीमा डेपुटी जनरल छन्। हाल उक्त कम्पनीमा दश जना नेपालीलगायत ५० जना पूर्णकालीन कर्मचारी कार्यरत छन्। करिब डेढ घण्टाको बसाइमा कम्पनीका बारेमा कुरा गर्दा उनको मुखबाट म भन्ने शब्द कुनै बेला पनि सुनिएन। हरेकपल्ट हामी भनिरहे। टीमवर्कलाई नै महत्व दिइरहे। लगनशिलता, इमानदारिता र टीमवर्कले नै हरेक क्षेत्रको विकास हुने कुरा सुनाइरहे उनी।

नेपालको कुरा गर्दा उनले सुनाएका थिए, ‘जापानमा हायर गरेपछि नेपालको जसरी सजिलै ‘फायर’ गर्दैनन्। इमान्दार भएर काम गर्ने हो। उसमाथि कम्पनीले तालिमलगायत ठूलो लगानी लगाएको हुन्छ। जापानमा कम्पनीको पैसा कम्पनीमै खर्च गर्नुपर्ने हुन्छ। लगानीकर्ताले पनि कम्पनीको पैसा व्यक्तिगत खर्च गर्न पाउँदैन।

नेपालमा व्यक्तिले डिल गरेको हुन्छ भने जापानमा कम्पनीले नै कामको डिल गरिरहेको हुन्छ। यसैक्रममा कुनै दिन एउटा जापनिजले भनेको कुरा सम्झे उनले– ‘मालिक आफू राजाझैं बस्याछ तल श्रमिकहरू मरिरहेका छन् भने त्यो कसरी मनले मान्छ। त्यो कुरा फिल हुनु पर्‍यो नि।’

नेपालमा क्षमतावान मान्छे अगाडी आउन पाउँदैन। देश बनाउने नीति, कम्पनी र सोचले पनि हो। जापानमा नेपालीले बहुत मेहनत गरिरहेका छन्। हरेक अफिसमा नेपालीले हेरिराछन्। जिम्मेवारी पाएका छन्।’

केही समय अघि नेपाल आएका खड्का कामको दौडधूपमै देखिन्थे। पछिल्लो समय नेपालमा कसरी जागिरको सिर्जना(जब क्रियट) गर्न सकिन्छ भन्ने योजनामा छन्, उनी। काठमाडौंमा सानो ठाउँ लिएर प्रमोसनको कामको सुरुवात गरिसकेका छन्। जहाँ १० जनाले काम गरिरहेका छन् भने नेपालमा हेर्ने जिम्मेवारी लिएका छन् वीरेन्द्र पाण्डेले।

भेटघाटका  क्रममा उनले सुनाएका थिए – ‘धेरैले आफूले खोजेको जागिर पाएका छैनन्। जागीर भनेको पैसा कमाउनु मात्र हैन। जागिर अध्ययन गर्ने ठाउँ पनि हो। मार्केटिङ,टाइम सेडिउल जस्ता कुरा सिकिन्छ। जहाँ सोच विचार परिवर्तन हुन्छ। मान्छेले जीवनमा समय र स्पेस प्रयोग गर्न सक्नु पर्छ। प्रोडक्सनमा खर्च गर्न सक्दैनौ भने सिस्टममा लगानी गरेर इकोनमिक भ्यालुज गर्न सक्छौं। जब क्रियट गर्न सक्छौं।’



हराउँदै गए पुराना पहिरनहरु 

डेउडा भाषा कसो हुन्छ र, गोसाई ?



जापानमै बसेर पनि नेपालीलाई सेवा दिइरहेका उनलाई नेपालमै गएर खटिन पाए हुन्थ्यो लाग्छ। जापानमा पनि नेपालीले नै जागिर दिएको ठान्छन् उनी। उनका अनुसार जापानको व्यवस्थापन राम्रो भएकै कारण प्रविधि पनि राम्रो भएको हो। उनीहरू समयको पालना गर्ने क्रममा सचेत छन्।

क्वालिटिमा सम्झौता गर्दैनन्। दिनको आधि घन्टा मात्रै भए पनि अध्ययन गर्छन्। मेरो ठाउँबाट मैले के गर्न सक्छु भन्ने सोच्नु नै त्यो महत्वपूर्ण पार्ट हो। त्यसैले छोराछोरीलाई संस्कार सिकाउनु जरुरी देख्छन् उनी र त सुनाउछन् – जापानमा धनी र गरिबको बच्चा भन्ने हुँदैन।

एउटै उमेरबाट विद्यालय प्रवेश गर्छन्। एउटै खाले झोला बोक्छन्। हेर्‍यासमेन्ट आउने ठाउँ नै हुँदैन। नेपालमा पनि नियम त छ तर नियमको पालना भएको पाइदैन।

खड्काका अनुसार जापान गएको मान्छे फर्किनु नै पर्छ। त्यहाँको पोलिसी नै त्यस्तो छ।त्यो उसैले बनाएको देश हो। उसले बाहिरबाट काम गर्ने मान्छे लग्छ काम गराउछ अनि फिर्ता पठाउँछ। पैसा कमाउन नेपाल जस्तो ठाउँ कतै देख्दैनन् उनी।

त्यसैले त भन्छन् – ‘बाहिरबाट सिकेको ज्ञान नेपालमा एप्लाइ गर्नु पर्छ। देश बनाउन मन चाहिन्छ। अहिलेका भाइबैनीहरूलाई जागिर दिएर व्यस्त तुल्याउन सक्यो भने नयाँनयाँ सिर्जनात्मक कार्यमा हात हाल्न सक्छन्। हामीले आइटीको क्षेत्रमा धेरै काम गर्न सक्छौं। इन्टरनेट राम्रो भयो भने संसारको सबै काम गर्न सक्छौं। हामी आफ्नो जिम्मेवारीबाट भागेर अन्यत्र गइरहेका छौं।’

खड्का हाल जापानमा आफ्नो जिम्माको काम नसिद्धिदा दिनरात अठार घण्टासम्म पनि खट्छन्। कानुनले दिएको बिहान दश बजेदेखि साँझ सात बजेसम्म हो उनको ड्युटी।

त्यतिबेला सोच्छन्– यसरी आफ्नै देशमा खट्न पाए, देश हाक्नेहरूले नीति कार्यान्वयनका पक्षमा जोड दिएका भए, समयको महत्व बुझेर सबैले इमान्दारीपूर्वक आ–आफ्नो क्षेत्रमा काम गरिदिएका भए किन बन्दैन थियो होला र देश? 



‘कुवेरको राजधानी’ सम्मको त्यो यात्रा

नौ कक्षा पुगेपछि चप्पल लगाउन पाएँ

प्रकाशित मिति: : 2021-05-12 16:41:00

प्रतिकृया दिनुहोस्