नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शुक्रबार विहानसम्म कुनै सहमति नभएको बताएका छन्।
सामाजिक सञ्जालमार्फत् नेता नेपालले सहमतिबारे कुनै किसिमको भ्रममा नपर्न र नअल्मलिन आफू पक्षीय नेता–कार्यकर्तालाई आग्रह गरेका हुन्। उनी लेख्छन्, 'हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो।'
अध्यक्ष ओलीकाे एकल अगुवाईमा गत फागुन– २८ तत्पश्चातका बैठकहरुले गरेका निर्णयहरू फिर्ता लिनुपर्ने उनको माग छ। आफूहरू सुदृढ र एकतावद्ध एमालेका लागि सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने नेता नेपालले बताएका छन्।
नेता नेपाल लेख्छन्ः
हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो। यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन। २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो। यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।