कर्णालीमा संयमता खाेई ?

काेराेनाकाे दाेस्राे लहरले कर्णाली 'सेफ ग्रिन जाेन' हुन दिएन।

पहिलाे लहरमा कर्णालीमा सुरुमै समस्या आएकाे थिएन। यसपालि नेपालगन्जमा भयावह स्थिति छ।

प्रदेश फरक भएपनि नेपालगन्ज कर्णालीकाे प्रमुख नाका हाे। यसपालि जुम्लामा पहिलाे पटक काेराेना संक्रमित देखिएका व्यक्ति नेपालगन्ज (बाँके)बाटै आएकाे हुन्। त्यसमाथि नेपालगन्ज कर्णालीको ओटालाे(आँगन) हाे। जसले खतराको घण्टी बजाइरहेकाे छ।

'देश पशुपतिनाथले बचाएका छन्, कर्णाली चन्दननाथले। यी हुन्जेल हामीलाई केही हुँदैन। घरका गन्य मान्ने दाइना छन्। मानो चामल र मुठो ध्वजा चढाइएकै छ। ताल परेसम्म ठाउँठाउँमा खसी बोका ढालिएकै छन्। यत्ति भएपछि कोरोना त के, त्याे भन्दा खतरनाक भाइरस आए पनि केही हुँदैन' भन्नेहरु पनि छन्।

अघिल्लो वर्ष यस्तै घटना हामीले भाेग्याैं। एउटा हल्ला तुफानी बेगमा फैलियो- 'हरेकका घर अगाडि अलि कष्ट गरेर खन्दा त्यहाँ कोइला भेटिन्छ। त्यो देउताले पठाएका हुन्छन्। त्यसलाई मसिनो गरी पिसेर, तेलमा मिसेर टिको लगायो भने कोरोना लाग्दैन।'



काेराेनाकालमा प्राथनाः  कसैको आँखाबाट आँसु नखसून् 



तत्काल फेसबुकका भित्ता रंगिए। बुझ्दै जाँदा यो देउताका धामीले फैलाएका थिएनन्। कुनै असती पालीले(भक्तले) देउताको नाम लिएर फैलाइदिएको थियो। त्यसपछि आँगनमा खन्नेको संख्या एकाएक बढ्यो। सानो अपुष्ट घटनाको आधारमा घटेको ऋतिक रोशन काण्ड जस्तै फैलियाे, याे पनि।

यसले ध्वंस नगरे पनि मानसिकतामा नराम्ररी हमला भने गरेकै हाे।

'काेराेना भाइरस प्रभु यशुले खत्तम गर्छन्' भनेर इसाईको पादरीले नै भने। पाेखराकाे एउटा चर्चका पास्टर (जुम्ला सिंजा थारिबाडाका) केशरराज आचार्यले प्रभु यशुको नाममा कोरोना भाइरसलाई गाली गर्दै निष्कृय पार्ने पर्यत्न गरे। 'प्रभु यशुको नाममा तँ मरिजा। प्रभु यशुको नाममा तेरो नास होस्। ए... !! कोरोना तँ भागिजा,' उनले यसो भनेको भिडियो सामाजिक सञ्जालमा भाइरलसमेत भएकाे थियाे। 

त्यहीँ बेला प्रधानमन्त्री ओली भाइरसको नयाँ परिभाषा दिइरहेको थिए। उनी भन्दै थिए, 'भाइरस निर्जीव हो। यसमा भएको बोसीय तत्त्वलाई निष्कृय पार्न तातोपानी खाने। तापाेपानीले हात, मुख धुने। तातोपानीले उपद्रो मच्चाउने भाइरसकाे बाेसीय तत्त्व पग्लिन्छ र त्यसले उपद्राे मच्चाउन पाउँदैन।'

अहिले ओली सत्ता बचाउन लागिरहेका छन्। सत्ताकाे कुकुर झगडा कर्णालीबाट सुरु भएर देशभर फैलिरहेकाे छ। यसले पनि अघिल्लो वर्षजस्ताे हल्का तयारीसम्म पनि गर्न दिएकाे छैन।



लकडाउनको सार्थकता



कुनै फकिरले देउताको नाममा फैलाएको हल्ला, केशरले प्रभु यशुको नाममा कोरोनालाई निष्किृय पार्नु, आम मान्छे पुशुपतिनाथ र चन्दननाथका भर पर्नु तथा ओलीको 'भाइरसबारेकाे परिभाषा' र उनले सुझाउने उपाय उस्तै उस्तै त हुन् ! जसरी हात्ती र हात्ती छाप एकै हुन्।

उता भारतका मोदी पनि उस्तै स्वइक्षाचारी हुन्। उनका सबैजसो निर्णयहरु विज्ञका सल्लाहभन्दा पनि आफ्नै काल्पनिक धारणाहरूमा आधारित थिए। ३ अप्रिल २०२० मा उनले टेलिभिजनमार्फत् नागरिकहरूलाई बत्ती निभाउन, दियो बाल्न र थाल ठटाउन आह्वान गरेका थिए।

२५ मार्चमा उनले महाभारत युद्ध १८ दिनमा सकिएजस्तै कोरोनाभाइरस नामको शैतानलाई पराजित गर्न जम्मा २१ दिन लाग्ने बताएका थिए। 'जा, कोरोना जा' भन्ने गीत 'कोरोना भाइरस भुत' लखेट्ने 'मन्त्र' बन्यो।

भारतकाे अवस्था अहिले वर्णन गरिसाध्य छैन। शब्दमा व्यक्त गर्न नसकिने संकट भाेगिरहेकाे छ। २६ अप्रिलसम्म अक्सिजन र अन्य स्वास्थ्य सामग्रीको अभावकै कारण १ लाख ९८ हजार जनाले ज्यान गुमाउनु परेकाे तथ्यांक छ।

ओली महाराजकाे सरकारले जनतालाई राेजगारी दिन नसकेपछि संकटमा पनि राेजगारी खाेज्न भारत जाने कर्णालीका भिरपाखाका मान्छे फेरि फर्कदैछन्।



भर्खर उठ्न थालेको पर्यटन क्षेत्र फेरि थला पर्दै 



'चाइका भाँडाे, अचाइका ठाँडाे'(परिस्थिति अनुकुल हुन्जेल ठिक नभए बेठीक) बनाउनेले काम नदिएपछि धमाधम घर फर्केका कामदारहरुबाटै संक्रमणकाे खतरा त छ नै, त्यसमाथि कर्णाली अर्काे नेपालगन्ज बन्ने सम्भावना बड्दैछ। सुर्खेतकाे स्थिति पनि खतरामुक्त छैन।

के कर्णाली साँच्चै बाबा चन्दननाथ, धामी, भगवान, भाग्य वा अरु यस्तै शक्तिका कारणले कोभिड –१९ बाट बच्न सक्ला त? सिधा उत्तर हाे, सक्दैन।

जबसम्म कर्णालीमा संक्रमित व्यक्ति बाहिरबाट आएको छैन, तबसम्म संक्रमणको डर हुँदैन। तर कर्णालीमा बाहिरबाट आउनेको संख्या अन्य प्रदेशको तुलनामा धेरै छ। हालसम्म तीनै तहका सरकारले भारत तथा तेस्रो मुलुकबाट भित्रनेको संख्या यकिन गर्न सकेका छैनन्। सिमानामा कुनै चेकजाँचकाे बन्दाेबस्त छैन। अघिल्लो वर्षजस्ताे नाकामा 'हेल्थ डेक्स' सम्म राखिएको छैन।

भारतमा व्यापार वा कामको सिलसिलामा जाने कर्णालीबासीको संख्या अन्य प्रदेशको तुलनामा बढी छ। कोरोनाको दाेस्राे लहरमा कर्णाली भित्रनेको संख्या बढी हुँदा हामी 'हाई रिक्स जोन'मा छाैं। 

कर्णालीमा भित्रिएका कहाँ छन् भनेर यकिन गर्न नसकेका हाम्रा तीनै तहका सरकारले नागरिकको स्वास्थ्य परिक्षण गर्ने र सबैलाई क्वारेन्टाइनमा राख्ने तथा संक्रमणबाट जाेगाउन उपाय साेचिसकेका छैनन्। त्यसमाथि कर्णाली प्रदेश सरकार नै समग्र देशलाई राजनीतिक किचलाे सिकाउन लागिरहेकाे छ भन्दा फरक पर्दैन।

यसपालि स्थानीय तहले क्वारेन्टाइन बनाएका छैनन्। स्थानीय तहको अव्यवस्थापनमा प्रदेशका नेता तथा मन्त्रीहरु भाडभैलाे गरिरहेका छन्। हेलचेक्राइ गर्दाको परिणाम कति भयानक हुन्छ भन्ने उदाहरण भारत हाे। नेपालगन्ज हाे। यति हुँदा पनि सत्तामा रहनेहरु कानमा तेला हालेर बसेका छन्।



बेपर्वाह काेराेना: हाटबजारमा भीडभाड उस्तै



अब भएका अस्पतालहरुमा आवश्यक सामग्रीको सिघ्र उपलब्धता जरुरी छ। धेरैजसो स्थानीय तहमा काेभिड अस्पताल बनेका छन्। तर त्यहाँ स्वास्थ्यकर्मीकाे उपलब्धता छैन। तत्काल आवश्यक जनशक्ति उपलब्ध गराउनु जरुरी छ।

कर्णालीले सवा एक दशकको अवधिमा प्लेग, बिफर, हैजा, झाडापखाला, रुघाखोकी, ठेउला र ज्वरोको महामारीको इतिहासमा कोभिड– १९ अलग हो भने जटिल पनि उत्तिकै छ। त्यसैले भावना र भगवानले होइन विवेकले काम गर्न सके बचिने हो।

कर्णाली दाेस्राे नेपालगन्ज नबन्ला भन्न सकिदैन। त्यसैले भाग्यको खोजीभन्दा बढी संयमता अपनाउन सकेकाे खण्डमा बेलायती माहारानीले भनेझैं, 'हामी फेरी भेट्नेछौं।' नत्र अर्काे जुनी त के, चाैरासी हजार जुनीमा पनि हाम्राे भेट हुन्न। 



पिसिआर पोजिटिभ आए के गर्ने ?

प्रकाशित मिति: : 2021-04-30 16:14:00

प्रतिकृया दिनुहोस्

    Yes 100%right my charm teacher 🙏🙏🙏🙏😘😘😘😘

    • 2 बर्ष अगाडि
    • Evan giri