बेपर्वाह काेराेना: हाटबजारमा भीडभाड उस्तै

विजय साह

जनकपुर

तीब्र गतिमा फैलिरहेको दोस्रो चरणको कोरोना संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न सरकारले अनिवार्य मास्क प्रयोग गर्न, समाजिक दुरीको नियम पालना गर्न र एक ठाउँमा बढी भिडभाड नगर्न नियमहरू लगाएकाे छ।

तर धनुषा जिल्लामा लाग्ने साप्ताहिक हाटबजारमा भिडभाड भने उस्तै देखिएको छ।

सरकारले २५ जनाभन्दा बढी एक ठाउँमा भेला नहुन, अनावश्यक घर बाहिर ननिस्कन, सभागोष्ठी नगर्न, विद्यालय बन्द र बढी संक्रमित भेटिएको स्थानीय तह तथा जिल्लालाई निषेधाज्ञा गरेको छ। यसका बाबजुद पनि जिल्लाको सखुवा बजार, ढल्केवर, बडहरी, धारापानी, विरेन्द्रबजार, गोदार, धनुषाधाम, सबैलालगायत जनकपुरमै लाग्ने साप्ताहिक बजारमा एकसाथ सयौंदेखि हजारौंको संख्यामा मानिसको भिडभाड लागेकाे छ।



पिसिआर पोजिटिभ आए के गर्ने ?



यसरी हाटबजारमा लाग्ने भीड नियन्त्रण तथा व्यवस्थित गर्न न त स्थानीय सरकारले कुनै ठोस पहल थालेको छ, न त प्रहरी प्रशासनले नै। 

बुधबार हरियो तरकारी तथा फलफुल बजारको रुपमा चिनिएको ढल्केवर हटियामा एक साथ हजारौं मानिस खरिद बिक्रीमा सामेल भएका थिए।

यस्तै आज (बिहिबार) मिथिला नगरपालिका वडा नम्बर ९ बडहरीमा लागेको साप्ताहिक बजारमा हजारौं मानिसकाे उपस्थिति छ। बजार भर्न आएकाहरु मध्ये कतिपयले मास्क नै लगाएका छैनन्। न त समाजिक दुरीको नियमको पालना नै गरेकाे पाइन्छ।

बजार भर्न आएका श्याम यादवले भने, 'सहज परिस्थिति हुँदा जस्तो भिडभाड थियो अहिले तीब्र गतिमा कारोना भाइरस संक्रमण फैलिरहेको अवस्थामा पनि बजारमा भिडभाडको अवस्था उस्तै छ।'



भारतमा नेपालीको बिजोग: 'दुःख पर्दा नहेर्ने दूतावासको के काम ?'



हटियामा लाग्ने भिडका कारण तीब्र गतिमा फैलिरहेको दोस्रो चरणको कोरोना संक्रमणले भयावहस्थित उत्पन्न नगर्ला भन्न सकिन्न। हाटबजारमा लाग्ने भिडभाडलाई नियन्त्रण र व्यवस्थित तुल्याउन स्थानीय सरकार र प्रहरी प्रशासनले तदारुकता देखाउनुपर्ने आवश्यकता देखिएको यादवको भनाई छ।

कोरोना जोखिम न्यूनिकरणका लागि स्थानीय सरकारले हाटबजारलाई बन्द गराउनेतर्फ ध्यान नदिँदा ठूलो भिडभाड हुने गरेको हाे।


 

प्रकाशित मिति: : 2021-04-29 13:49:00

प्रतिकृया दिनुहोस्