भारतमा रोजगारीका लागि आएका नेपालीहरू कोरोनाकाे कारण ठूलो समस्या परेका छन्।
करिब ४० लाख हाराहारीमा भारतका विभिन्न शहरमा बसोबास गरिरहेको अनुमान गरिएका नेपाली नागरिकको दैनिकीमा काेराेनाले तहसनहस पारेको छ।
केही नागरिकहरू दुःखद् यात्राका साथ स्वदेश फर्किए पनि लाखौँको बसाइ चिन्ताजनक र असुरक्षित छ। यहाँ कोरोना संक्रमणबाट मर्नेकाे संख्या दिन प्रतिदिन बढ्दै गएपछि त्रासले स्वदेश फर्किन चाहने नेपालीहरूको ठूलो चाप देखिन्छ।
संक्रमण बढ्ने डर र मृत्युु हुनेकाे संख्या अहिलेसम्म पनि कायमै छ। कतिपय नेपालीले त यात्राकै क्रममा ज्यानसमेत गुमाउनुपरेकाे छ।
भारतमा बसेर काम गर्ने नेपालीहरु स्वदेश फर्कन नपाएर दुखेसो पोखिरहेका छन्। यस्ताे अवस्थामा नेपाली दूतावासले सहयाेग गर्नुपर्ने हाे, दूतावास भने माैन छ। चूपचाप छ।
नयाँ दिल्लीस्थित नेपाली दूतावासले रोजगारीको सिलसिलामा भारतमा रहेका नेपालीमाथि आइपर्ने समस्याको समाधानका लागि सहयोग गर्नुपर्ने हाे तर आफ्नो दायित्व र कर्तव्य निभाएको देखिँदैन।
भारतमा रहेको एक मात्र अभिभावक नेपाली दूतावाससमक्ष कयौँले हारगुहार गरे तर न राजदूतले नसुने, न त त्यहाँका कुनै कर्मचारीले चासो नै देखाए। सङ्कट पर्दा दूतावासको शरणमा परेकालाई राहत र उचित सल्लाह र सुझाव दिनुको सट्टा दूतावास कानमा तेल हालेर बसिरहेकाे छ।
भारतमा रहेका नेपाली नागरिकले मात्र नभएर यहाँ क्रियाशिल विभिन्न संघसंस्था र संगठनले पटकपटक आग्रह गर्दासमेत दूतावासले कसैकाे समस्या, दुःख र पीडा सुनेकाे छैन।
नेपालीमाथि आइपरेका समस्याबारे चुईक्क नबोल्ने र अफ्ठेरो परेको बेला कुनै चासो नदेखाउने दूतावासप्रति यहाँ रहेका नेपालीहरूले गुनासो गरेका छन्।
करन साउद (मुम्बई)
भारत पुनः कोराेनाको चपेटामा परेकाे छ। लाखौँ नेपालीहरूले रोजगारी गर्दै आएको थलाेमा हामी घर न घाटका भएका छाैँ। दोस्रो चरणको कोराेना महामारीले तीब्र छलाङ मारिरहेको छ।
काेराेनाका कारण पत्याउन नसकिने घटनाहरु घटिरहेका छन्। यहीँ परिस्थितिलाई मध्यनजर गर्दै भारत सरकारले अप्रिल २०२१ बाट फेरि सबै राज्यमा लकडाउन पनि लागू गरेकाे छ। हजाराैँ–हजार नेपालीहरू बिचल्लीमा परेका छन्। महामारीकाे त्रासले जाेखिम माेलेर स्वदेश फर्कने क्रम उस्तै छ। होटेल, कम्पनीलगायत अन्य क्षेत्रमा काम गर्दै जिविका चलाईरहेका नेपालीहरू स्वदेश फर्किसकेका छन्।
पहिलो चरणको कोराेना महामारीभन्दा यसपटककाे भाइरस निकै खतरानाक र जोखिमपूर्ण रहेको पछिल्ला दृश्यहरूले तथ्यगत रूपमा पुष्टि गरिसकेकाे छ। यसबीचमा थुप्रै नेपालीहरूले ज्यान गुमाइसकेका छन्। कयौँ संक्रमित भएर उपचार्थ छन्। भारतमा रहेका नेपालीमाथि समस्या नै समस्या छन्।
आफ्नै देशका नागिरकहरूकाे यस्ताे हालत हुँदासम्म नेपाली दूतावास कानमा तेल हालेर सुतिरहेको छ। आफ्नो कर्तव्य र कार्यप्रति गैरजिम्मेवार देखिएकाे छ।
हिमाल साउद (मुम्बई)
भारतमा बसाेबास गर्ने नेपालीहरू तनावमा बाँचिरहेका छन्। तर, सुन्ने काेहीँ छैन। जताततै काेराेना भयभन्दा अरू केही छैन। संकटकाे यस्ताे बेलामा दिल्लीमा रहेकाे नेपाली दूतावास केवल मुखदर्शक भएर बसेको छ। नेपालीहरूकाे पछिल्लाे अवस्थाबारे दूतावास चूपचाप छ। दूतावासले चाह्रयाे भने धेरै गर्न सक्छ, तर केहीँ गर्ने इच्छा नै राख्दैन। बस्, आफ्नै नागरिकहरूकाे दुख टुलुटुलु हेरिरहेकाे छ। काेराेनाबाट सुरक्षित रहन विभिन्न सचेतना कार्यक्रमहरू चलाउनु पर्नेमा त्यस तर्फ पनि दूतावासले कुनै ध्यान दिएकाे छैन।
संकटले थुप्रै देश भयभित अवस्थामा छन्। दुनियाँमा आफ्नो तागत देखाउँदै गर्दा जनसंख्याको आधारमा विश्वकै दाेस्रो ठूलो देश भारतमा हाहाकार मचिएकाे छ। कल–कारखाना बन्द छन्। यहाँ काम गर्ने नेपालीहरुलाई गास र बासकाे समस्या पर्न थालेकाे छ।
नेपालीहरूमा एउटै चाहना छ- जसरी पनि आफ्नो देशमा पुग्ने। मरे पनि आफ्नै जमिनमा मर्ने। तर, आर्थिक संकट उनीहरूकाे याेजनामा बाँधक बनिदियाे। सरकारसँग गुहार मागिरहेका छन्। आखिर गरिबको कुरा कसले सुन्छ र?
पहिलाे चरणमा त गाउँ फर्कनेलाई सरकारले सीमा ढाेकामा नै थुन्याे। सीमा पार गर्नै दिएन। धाै–धाै गाउँ पुग्दासमेत सरकारले नै अपमानकाे व्यवहार गर्याे। हामीलाइ चिन्ता छ, फेरि पनि ढाेका थुन्ने हाे की?
दिल्लीमा दूतावास छ, रे। तर, भारतमा बस्ने प्रवासीमा कहिल्यै अनुभूित भएन, नेपालीहरूकाे प्रतिनिधिमूलक संस्था हाे भन्ने। पछिल्लाे महामारीमा पनि देखिएकाे कुरा हाे। दूतावासलाई गुहार माग्दै छन्, नेपालीहरू। सम्पर्क गर्न भनी थुप्रै नम्बरहरु नेटमा राखेकाे छ। फाेन पटक्कै उठ्दैन।
निजि बस व्यवसायीले लुटतन्त्र मचाइरहदाँसमेत दिल्ली दूतावास रमिते बनेकाे छ। डबल भाडा असुली गरेर नेपाल पठाउने कामप्रति नेपाली दूतावासकाे माैन समर्थन देखिन्छ।
अहिलेसम्म दूतावासले जनताको जीवनरक्षाका लागि कुनै पहल गरेको छैन। आखिर दूतावास कसकाे ? भन्ने प्रश्न खडा भएकाे छ।
भुवन प्रसाद भट्ट (मुम्बई)
संक्रमण दैनिक बढिरहेको अवस्थामा भारतमा रहेका लाखौं नेपाली बिचलित भएका छन्। धेरै नेपालीहरू उपचार नभएर ज्यान गुमाउन बाध्य छन्। धेरैले ज्यान गुमाइ सकेका छन्, पनि।
पहिलो चरणको महामारीमा पनि लाखौं नेपालीहरुको अवस्था दर्दनाक थियो। आफ्नो देशमा कुनै रोजगारी नहुँदा दुई पैसा कमाउन र आफ्नो बालबच्चा पाल्न यहाँ आएका सयाैँ नेपाली भाेकभोकै मरेका छन्।
प्रवासमा सहयोग गर्ने आभिभावकको रुपमा राखिएकाे नेपाली राजदूतावाले समस्या परेका कुनैपनि नेपालीको सहयोग गर्दैन। र गरेको पनि छैन। दूतावाससँग गुहार लगाएको मेरो लामो अनुभव छ। तर दूतावासले प्रवासीको दु:खमा कहिल्यै साथ दिएन।
गतवर्ष समस्यामा परेका हजारौं नेपालीको लेखाजाेखा दूतावासलाई बुझाएका थियौ। दूतावासले कुनै सम्पर्क वास्ता गरेन। अहिलेको अवस्थामा हजारौं नेपाली उपचार नपाएर, अस्पताल भर्ना हुन नपाएर वा अक्सिजनको कमिले मरिरहेका छन्। तर राजदूतावास सुतिरहेको छ।
नागरिकलाई कुनै सचेत गराएको छैन। कुनै हेल्पलाइन नम्बर छाडेको छैन। नेपालीलाई दु:ख पर्दा राजदूतावासले कुनै वास्ता गर्दैन। संकटकाे बेला काम नलाग्ने दूतावासको भारतमा कुनै आवश्यकता छैन।
अर्जुन बिक (मुम्बई)
नेपालीमाथि फेरि ठुलो बज्रपात आएको छ। कोरोनाको त्रास बढिरहेको छ। कयौँ होटेलहरु बन्द भएका छन्। महलहरु बन्द छन्। कम्पनीहरु बन्द छन्। नेपालीको जीविका चलाउने राष्ट्रमध्य भारत पनि एक हो। तर यतिबेला भारत नै दु:खद घडीमा लडिरहेकाे छ।
धेरै जस्तो शहरमा लकडाउन लागेको छ। धेरै नेपालीहरु फेरी बेरोजगार भएर नेपाल फर्कने लर्को लागिरहेको छ। नेपालीहरू चाेक–चाेक र गल्ली–गल्लीमा रूदैँ हिडिरहँदा समेत चुपचाप छ– दुतावास। याे बेलामा दूतावासकाे सक्रियता नदेखिनु, दुःखद पक्ष हाेइन र?