न उनी साधु, न त कमजोर आर्थिक अवस्थाको व्यक्ति। तर पनि मोरङको बेलबारी–७ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँडिरहेका छन्।
बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त भएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ७० वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन्।
लीला सरको खुट्टामा खराउ परेको ४८ वर्ष भयो। किन खराउ लगाउनुभयो? भन्ने जिज्ञासामा उनी भन्छन्, २२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो।
२०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन। भारतसम्म पुग्ने आर्थिक हैसियत भएन। त्यसै बेला एक साधुले खराउ लगाउन सुझाव दिए।
त्यसै बेलादेखि खराउ लगाएको हुँ। उनका अनुसार उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो। गाउँमा इनेगिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे।
साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाए। सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ तयार भयो।
सुरुमा त अप्ठ्यारो भयो। तर, हर्नियाबाट मुक्त हुनु थियो, सुरुवाती दिन उनी भन्छन्, 'त्यसैले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै १९ महिना खराउ लगाएँ।
१९ महिनामा त हर्निया आफैँ हरायो।' त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन रे। उनी भन्छन्, 'मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो।'
युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उनको भनाइ छ। 'अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफैँ बनाएर लगाउँछु', उनले भने।
अब त उनको नाम नै खराउ सर भइसकेको छ। सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन्। 'जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु', उनले हाँस्दै भने, 'मेरो फाइदाका लागि।'
सुगर, प्रेसर, हाईड्रोसिलजस्ता रोगको खराउ चप्पलले धुलो काढ्दो रहेछ’, चौधरीले भने, अहिले सबै बजारकै भर पर्छन्। अनि ४० बर्ष नपुग्दै विभिन्न रोगले भेट्छ। रोग लागे घरायसी औषधि र खेतबारीको जडीबुटी खाँदा नै रोग निको हुन्थ्यो।’
आफूले नीम जातको काठको खराउ लगाउने गरेकोे उनले सुनाए। एक जोर चप्पल ९ महिना टिक्ने पनि उनको अनुभव छ।
खराउ लगाएरै सबैतिर आफू जाने गरेको चौधरीले सुनाए। चौधरीले आफु मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा जाँदा आफ्ना खराउ हेरेर विभिन्न प्रश्न सोध्ने गरेको बताउँछन्। कतिले चाहिँ आफूलाई हाँसोको पात्र नै बनाउने गरेको उनको अनुभव छ।
सधैं खराउ लगाउने उनी जाडो यामका २ महिना भने खराउ लगाउँदैनन्। धेरै जाडो हुने समयमा जुत्ता लगाउने गरेको र जुत्ता लगाउँदा खुट्टा मात्रै नभई पूरै शरीर नै दुख्ने गरेको उनी सुनाउँछन्।