नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना भएपछि नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने बताएकी छिन्।
सर्वोच्चले पुनर्स्थापना गरिदिँदा पनि प्रधानमन्त्री ओली जिताहा शासकजस्तो हिँड्ने गरेको आरोप लगाइन्।
प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा अधिवेशन आह्वानको अवसरमा मन्तव्य राख्दै माओवादीकी सांसद् भुसालले भनिन्, ‘नैतिकताको विषय हो भने राजनीतिमा मूल्य हुन्छ। मैले सोचेकी थिएँ, फागुन ११ गतेको फैसलापछि त्यो राजनीतिक नैतिकताको पालना गरिने छ। अहिले पनि बढो जिताहा शासक जस्तो गरेर हिँड्ने कुराले आम नागरिकमा के पर्छ होला ? जिम्मेवारी नलिने राजनीतिज्ञका कारण राजनीति बदनाम छ।’
प्रतिनिधि सभा विघटन सही थियो भनेर गतल कामको पुष्टि गर्नुभन्दा सच्चिएर अगाडि बढ्न अपील गर्दै भनिन्, ‘चुनाव रे, आफूले भनेजस्तो नहुँदा। सम्माननीय प्रधानमन्त्रीज्यू तपाईंले जनतालाई भ्रममा दिनुभएको छ। अहिलेको निर्वाचन प्रणालीमा बहुमत आउँदैन, दुईतिहाइको भ्रम छरेर लाज छोप्ने कुरा नगर्नुस्।’
भुसालले भनिन्, 'कार्यव्यवस्था परामर्श समितिमा बिजनेस दिन नसक्ने अनि सभामुखलाई गाली गर्दै हिँड्ने काम बन्द होस्।’
माओवादीले एसिड आक्रमणविरुद्धको अध्यादेशमा आफूहरूको विरोध नरहेको स्पष्ट गर्योम। उनले भनिन्, ‘एसिड आक्रमणविरुद्धको अध्यादेशको कसैले विरोध गरेको छैन, संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको विरोध गरेका हौं।'