सरकारले सभामुख अग्नि सापकोटाको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेको छ। उनले प्रतिनिधिसभाको पहिलो बैठकमै पेश गर्नुपर्ने अध्यादेश सभामुखले रोकेकोप्रति पनि आपत्ति जनाए।
सरकार र सत्तारुढ दल नेकपा एमालेको प्रवक्तासमेत रहेका परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले प्रतिनिधि सभा बैठकमा शुक्रबार विशेष समय लिएर बोल्दै असन्तुष्टि व्यक्त गरेका हुन्।
‘प्रतिनिधिसभा पुनर्स्थापनापछि सुरुमा जसरी बैठक अघि बढे त्यसले राम्रो संकत गरेन। सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउनुपर्छ,’ शुक्रबार संसदको बैठकमा आफ्ना धारणा राख्दै ज्ञवालीले भने, ‘संसदको पहिलो बैठकमा ती अध्यादेश प्रस्तुत गर्नुपर्ने संविधानको व्यवस्था छ, तर जनताको चासोसँग जोडिएका केही अध्यादेश रोकिए।’
एसिड आक्रमणविरुद्धको अध्यादेश प्रस्तुत गर्न र बहालवाला र पूर्व सांसदहरुको निधनमा श्रद्धाञ्जलि दिन समेत अवरोध भएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।