कम्युनिस्ट आन्दोलन संकटमा परेको बेला आफूलाई सहयोग गरेको भन्दै प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टी प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ लाई विशेष धन्यबाद दिएका छन्।
नेकपा माओवादी केन्द्रसँगको एकता भंग भएपछि शुक्रबार बालुवाटारमा आयोजित पहिलो केन्द्रिय सदस्यको भेलामा प्रधानमन्त्री ओलीले भने, ‘तपाईको गुण म कहिल्यै बिर्सने छुइनँ। तपाईले संकटको बेला मलाई सहयोग गर्नुभएको छ।’
बादलको नेतृत्वमा शुक्रबार नै माओवादी केन्द्रका २३ नेता एमाले प्रवेश गरेका थिए। यी सबैलाई एमालेको केन्द्रिय सदस्यमा मनोनित गरिएको छ।
कार्यक्रममा ओलीले भने, ‘तपाईहरू अडिग भएर कम्युनिस्ट आन्दोलनलाई अगाडी बढाउन दृढ संकल्प भएर लाग्नुहोस्। क्रान्ति अगाडी बढ्दा क्षति पनि हुनसक्छ तर म तपाईहरूलाई एक इन्च पनि क्षति हुन दिन्न।’
उनले माओवादी केन्द्रबाट आउने कमरेड साथीहरूलाई नेतृत्वमा स्थापित गराउने जिम्मेवारी पनि आफ्नो भएको भन्दै भने, ‘हामीले माक्र्सवादको माला मात्र जप्ने होइन, सिर्जनात्मक ढंगले कार्यान्वयन पनि गराउने हो।’
नवनियुक्त केन्द्रिय सदस्य टेकबहादुर बलमपाकीले बिएल नेपाली सेवालाई जानकारी दिँदै भने, ‘प्रधानमन्त्री तथा पार्टी अध्यक्षले कसैलाई दम्भ नगर्न सुझाव दिनुभएको छ। उहाँले मिलेर देश बनाउन आग्रह गर्नुभयो।’
बलमपाकी लगायत २३ जना केन्द्रिय सदस्य मनोनित हुँदा बादललाई नेकपा एमाले सचिवालय सदस्य तथा प्रदेश नम्बर ३ को इन्चार्ज नियुक्त गरिएको छ।
यस्तै, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणिचन्द्र थापा तथा प्रभु साह स्थायी कमिटी सदस्य नियुक्त भए। बलमपाकी नवौं नम्बरमा केन्द्रिय सदस्य नियुक्त भएका छन्।