लागत घटाउन कृषि यान्त्रिकीकरणमा जोड

फाइल तस्वीर
फाइल तस्वीर

लागत घटाउँदै उत्पादन बढाउन तनहुँका सरोकारवाला निकायले कृषि यान्त्रिकरणमा जोड दिएका छन्। परम्परागत रुपमा गरिँदै आएको कृषि व्यवसायमा लागत घटाउन कृषि ज्ञान केन्द्र, स्थानीय तहले कृषि यान्त्रिकरणमा जोड दिएका हुन्। 

सोही बमोजिम ज्ञान केन्द्र तनहुँले जिल्लाका कृषकलाई अनुदानमा उपकरण वितरण गरेको छ। केन्द्रले आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकका कृषकलाई ९० प्रतिशत अनुदानमा उपकरण वितरण गरेको हो। 

मकै, भटमास तथा चैते धान कार्यक्रममार्फत मार्कीचोकका कृषकलाई रु आठ लाख सात हजार ५०० बराबरको कृषि उपकरणहरु हस्तान्तरण गरिएको केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए। त्यसमध्ये ९० प्रतिशतबापतको रु सात लाख २० हजार ४५० ज्ञान केन्द्रले अनुदान दिएको छ भने १० प्रतिशतबापतको रु ८० हजार ७५० कृषकले बेहोर्नुपर्नेछ।

केन्द्रले मार्कीचोकस्थित पारिजात ताजा तरकारी उत्पादन समूहलाई मकै छोडाउने मेसिन, मकै बीउ, विभिन्न प्रकारका विषादीलगायत वितरण गरेको छ। 

ज्ञान केन्द्रले ३५० रोपनीमा लगाउन ४३७ केजी मकै बीउ (सिपी जात), एक सय रोपनी लगाउनका लागि एक सय २५ केजी मकै बीउ (उन्नत जात), आठ  मकै छोडाउने मेसिन, पाँच  मकै बीउ रोप्ने मेसिन, दुई वटा धार गोड्ने मेसिन र १० थान स्प्रेयर लगायतका सामग्री वितरण गरेको छ। 
रासस

प्रकाशित मिति: : 2021-03-11 20:18:00

प्रतिकृया दिनुहोस्