समीक्षा

बाल मन–मस्तिष्कलाई आकर्षित गर्न सक्ने सिनेमा ‘वि क्यान बि हिरोज’

अंग्रेजी सिनेमाप्रति रुचि राख्ने व्यक्तिहरुको लागि ‘स्पाइ किड्स’ र त्यसको दुई सिक्वेलहरुको बारेमा जानकारी हुनुपर्छ। 

सानो बजेटमा बच्चाहरुको लागि सिनेमा निर्माण गर्ने ट्र्बलमेकर स्टुडियोज र निर्देशक रोबर्ट रोड्रिगेजलाई कस्तो सिनेमाले बाल मन–मस्तिष्कलाई आकर्षित गर्न सकिन्छ भन्ने राम्रो जानकारी छ। सिनेमा निर्माणका सबै पक्षमा दखल राख्ने रोड्रिगेज बाल सिनेमाका महारथी हुन्।

तीन वर्ष भित्रै सिनेमा, टेली सिरियल र छोटो सिनेमा मिलाएर ५० भन्दा बढी उत्पादन दिने निर्देशक रोड्रिगेजले आफ्नो नयाँ सिनेमा ‘वि क्यान बि हिरोज’ क्रिसमसको दिन नेटफ्लिक्समा रिलिज गरेका छन्। यो सिनेमामा उनले बलिउड सुन्दरी प्रियंका चोपडालाई लिएर एसियाई दर्शकहरुलाई पनि आकर्षित गर्ने प्रयास गरेका छन्।

आफ्नो पछिल्लो सिनेमा ‘एलिटा’ जस्तै निर्देशक रोड्रिगेजले यो सिनेमा पनि मनोरन्जक बनाउने कोशिस गरेका छन् र उनी धेरै हदसम्म सफल पनि छन्। सबै मसला मिलाएर सिनेमा बनाउनु र त्यो सिनेमामा दर्शकहरुलाई बाँधेर राख्न सक्नु निर्देशक रोड्रिगेजको बिशेषता हो। बाल दर्शकहरुलाई सिनेमा हेर्दा एक स्थानमा राख्न सक्नु त्यसैपनि ठूलो कुरा हो, जसमा निर्देशक रोड्रिगेज जानकार छन्।

वास्तवमा यो सिनेमा एक बिज्ञान कथा (साइन्स फिक्सन) सिनेमा हो। निर्देशक रोड्रिगेजको आफ्नै करिब १५ बर्ष अगाडि प्रदर्शनमा आएको सिनेमा ‘द एड्भेञ्चर्स अफ शार्क ब्वाई एण्ड लाबा गर्ल’सँग धेरै समानता भएको यो सिनेमामा कुनै अज्ञात शक्तिले संसारको सबै ‘सुपर हिरो’हरुलाई अपहरण गरेर राखेको छ। 

मार्कस मोरेनो (पेड्रो पास्कल) आफ्नो सानो छोरी मिसी मोरेनो (या या गोसेलीन)को स्याहार सुसार गर्न ‘सुपर हिरो’को काम छोडिसकेको छ र उसको साथमा ‘शार्क ब्वाई’ र ‘लाबा गर्ल’को साथै सबै ‘सुपर हिरो’हरु पनि छन्। 

यसैबीच मार्कस मोरेनो को अपहरण हुन्छ र उसको छोरी मिसी लाइ अपहरणकारी बाट बचाउन एउटा गोप्य स्थान मा लगिन्छ, जँहा शक्तिशाली ‘सुपर किड्स’हरु पहिलेदेखि नै हुन्छन्।

निर्देशक रोड्रिगेजको सिनेमा हरुमा दर्शक लाइ सोच्ने कुनै स्थान नै हुँदैन। अब के हुन्छ? भनेर सोच्दा सोच्दै सिनेमा सकिन्छ, यो नै उनको ठुलो ‘प्लस प्वाइण्ट’ हो। 

सिनेमाको बीचमा अकस्मात एउटा ‘सुपर किड्स’ आएर निवर्तमान राष्ट्रपति डोनाल्ड ट्र्म्पलाई ब्यङ्ग कस्दै ‘यस्तो मुर्ख मान्छे कसरी अमेरिकाको राष्ट्रपति भयो भन्छ,’ यो किन भन्छ भनेर दर्शकहरु छक्क पर्छन्। 

पेड्रो पास्कल जस्तो बरिष्ट अभिनेताको अभिनय सामान्य छ र बाल कलाकार या या गोसेलीन पुरै सिनेमा मा डराएको जस्तो देखिन्छिन्।

सिनेमामा यति धेरै कलाकार र उनीहरुको चरित्र छ कि कथा अगाडि बढ्दै जाँदा सबै कलाकार हरु छरपस्ट भएको जस्तो देखिन्छ। निर्देशक रोड्रिगेजले भब्यसेट निर्माण गरेर सिनेमाको क्लाइमेक्सलाई पनि भब्य बनाउने कोशिस गरेका छन्। जसमा उनी पूर्ण रुपमा सफल हुन् सकेनन। ‘मिस ग्राण्डा’को भूमिकामा प्रियंका चोपडाले अभिनय गरेकी छिन् र उनले आफ्नो सौन्दर्य र अभिनय क्षमताले एकपल्ट फेरी दर्शकहरुको मन जित्न सफल छिन्।

अन्य सहायक कलाकारहरु सामान्य छन्। बच्चाहरुको निर्दोष अभिनय र ‘फ़्याण्टासी’ सिनेमा नै हेर्ने हो भने एकपल्ट हेर्दा कुनै फरक नपर्ला तर सिनेमाको ट्रेलर हेरेर गज्जबको सिनेमा रहेछ भनेर सोचेर हेर्ने हो भने तपाईं पूर्ण रुपमा निराश हुनुहुनेछ।

सिनेमाको स्क्रिप्ट स्वंयम निर्देशक रोड्रिगेजले लेखेका छन् तर आफैले लेखेको स्क्रिप्टमाथि सिनेमा निर्माण गर्दा पनि उनी किन अलमलमा परे त्यो भने पंक्तिकारले बुझ्न सकेन।

प्रकाशित मिति: : 2021-01-18 13:50:00

प्रतिकृया दिनुहोस्