लाईसेन्सको लागि आवेदन दिनेको संख्या साढे ४ लाखभन्दा बढि

File photo
File photo

देशभरमा गरी चालक अनुमतिपत्रका लागि आवेदन दिनेको सङ्ख्या चार लाख ५२ हजार पुगेको छ। यो सङ्ख्या गत पुस २९ देखि अहिलेसम्मको देशभरका यातायात व्यवस्था कार्यालयमार्फत परीक्षामा सहभागी हुन चाहने सेवाग्राहीको हो।  

लामो समयसम्म अवरुद्ध सेवा अहिले खुलेकाले एकै पटक धेरै सेवाग्राहीले भरेको यातायात व्यवस्था कार्यालयले जनाएको छ। झण्डै १० महिनासम्म अवरुद्ध सेवा खुल्दा एकै पटक भीड भए पनि अहिले कम भइरहेको सूचना प्रविधि निर्देशक पवित्र डङ्गोलले बताए।

परीक्षार्थीले अनलाइनमार्फत फारम भर्न पाउने भएकाले जुनसुकै स्थानमा भए पनि फारम भरिरहेका छन्। उनले भने, “जुनसुकै समयमा र अनलाइन भएकाले सेवाग्राहीलाई फारम भर्न सजिलो भएको छ।”

गत वर्ष चैतदेखि कोभिड–१९ का कारण सरकारले नयाँ चालक अनुमतिपत्रको स्थगित गरेको थियो। झण्डै १० महिनासम्म अनुमतिपत्र बन्द भएर अहिले खुलेकाले पहिलो महिना चाप रहेको सूचना प्रविधि निर्देशक डङ्गोलले बताए। उनका अनुसार सेवाग्राहीले २४ घण्टा नै र सातामा सात दिन नै अनलाइन फारम भर्न सक्ने गरी व्यवस्था मिलाइएको छ। 

गत पुसमा अनलाइन फारम लिन थाल्दा विभागले निश्चित समयभित्र मात्रै भर्नुपर्ने व्यवस्था गरेको थियो। निश्चित समय मात्रै हुँदै धेरै सेवाग्राहीले एकै पटक भीड भएकाले  सेवाग्राहीले भर्न सकेका थिएनन्।

शुरुमा रहेको फारम भर्न नसकिने समस्या भए पनि जुनसुकै समयमा भर्न सक्ने व्यवस्था मिलाइएकाले त्यो समस्या हटिसकेको उनले बताए। उनले भने, “पहिले पहिले फारम नै भर्न सकिएन भन्ने गुनासो आउने गरे पनि अहिले गुनासो छैन।”रासस

प्रकाशित मिति: : 2021-03-10 18:52:00

प्रतिकृया दिनुहोस्