निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुंगो लगाइसक्यो, हामी आधिकारिक नेकपा हौँ : सुवासचन्द्र नेम्वाङ

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता सुवासचन्द्र नेम्वाङले निर्वाचन आयोगले पार्टीको आधिकारिकता टुङ्गो लगाइसकेको बताएका छन्।

निर्वाचन आयोगले शुक्रबार बोलाएको छलफलमा सहभागी हुन बहादुरभवन पुगेका नेम्वाङले आयोगसँगको छलफलपछि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपा नै आधिकारिक भएको दाबी गरेका हुन्। उनले भने, ‘आधिकारिकताको सम्बन्धमा निर्वाचन आयोगले निर्णय गरिसकेको छ। त्यो कुरा हामी सबैलाई सम्झना हुनुपर्छ। त्यही आधिकारिकताको निर्णयको जगमा उभिएर यो सम्पूर्ण प्रकृया अगाडि बढिरहेको छ र बढ्छ। अब दल दर्ताको प्रक्रिया सुरु हुन्छ। 

नेम्वाङले निर्वाचन आयोगले निर्वाचन गर्न पर्याप्त समयसमेत रहेको भन्दै ८४ दिन भए पुग्ने बताउँदै अझै ९१ दिन बाँकी रहेकाले समयको समस्या नरहेको पनि बताए। ‘त्यहीअनुसार दल दर्ता प्रक्रिया अघि बढ्छ। जहाँसम्म यहाँहरुले को कसरी जाने भन्नेमा उपयुक्त समयमा निर्णय गरेर जान्छौँ,’ नेम्वाङले भने।

नेम्वाङले निर्वाचन तोकिएको समय र मिति वैशाख १७ र २७ गते हुनेमा आशंका नगर्न आग्रह गरे। नेम्वाङले भने,  ‘प्रधानमन्त्री केपी ओलीको पनि यही भनाइ छ। हामीले यो कुरा आयोगमा पनि राख्यौँ। अदालतमा मुद्दा परेकाले ‘स्टे अर्डर’  जारिगरेको छैन। ‘स्टे अर्डर’  जारी नभएको बेलामा निर्वाचनसम्बन्धी कार्यक्रम तदारुकताका साथ अघि बढाउनुपर्छ। अदालतले अन्यथा आदेश दिए बेग्लै कुरा हो।’

पार्टीको आधिकारिकताबारे थप प्रष्ट पार्दै नेम्वाङले भने, ‘हामी आधिकारिक हौँ भन्नेमा विश्वास छ। केही साथीहरुलाई हामी आधिकारिक हौँ भन्ने उहाँहरुको बुझाइ छ। यो प्रक्रियाबाट टुंगिसकेको विषय भएकाले त्यही जगमा उभिएर हामी अगाडि बढ्दै छौँ। अब दल दर्ताको प्रक्रियामा जानुपर्छ, निर्वाचनबाट सबै कुरा टुंगो लाग्छ।’

नेम्वाङले आगामी वैशाख १७ र २७ गते हुने आम निर्वाचनको तयारीमा लाग्न समेत निर्वाचन आयोगलाई आग्रह गरे। उनले भने, ‘निर्वाचन आयोग लगायत हामी सबै निर्वाचनमा लाग्नुबाहेक हाम्रो अगाडि विकल्प छैन। संविधान र कानूनको दफा तोकेर आयोगको आयोगको आग्रह अनुरुप हामी छलफलका लागि निर्वाचन आयोग पुगेका हौँ। आयोगले प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड अध्यक्ष र विष्णु पौडेल महासचिव भएको पार्टीलाई नै मान्यता दिएर पठाएको पत्रका आधारमा यहाँ आएका हौँ।’

‘संविधानको व्याख्या सर्वोच्च अदालतले गर्छ, संविधानसभा अध्यक्षले गर्ने होइन’

प्रकाशित मिति: : 2021-01-29 14:33:00

प्रतिकृया दिनुहोस्