वैशाख ११ गतेदेखि सुरु हुने कक्षा १२ को परीक्षा अन्योलमा परेको छ। देशभरका सारा शिक्षकहरू विद्यालय नै बन्द गरेर महिना दिनदेखि काठमाडौंमै छन्। शिक्षा ऐन जारी नभएसम्म आफूहरू नफर्किनेगरी निर्णायक आन्दोलन थालेका उनीहरूले कुनै शैक्षिक कार्यक्रमहरूमा सहभागी नहुने भनेका छन्।
सरकारले शिक्षा ऐन पारित गर्नकै लागि भनेर वैशाख १२ गते संसदको बैठक बोलाएको छ र शिक्षकहरूलाई घर फर्किन भनेको छ। तर शिक्षकहरूले आफूहरूलाई फेरि झुक्याएर रित्तो हात पठाउने षड्यन्त्रमा लागेको भन्दै ऐन जारी नभएसम्म आन्दोलनमै रहने जनाएका छन्।
शिक्षकहरूले आन्दोलनलाई सशक्त बनाउन भन्दै शैक्षिक हड्ताल गरेका छन्। जसका कारण सरकारी विद्यालय जति सबै बन्द अवस्थामा छन्। वार्षिक परीक्षाका नजितासमेत प्रकाशित भएका छैनन्। सरकारले हरेक वर्षको वैशाख १ गतेदेखि सुरु गर्ने भर्ना अभियान पनि अझै सुरु भएको छैन।
यसबीचमा शिक्षकहरूले एसईईको उत्तरपुस्तिका पनि नजाँच्ने र कक्षा १२ को परीक्षामा पनि सहभागी नहुने भनेका थिए।
यहीबेला सामाजिक सञ्जालमा कक्षा १२ को परीक्षा रोकिएको हल्ला फैलिएपछि राष्ट्रिय परीक्षा बोर्डले त्यसको खण्डन गरेको छ।
‘वैशाख ११ गतेबाट सञ्चालन हुनेगरी तय भएको कक्षा १२ को वार्षिक परीक्षाका सम्बन्धमा भ्रम सिर्जना हुने गरी परीक्षा स्थगित गरिएको भ्रामक सूचना विभिन्न सामाजिक संजालमा सम्प्रेषण गरिएको प्रति बोर्डको गम्भीर ध्यानाकर्षण भएको छ’ बोर्डले भनेको छ ‘‘परीक्षा सञ्चालनका लागि समन्वय र सहकार्य हुन अभिभावक, शिक्षक एवं प्रधानाध्यापकज्यूहरूमा राष्ट्रिय परीक्षा बोर्ड हार्दिक अपिल गर्दछ।’
दिनहुँजसो नागरगान र रमाइलो गर्दै माइतीघर-बानेश्वर सडकमा प्रदर्शन गरिरहेका शिक्षकहरूलाई आज साँझका लागि प्रधानमन्त्रीले बोलाएका छन्। यसअघि पनि पटक पटक शिक्षकहरूले सरकारी प्रतिनिधिहरूसँग छलफल गरेका थिए।