माधव ढुङ्गेल
सुवासचन्द्र नेम्वाङ, ६८, नेकपा स्थायी कमिटी सदस्य हुन् । प्रतिनिधिसभा विघटनअघि उनी नेकपा संसदीय दलका उपनेता थिए । संविधानसभाले वर्तमान संविधान निर्माण गर्दा दुवै संविधानसभाका अध्यक्ष उनै थिए । आठ वर्ष सभामुखको पनि भूमिका निभाइसकेका उनी अहिलेको नेकपा विवादमा प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा लागेका छन् । सधैँ सबै विषयमा सकारात्मक कोणबाट मात्र कुरा गर्न खोज्नु र कसैलाई पनि सार्वजनिक रूपमा टिप्पणी नगर्नु उनको विशेषता हो ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । सुनुवाईका क्रममा हरेक दिनको बहसमा रिट–निवेदकका तर्फबाट बहस गर्ने कानून व्यवसायीले विघटित संविधानसभा अध्यक्ष नेम्वाङको धारणा भन्दै इजलाशसमक्ष राख्ने गरेका छन् । उनको धारणा भन्दै उनले बोलेको रेकर्ड समेत इजलासमा पेश भइसकेको छ तर प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछि यसबारे नेम्वाङले पहिलोपल्ट सार्वजनिक रुपमा बोलेका छन् ।
लामो मौनतापछि प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा विघटनबारे उनले मुख खोले– संविधानको व्याख्या गर्ने सर्वोच्च अदालतले हो ;संविधानसभा अध्यक्षले होइन । कानूनविद् समेत रहेका विघटित संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङसँग सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा केन्द्रित रहेर माधव ढुङ्गेलले गरेको संवाद :
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा घनघोर बहस जारी छ । तपाईंले नै त्यसबारे पहिले बोलेको ‘रेकर्ड’ पनि इजालाससमक्ष पेश भएको छ तर त्यसबारे तपाईं भने मौन हुनुहुन्छ । यत्रो जनसरोकारको मुद्दामा तपाईं किन मौन ? स्वार्थ बाझिने भएका कारण हो ?
प्रतिनिधिसभाको विघटनको विषय चर्चाको केन्द्रबिन्दुमा रहनु आश्चर्यको कुरा होइन । हामीले ७० वर्षलामो समयदेखिको जनताको चाहना र भावनालाई मूर्तता प्रदान गर्दै संविधानसभाबाट जुन संविधान बनायौँ, त्यो संविधान बनिरहेको बेला पनि, संविधान बनिसकेपछि कार्यान्वयनको क्रममा पनि थुप्रै विषयहरु चर्चामा रहेका हुन् । त्यसभित्र संसदीय शासन प्रणाली, संसदीय शासन प्रणालीमा प्रधानमन्त्रीको भूमिका जिम्मेवारी लगायतका विषय चर्चामा रहने नै भए ।
यही प्रसंगमा तपाईंले जुन अदालतमा विचाराधीन अदालतमा प्रमाणको जुन कुरा गर्नुभो, मैले त्यही सन्दर्भ कोट्याएको हो । त्यो सन्दर्भमा ०७६ श्रावण ४ गते, मलाई त्यो पनि याद छ, किनभने हामीले संसद्को तर्फबाट महत्वपूर्ण कार्यक्रम काभ्रेको धुलिखेलमा राखेका थियौँ ।
त्यसमा ‘संसदीय मामिला पत्रकार समाज’ का साथीहरुको बीचमा एउटा छलफल भनौँ वा एउटा प्रशिक्षण भनौँ, त्यस्तो कार्यक्रम आयोजना भएको थियो । मैले त्यहाँ भाग लिएको थिएँ । त्यसै गरी, संसद्सँग संविधान दर्पणसम्बन्धी अन्तर्वार्ता जस्तो पनि भएको छ ।
यसै गरी, विभिन्न ठाउँमा मैले स्वाभाविक रुपमा यी विषयहरुमा बोलेको छु । बोल्दा यो जुन अहिले केन्द्रबिन्दुमा रहेको विषय छ, त्यो पनि रहने नै भयो । त्यसमा मैले आफ्ना कुराहरु राखेको छु । ती मैले बोलेका कुराहरुमा म प्रष्ट छु । र, मेरो त्यो अविचलित अडान हो ।
यही बीचमा प्रधानमन्त्रीज्यूले संसद् विघटन गर्नेतर्फ जानुभो । मैले अघि नै भनेँ– सार्वजनिक रुपमा मैले बोलेको कुरा । कतिपय अनौपचारिक रुपमा बाहिर नबोलिएका कुराहरु पनि आफ्ना पार्टीका नेताहरु, साथीभाइहरुसँग पनि मैले थुप्रै कुराहरु यसबारे गरेको छु । अहिले ती कुराहरुतर्फ नजाऊँ ।

अहिले चाहिँ किन मौन बस्नुभएको त ?
यही क्रममा प्रधानमन्त्रीज्यूले प्रतिनिधिसभा विघटन गर्नुभो । प्रतिनिधिसभा विघटन गर्दा उहाँले केही प्रसंगहरु दाबी गर्दै उहाँको प्रश्न रह्यो– यो सन्दर्भमा त जनताका बीचमा जानुबाहेक मसँग के बाटो छ ? त्यो बेलामा जतिबेला उहाँसँग छलफल भएको थियो, म त्यसलाई अहिले धेरै चर्चा गर्दिनँ ।
उहाँको यही नै दाबी थियो– उहाँले आफ्नो लिखित जवाफमा यिनै कुराहरु राख्नुभएको छ । उहाँले प्रश्न गरेको मलाई सम्झना छ– झण्डै दुईतिहाई बहुमतको सरकारको प्रमुख भएको नाताले मैले काम गर्न नपाएपछि अवरोध भएपछि मैले जनताको बीचमा जानुबाहेक के विकल्प छ र ? प्रजातन्त्रमा त्यत्रो बहुमत भएको प्रधानमन्त्रीले त्यसो गर्न (ताजा जनादेशका लागि जनतामा जान) पनि पाउँदैन ? संसद् विघटनपछि यिनै कुराहरु लिखित जवाफमा उल्लेख गरेको मैले पाएको छु ।
तर, अहिले ती कुराहरुलाई लिएर म बोल्न चाहन्नँ । मैले बोलेको छैन । जति बोलेँ, मैले पहिले सार्वजनिक रुपमा बोलेको छु । मैले भनिसकेँ– अनौपचारिक रुपमा मेरा आफ्ना कुराहरु प्रधानमन्त्रीलगायत थुप्रै साथीभाइहरुलाई भनेको छु । रिट निवेदन पक्षका नेताहरुलाई पनि मैले भनेको छु । मलाई थाहा छ । तर अहिले म त्यसबारेमा बोल्दिनँ तर म मौन रहेको होइन । यो कुरा म भनिरहेको छु ।

तपाईंलाई बोल्नका लागि बाधा चाहिँ केले पारेको त ?
अदालतमा यो विषय प्रवेश ग¥यो । प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेपछाडि यसलाई लिएर ११ वटाभन्दा बढी (१३ वटा) रिट–निवेदनहरु सर्वोच्च अदालतमा दायर भएका छन् । र, सर्वोच्च अदालतमा यी निवेदनमार्फत् मुद्दाको रुपमा विचाराधीन छ ।
यहाँनिर संविधानसभा अध्यक्ष संविधान बनाउने निकायको चाहिँ अध्यक्ष हो, संविधानको व्याख्याता होइन । बोल्दा व्याख्याता बनेजस्तो हुन्छ र अदालतको क्षेत्राधिकारमा हस्तक्षेप हुन्छ भनेरै चूप बस्नुभएको हो त ?
म यसमा दुईटा कुरा अलिकति प्रष्ट गर्छु । त्यसैले म भन्दै थिएँ– यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन भएपछि मलाई लागेका कुराहरु होलान् । अरुलाई पनि लागेका कुरा होलान् तर हामीले संविधानमा के व्यवस्था ग¥यौँ त भन्दा– जब कुनै विषय सर्वोच्च अदालतमा मुद्दाका रुपमा विचाराधीन हुन पुग्छ, त्यसलाई प्रभाव पर्ने गरी सार्वजनिक रुपमा छलफल गर्ने कुरा ठीक होइन । सर्वोच्च अदालतलाई उसको निर्णय गर्न दिनुपर्छ ।

हामीले केसम्म व्यवस्था ग¥यौँ त भन्दा– सर्वोच्च अदालतमा त्यस्ता विषय विचाराधीन हुन्छन् भने त्यसबारेमा संसद्मा समेत पनि बहस गर्नुहुँदैन । हामीले व्यवस्था गरेका छौँ । त्यसो गर्नुको कारण के हो ? प्रष्टै छ– सर्वोच्च अदालत नै संविधान÷कानूनको व्याख्याता हो । उसको व्याख्या अन्तिम हुन्छ । मलाई लागेको एउटा कुरा हुनसक्छ ।
मैले अघि नै भनेँ– मैले सार्वजनिक रुपमा बोलेँ, अनौपचारिक बोलेँ । त्यो कुरामा म अडिग छु । अविचलित छु तर संविधान र कानूनको व्याख्या सर्वोच्च अदालतले गर्ने संविधानको व्यवस्था हो । जति बेला ऊ व्याख्या गर्न भनेर मुद्दा हेर्न बसेको छ, उसलाई दबाब दिने ढंगले कसैले पनि कुनै पनि काम गर्नु हुँदैन ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीशले इजलाशमै भन्नुभएको छ– हामीलाई सडकको कुराले असर गर्दैन भनिसक्नुभयो । के हुन्छ र बाहिर बोल्दा ?
सर्वोच्च अदालतका माननीय न्यायाधीशहरुले सडकको कुराले अदालतमा असर पर्दैन, त्यसले केही पनि असर पर्दैन, हामी हाम्रो निर्णय गर्छौं भनेर इजलासबाटै भन्नुभएको कुरा सुनेँ । त्यो त उहाँहरुको विनम्रता हो तर जुन कुरा सर्वोच्च अदालतको इजलासमा बसेका न्यायाधीशहरुले हामीलाई त्यसले छुँदैन, हामी त्योभन्दा पर छौँ भनेर भन्नुभो । घुमाएर त्यस्तो कुरा किन बोल्नु त ? उहाँहरुले त प्रष्ट सुनिराख्नुभएको रहेछ ।

त्यसैले उहाँहरुले त घुमाएर भन्नुभएको हो– ‘यस्ता कुराहरुमा तपाईंहरुले बहस नगर्नुस् है ! जे छ, यहाँ सर्वोच्च अदालतको इजलासमा उभिएर बहस गरिदिनुस् । जति पनि वकील राख्नुस्, उहाँहरुका कुरा हामी सुन्छौँ ।’ सुनिराख्नुभएको छ । त्यसको अर्थ सडकमा भने यो छलफल नगरौँ, यसले सर्वोच्च अदालतलाई गलत प्रभाव पार्ने कोशिश कसैले पनि नगरौँ । दुवै पक्षले नगरौँ । विषय भनेको यो हो ।
यो कुरालाई मानेर मैले भनेको छु– मुद्दा पर्नुभन्दा अघि त्यति बेला मैले भनेको छु– अब मुद्दा प¥यो भने यो सर्वोच्च अदालतको विचाराधीन हुन्छ, मैले जति बोलेँ बोलेँ । अब भने सर्वोच्च अदालतको विचाराधीन विषय भइसकेपछि मैले बोल्नुहुँदैन । त्यसैले मौन बसेको होइन, सम्मानित सर्वोच्च अदालतप्रति, संविधानप्रतिको आस्था मैले व्यक्त गरेको हुँ ।
यही कुरा तपाईंले इजलासमै गएर भन्ने संभावना छ कि छैन ?
सर्वोच्च अदालतमा रिट–निवेदकका तर्फबाट छलफलहरु भइरहेका छन् । मैले त संविधान निर्माणको काम सम्पन्न गरिसकेपछाडि भनेको थिएँ– सम्मानित सर्वोच्च अदालतमा फेरि पनि आएर बहस गर्ने मलाई रहर छ ।

मलाई बरु साथीहरु, नेताजीहरुले अनुमति दिनुहुन्छ भने म त सर्वोच्च अदालत फर्किएर बहस गर्न चाहन्छु । मेरो धित मरेको छैन । हैन, राजनीति गर्दै सर्वोच्च अदालतमा बहस गरौँ कि भन्ने पनि सोचाइ हो । तर, सोचाइ हुँदाहुँदै पनि त्यो अहिलेसम्म पनि हुन सकेको छैन ।
त्यसैले अहिले तुरुन्तै त्यतातर्फ लाग्न नसकिएला । यही मुद्दामा पनि अहिले त्यसो गर्ने संभावना मैले देखिरहेको छैन । कुनै दिन मेरो इच्छा छ ।
यो फैसलाले मुख्यतः संसदीय प्रणालीमा प्रधानमन्त्रीको विशेष अधिकार हुन्छ कि हुँदैन बारे पनि प्रष्ट व्याख्या गर्ला नि ! अनि मात्र बोल्ने विचार गरेर बस्नुभएको हो ?
सम्मानित सर्वोच्च अदालतले संविधान÷कानूनको आधिकारिक व्याख्याताका रुपमा उसले निर्णय सुनाइसकेपछि फैसला गरिसकेपछि त्यसले यसबारेमा एउटा मार्गप्रशस्त गर्छ । त्यसले सबैलाई सजिलो गर्छ ।
निश्चय पनि मैले अघि नै भनेँ । मैले जुन एउटा प्रसंग उल्लेख गरेँ । त्यस्तै धेरै साथीहरुले बोल्नुभएको छ । हामीले बोलेका हौँ नि त ! तर, प्रधानमन्त्रीजीले प्रतिनिधिसभा विघटन गरिदिनुभो ।

विघटन गर्दा उहाँले केही विषयहरु उल्लेख गर्नुभएको छ– उहाँले संसदीय शासन प्रणाली भनेर संविधानमा उल्लेख छ, त्यो संसदीय शासन प्रणालीको चरित्रभित्र, गुणभित्र त्यसका मूल्य–मान्यताभित्र प्रधानमन्त्रीको प्रतिनिधिसभा÷संसद् विघटन गर्ने अधिकार पनि पर्छ नि भन्ने उहाँको दाबी छ । हाम्रो संविधानले के गरेको छ ? संविधानको साँच्चिकै व्यवस्था के छ त ? यो व्याख्या गर्ने अधिकार त सम्मानित सर्वोच्च अदालतलाई छ ।
मैले वा अरु कसैले भनेका कुरा त आफ्ना ठाउँमा छँदै छन् तर प्रधानमन्त्रीज्यूले आफूले आफ्नो कुरा त भन्नुभएको छ । यो कुरा त अहिले अदालतमा विचाराधीन छ । यसलाई कसले टुंगोमा पु¥याउने ? सिंगो देशलाई कुरा यो हो है ! त्यो संविधानसँगसँगै हाम्रो यो निर्णयलाई पनि सँगै राखेर हेर है भन्ने चाहिँ सर्वोच्च अदालत हो ।
त्यसैले सर्वोच्च अदालत यो गम्भीर विषयमा लागिरहेको छ । सर्वोच्च अदालतको निर्णय पर्खौं । सर्वोच्च अदालतले निर्णय गरिसकेपछाडि त्यसैलाई मानेर यो देशका प्रधानमन्त्रीदेखि सामान्य नागरिकहरुसम्म सबै राजनीतिक दलहरु त्यसै बमोजिम अगाडि बढौँला । मलाई लाग्छ– त्यो सबैभन्दा उपयुक्त बाटो हो । त्यो नहुँदासम्म अहिले सम्मानित सर्वोच्च अदालतमा यो विषय विचाराधीन रहेको अवस्थामा हामी कसैले पनि सर्वोच्च अदालतलाई प्रभावित गर्ने गरी पक्ष वा विपक्षमा नबोलौँ भन्ने मेरो आग्रह हो । त्यही मान्यताका आधारमा यसबारेमा चाहिँ म बोलिरहेको छैन । सर्वोच्च अदालतले जुन दिन फैसला गर्छ, त्यो फैसला गरेको भोलिपल्ट खुशीराजीका साथ म आफ्ना कुरा राख्ने छु ।
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया