गत कात्तिक १ गते दाङको तुलसीपुर उपमहानगरपालिका- १५ कि रेशु रावतले दोस्रो सन्तानलाई जन्म दिइन्। आमा बन्दाको सन्तुष्टि र खुसी भने उनको अनुहार देखिएन बरू चिन्ताका रेखाहरू कोरिए। किनकी बच्चा जन्मनुअघि नै डाक्टरहरूले भनिसकेका थिए- संसारमा आउन लागेको यो मान्छेको आयु धेरै छोटो छ। आमाले अनुहार हेर्न नपाउँदै पनि ऊ जान सक्छ।
त्यो दिन रेशु बेथा लागेर अस्पताल गएकी पनि थिइनन्। थाइराइडकी बिरामी उनी त्यसैको जाँच गर्न घोराहीस्थित गोरखा हस्पिटल पुगेकी थिइन। अस्पतालमै भएका बेला उनलाई एकाएक बेथा लाग्यो। उनको पेटमा बच्चा हुर्किन थालेको त्यतिबेला जम्मा ६ महिनामात्र भएको थियो। ६ महिनामै जन्मिएको बच्चा बाँच्छ भनेर कसले पत्याओस्! अस्पतालमा कसैले पत्याएनन् तर मन दह्रो बनाएर रेशुलाई अपरेशन कक्षमा लगे।
‘म पनि मन दह्रो बनाएर भित्र छिरें,' रेशुले सेतोपाटीसँग भनिन्।
साँझपख बच्चा जन्मियो। छोरा रहेछ। स्वीपर सिस्टरले हेर्दा बच्चाले आँखा हेरिरहेको रहेछ। रेशुले त्यो बेला आफ्नै बच्चा हेर्न सकिनन्।
सिस्टरले बोलाएपछि रेशुका श्रीमानले छोरालाई नियाले। आँखा हेरिरहेको देखेपछि उनलाई पनि बाँच्छ कि भन्ने आशा जाग्यो। अनि तत्कालै छोरालाई २४ किलोमिटर पश्चिम तुलसीपुरको तुलसी बाल हस्पिटलमा ल्याएर भर्ना गरे।
तुलसी हस्पिटल प्रशासनले भर्ना गर्दा नै भनिदियो– बचाउन सक्ने सम्भावना निकै कम छ, तर हामी सम्भव भएसम्म प्रयास गर्छौं।
भर्ना गरेको दुई-तीन दिनसम्म पनि डाक्टरहरूले ९९ प्रतिशतसम्म पनि यो बच्चा बाँच्ने आश छैन भनिरहन्थे।
‘कहिले आन्द्रा पड्किन्छ भने कहिले के भने,’ रेशुले भनिन् ‘त्यस्तैमा एक महिनाको हुँदा मैले बच्चालाई छातीमा टाँसे र बल्ल मलाई मेरो छोरा अब बाँच्छ कि भन्ने लागेको हो।’
दुई महिनापछि बच्चालाई इन्फेक्सन भयो। उसको शरीरमा सेतो रगतको अभाव देखियो।
उपचारमा संलग्न बालरोग विशेषज्ञ डाक्टर किशोर खत्रीका अनुसार बच्चाको सेतो रगत ३३ हजारसम्म झरेको थियो।
बच्चालाई त्यसअघि रातो रगतको कमी भएको थियो। तर, नजिकैको ब्लड बैंकबाट ल्याएर प्रयोग गरेका थिए।