कृष्णमुरारी भण्डारी
नेपालीमा एउटा आहान छ, एक्लो वृहस्पति झुटो ! किन देवताका पनि गुरु वृहस्पतिका सर्वस्वीकार्य भनाइलाई झुटो भनिएको हो ? एक मूर्धन्य राजनीतिक हस्तीले भन्नुभयो–
‘‘अब देश अँध्यारो सुरुङभित्र पस्यो ।” किन ?
कसरी ? किनभने देशमा ०७८ वैशाख १७ र २७ गते निर्वाचन हुने घोषणा भयो । प्रधानमन्त्रीले डेढ वर्षअघि नै निर्वाचनको सिफारिस गर्नुभयो । अहिले चुनावमा जानुहुन्न । छँदाखाँदाको प्रतिनिधिसभा पनि विघटन गर्नुहुन्न । खर्च जोगाउन पनि चुनाव गर्नुहुँदैन । बरु उहाँले पार्टीको अध्यक्ष पनि
छाड्नुपर्छ, प्रधानमन्त्रीको पदबाट पनि राजीनामा गर्नुपर्छ । त्यसो गरेपछि चुनाव नै गराउनु पर्दैन ।
तर प्रधानमन्त्रीले भन्नुभएको छ, मलाई मेरै पार्टीका साथीहरूले काम गर्नै दिएनन् । म देशलाई समृद्ध र जनतालाई सुखी बनाउने उद्देश्यले चुनाव जितेर प्रधानमन्त्री बनेको हुँ । हे ! लोकतन्त्रका जनार्दन नेपाली जनता, मेरो कदम ठीक लाग्छ भने मेरो पार्टी र मेरो विचारलाई चुनावमा जिताउनुस्, गलत लाग्छ भने चुनावमा हराउनुस् । तर, मलाई विश्वास छ, जनताले मेरो पार्टीलाई सेवा गर्ने अवसर दिनुहुनेछ ।
यो त भयो, प्रधानमन्त्री अर्थात् देशका कार्यकारी प्रमुखले जनतालाई जनार्दन मानेर नयाँ जनादेशका लागि चालेको कदमको चर्चा । बहुमत प्राप्त प्रधानमन्त्रीलाई काम गर्न नदिएका अनन्त कथाव्यथाले अखबारका पाना र विद्युतीय सञ्चारका भित्ताहरूमा बाढी आइरहेको छ । सामाजिक सञ्जालमा भाइरल भएजस्तो देश अँध्यारो टनेल (सुरुङ) भित्र पसेको होइन, टनेलबाट बाहिर उज्यालोमा निस्किएको हो । उज्यालोमा सबैले आफूलाई हे¥यौँ भने को कति धुस्रेफुस्रे छ, स्पष्ट देखिन्छ । टनेलमा को कसले के गरेको थियो ? को कसले कति इनामेल चलाएको थियो र कहाँकहाँ कालो लागेको छ र त्यसले गर्दा को कति कुरूप देखिन्छ, त्यो हेर्नका लागि अब चस्मा लगाइरहन पर्दैन !