झ्यालबाट हेर्दा

म त्यस टोलमा बस्न थाले देखि नै उसले मेरो ध्यान खिचेकी थिई। उमेरले बुढी थिई। तर हर्कतले ऊ भर्खरकी यौवना झैं प्रतित गराउँथ्यो। ऊ त्यस टोलकी सबैभन्दा हर्ताकर्ता बासिन्दा थिई। अझ भनौं त्यस टोलकी ठालु थिई। हरेक साना भन्दा साना देखि ठुला भन्दा ठुला घटनाहरु, विवादहरु ऊ बिना सुल्झिन गाह्रो परथ्याे। त्यसैले हरेक साना भन्दा साना देखि ठुला भन्दा ठुला घटनाहरु, विवादहरु ऊ कँहा नपुगाई कसैले पनि चैन महशुश गर्थेन। एक किसिमले त्यस टोलको निम्ति ऊ भाग्यविदता नै थिई। यदि कसैले उसलाई जानकारी गराएन भने पनि उसले कताकताबाट थाहा पाइहाल्थी र तुरुन्त त्यहाँ पुगीहाल्थी। तर कहिले पनि किन भनेनौं वा जानकारी गराएनौं भनेर गुनासो गरिन। यतिसम्म ऊ उत्तरदायी थिई वा खुल्ला हृदयकी थिई कि आवश्यक परेको खण्डमा ठाँउमै भिडिहाल्थी। ऊ तम्से पछिको अगी सर्ने? 

म भर्खर विश्वविद्यालयमा ईन्जिनियरिङ्गको विद्यार्थी भएर प्रवेश गरेको थिए। त्यसैले पढाइको चाप हुनु र त्यसमा पिल्सिनु स्वभावीक नै मान्नु पर्छ। म एका बिहानै निस्किन्थे र एका बेलुका फिर्थे। पढ, खाना बनाउ र जाँउ। आँउ, खाना बनाउ र पढ। यसो हुनाले नौलो टोलमा मलाई घुल्न केही समय अवश्य लागेको ठिक सत्य हो। सत्य हुँदाहुँदै पनि एउटा कुरा के हो भने न मलाई त्यस टोलको बारेमा उति चासो थियाे, न त्यस टोललाई म बारेमा उति चासो र चिन्ता थियो। तर मलाई त्यो हक्की बुढी बारेमा निकै चासो थियो। खै किन उसलाई देखेपछि एककिसिमको चमकता आफ्सेआफ महशुस हुन्थ्यो। म त्यस्तो महशुस गर्थे। सारा टोल त्यस्तो महशुस गर्थ्याे। अचम्म हेर्नुन, उत्पातै व्यस्त हुँदाहुँदै पनि, अपरिचित हुँदाहुँदै पनि मलाई त्यस बुढि बारेमा चासो थियो। चिन्ता थियो। 

टोलभरी त्यो बुढी “ढुङ्गेनी बुढि” सम्बोधनले परिचित थिई। उसको वास्तवीक नाम लगभग सबले भुलि सकेका थिए। यसलाई यसरी भन्न सकिन्छ, उसको पुरानो नाम सम्झिने पुरानो पुस्ता बाँकी अब कोही थिएन। त्यसैले साना उमेरका देखि ठुला उमेरका मानिसहरु यसै नामले उसलाई पुकार्दथे। अर्थात एक आपसमा कुराकानी गर्दा यो नामको साहायता लिने गर्दथे। तर उसको सामुन्ने भन्न कसैले पनि हिम्मत राख्दैनथ्यो। आजसम्म कसैले भन्ने हिम्मत नगरेको होइन। केही पहिले कसैले भनेको थियो अर्थात हिम्मत गरेको थियो। उसले यसरी हपारेके थि कि ऊ डरले हो वा बेइज्जतले दुई दिनसम्म कोठाबाट बाहिरै निस्किएन। यो घटना पछि सबैले भन्ने के सोच्ने हिम्मत गर्न पनि छाडिसकेका थिए।

यो नाम म डेरा अगाडिको पसलमा सामान किन्न गएको बखत सुनेको थिए। नामले मलाई निकै तानेको थियो। यो कसरी रहन गएको थियो? ममा तु जिज्ञाशा उब्जेको थियो। संयोग भनौ पसल अगाडी मुढामा बसेर चिया सुर्काउदै केही पाका मानिसहरु यस नाम बारेमा विभिन्न पराकथनहरु हालीरहेका थिए। तर पसल अगाडी मुढामा बसेर चिया सुर्काउदै गरेका तिनै पाका मानिसहरुले हालेका सबै पराकथनहरु सर्सति सुन्दा अलौकिक लाग्थे। त्यसैले ति पराकथनहरुको औचित्य थिएनन् भनि सजिलै अटकल काट्न सकिन्छ। (त्यसो हुनाले ति औचित्यहिन पराकथनहरु यस कथामा समावेश वा जीकिर गर्न जरुरी ठानिएको होइन। किलीयर भयो जिज्ञासा?)

अर्को दिन एक्लो फेला पारेको मौकामा मैले पसल्नीलाई सोधेको थिए, “उसको नाम ढुङ्गेनी बुढी कसरी हुन गएको थियो?” 

पसल्नी भद्दा मोटी थिई। त्यसैले उसलाई उभिन निकै सकस भएको हुँदो हो। मैले अटकल काटे। हो मैले एकदम सही अटकल काटे । नभन्दै भद्दा मोटी पसल्नी थचक्क मुढामा बसी र कहन थाली, “जनयुद्धमा उसलाई एउटा बुढो आरुको रुखमा झुन्डाइएको थियो। कुन कारणले उसलाई त्यसरी झुन्डाइएको थियो? कसैलाई केही थाहा थिएन। अहिलेसम्म पनि यो रहस्यमय नै छ।” 

यताउता हेरी। सायद कोही आउदै छ कि जान्न होला। कोही आइरहेको थिएन। हो कोही आइरहेको थिएन तैपनि पत्यार गरिहाल्नु पर्ने स्थिति थिएन। को कतिखेर टप्किन्छ,  कसलाई के था? 

नजिक आएर मधुर आवाजमा फुसफुसाई। गर्मी याम चलिरहेको र त्यसमाथि भद्दा मोटी भएर होला नजिक आउदा ऊ ठसठस गनाई रहेकि थिई। तैपनि म सर्तक र सचेत भएर सुनिदिदै थिए, “जनयुद्धको एउटा ठुलो ओहोदाको कामरेड उसको प्रेमी रहेछ। यसै सम्बन्धका जगमा गुप्त कुरा यताका उता पठाउदि रहिछे। यताका भन्नाले सरकार पक्ष वा प्रहरी पक्ष। यी सब बारेमा घरमा बुढोलाई भने कुनै अत्तोपत्तो थिएन।

एकदिन उसले सुनि कि कामरेडहरुले उसकै घरमा अर्थात उसको जमिनदार पतिको घरमा त्यसै राती आगो लगाउने योजना र तयारी गरिसकेका छन्। जतिखेर उसले यो सुनि ऊ कामरेडहरुलाई प्रहरीहरुको गुप्त कुरा भन्न लुक्दै, छेलिदै अड्डा जाँदै थि। सायद ऊ कामरेडहरुको अड्डामा हतारिएर पुग्दै भन्दि हो आफ्नो प्रेमीको आँखामा प्रेम हेर्दै, खोज्दै कि आजै राती प्रहरीहरु अड्डामा आक्रमण गर्दै छन्। तर यहिँनेर जिन्दगीले विरोधाभाषको उद्धरण देखाएको थियो। र यहिनेर प्रेमिहरुको छल, षडयन्त्र र खेलाचिको उदधरण मज्जैले हेर्न पाइन्थ्यो। 

अब उसले केही सोच्न जरुरी थिएन। कुरो ठिक हो। उसले तत्कालै सोच्न छाडिदि। अड्डा जाने बाटोमा कत्ति पनि उसले समय खेर फाल्नुनै थिएन। कुरो सही हो। उसले नफाल्ने निधो गरि। अत्यासमा फनक्कै फर्कनु थियो। घर तर्फ रवना हुनु थियो र घरबाट आफ्नो पतिसँग अन्त कतै कुलेलम हुनुथियो। कुरो एकदम मनासिब हो। सोचे भन्दा अत्यासमा फनक्क फर्कि। घरतर्फ रवाना भै। र घरबाट झिसमिसेमै अन्तै कतै आफ्नो पतिसँग कुलेलाम भै। दुर्भाग्यवश कताकताबाट, कसकसबाट यो कुरो उसको प्रेमीले चुइको पाइहाल्यो।

मध्यरातमा फेला पारी अनि त्यसरी आरुको रुखमा उसलाई झुन्डाएका थिए। छेउमा उसको पतिलाई पनि भुन्डाइएको थियो। घर जलाइयो। त्यसै दिन सरकार परिवर्तन भएछ र प्रहरीलाई त्यो दिनका सम्पूर्ण आक्रमणहरु रोक्न बाध्य पर्‍याे।” म सर्तक भएर सुनिरहेकै थिए, घटनाक्रम निकै रोचक लागीरहेको थियो, “कसैलाई केही थाँहा थिएन। माहोल एकदम संसयपूर्ण थियो। सबका सब त्रसिद थिए। सबका सबको सातो गएको थियो। तर कसैलाई केही थाँहा नभए पनि सबै जना उसलाई र उसको पतिलाई एक भन्दा बढि ढुङ्गा, एक भन्दा बढि तिखा भन्दा तिखा ढुङ्गा हान्न भनेर भेला भएका थिए। सबले एक भन्दा बढि ढुङ्गा हान्नै पर्ने नियम थियो।

यदि कसैले अटेर गरे वा चिट गरेर एक मात्र ढुङ्गा हाने उसलाई पनि त्यसै गरिने चेतावनी थियो। त्यसैले कसैले एक भन्दा बढि ढुङ्गाहरु रहरले प्रहार गरे भने धेरै जसोले चै एक भन्दा बढि ढुङ्गाहरु डरले परार गरे। त्यँहा उपस्थित सबले एकपल्ट सोचे र ठोकुवा गरे। उसको र उसको पतिको जिउँदै रहन एकदम मुस्किल छ तर अर्को दिन हेर्न भेला भएको बेला जिउँदै फेला परि। बरु उसको पति चै मृत फेला परेको थियो। त्यत्रो ढुङ्गाले हान्दा पनि नमरेकी भएर वा शरीर ढुङ्गा जस्तो भएको ठानी त्यसै पल देखि उसलाई ढुङ्गेनी बुढि भनियो। वा भनिन थालियो। वा भनिदै आइयो।” 

सामान किनेर फर्कदै गरिरहेको थिए। त्यस पसल्नी बारेमा सोच्दै पनि थिए। यदि त्यस बुढीलाई त्यसरी झुन्डाइएको बारेमा अझै पनि रहस्यमय छ भने उसले चै कसरी त्यति यकिनका साथ बेलीबिस्तार गरि? पछाडि हेरे। ऊ ग्रहाकलाई गफमा भुलाउदै सामान किन्न उक्साई रहेकी थिइ। के म पनि भुले उसका गफमा? भुले? भुली पो हाले कि?

मेरो विश्वविद्यालयको व्यस्त रुटिन तिव्र गतिमा गतिमान थियो। अर्को फसादको जड परिक्षा नजिकिदै थियो। पढ, खाना बनाउ र जाँउ। आँउ, खाना बनाउ र पढ। एसाईनमेन्ट, टीयुटोरीयलहरु तछाड मछाडको मचामचमा दिइएका थिए। त्यसरी नै बुझाइनु पर्ने थियो। पराक्टिकलहरु भकाभक भैरहेका थिए। पराक्टिल फाइलहरु भकाभक तयार पार्नु पर्ने थियो। त्यसैले यस्तो चापमा म निकै नराम्रोसँग च्यापिनु स्वाभाविक मान्नु नै पर्ला नि होईन? हो कि होईन? 

हो भनिदिदा तपाईको जान्छ के! 

हो भन्नुहोस्।

हो।

रुटीनमा म बिहान, दिउसो र बेलुका व्यस्त रहे पनि राती चै एकदमै खाली रहन्छु। कपमा चिया राखेर कविता लेखी बस्न मन लाग्छ। कहिले विभिन्न घटना, परिघटना वा परीघटना बारेमा सोचि बस्न मन लाग्छ। पढ्दै गरेको उपन्यास सक्न पनि मन लाग्छ। थ्याङक गड! यो आफ्नो गुप्त आदतका बारेमा हजुरहरुलाई बताई रहँदा मलाई हालैमा आफू नगरकोटीको स्वैर कालपनिक उपन्यास मिस्टीका पढदै थिए भन्ने अवगत हुँन्छ। म्याँउ।

त्यस रात म सधै झै आफ्नो झ्यालबाट बाहीर तिर हेर्दै थिए। एउटा ख्याल नगरेको कुरो आज मलाई ख्याल हुन्छ। त्यस बुढिको घर यँहाबाट मज्जैले देखिदो रहेछ। अहो! म यस झ्यालबाट त्यस बुढीको घर मज्जैले पो देख्दो रहेछु। 

जग्गा धेरै थियो तर गतिलो घर बनाएकि थिइन। एउटा सानो टिन लगाइएको ईट्टावाला घर थियो। सन्तानहरु थिएनन्। बुढा बिति सकेका थिए। (के कसरी बिते? पसल्नीले बताई सकेकी छे। भुल्नुभए पसलसम्म पुगेर आउन सक्नु हुनेछ। त्यहाँ पसल्नीले तपाईंलाई गफमा भुलाउले। तपाई भुल्नुहोला। पत्तै नपाई सामान किन्नुहोला नि फेरि? अनि रित्तै जेप फर्किनु होला नि फेरि? त्यसैले होस पुर्‍याउनु होला है त! है त होस पुर्‍याउनु होला !) 

पसल्नी थप्दै थि, “त्यसपछि देखि ऊ यसरी नै आफ्नो हक्किपन प्रर्दशन गर्दै आइरहेकी छे। उसले ऊ कँहा आएका म्याक्सीमम लफडाहरु निष्पक्ष्य नै सल्टाई। केही केही त अपवाद भैगए । अपवाद जहीँतहीँ हुनु उसको नैसर्गीक अधिकार हो । त्यसलाई के नै पो गर्न सकिन्छ, है न र? त्यसैले म अपवादलाई गुडलक अपवाद भनिदिन रुचाउछु!” पसल्नी भन्दै गैरहेकी थि, “उ यस टोलकि सबैभन्दा हर्ताकर्ता बासिन्दा हो। अझ भनौ यस टोलकि ठालु हो। हरेक साना भन्दा साना घटनाहरु, विवादहरु ऊ बिना सुल्झिन गाह्रो पर्छ। त्यसैले हरेक साना भन्दा साना देखी ठुला भन्दा ठुला घटनाहरु, विवादहरु ऊ कँहा नपुगाईन कसैले पनि चैन महशुश गर्दैन।

एक किसिमले ऊ भाग्यविदता झैं, छे यस टोलको निम्ति। यदि कसैले उसलाई जानकारी गराएन भने पनि उसले कताकताबाट थाहा पाईहाल्छे र तुरुन्त त्यहाँ पुगीहाल्छे। तर कहिले पनि किन भनेनौं वा जानकारी गराएनौं भनेर गुनासो गरेकी छैने। आवश्यक परेको खण्डमा ठाँउमै भिडिहाल्छे। उ तम्से पछि को अगी सर्ने! हो नि उ तम्से पछि को अगि सर्ने !” 

मैले अन्तिम वाक्यांसलाई प्रमाणित पार्न कुनै एक भरपर्दो प्रमाण्ड बताउ भने। उसले बिना संकोच बताई, “यस टोलको पुच्छारमै त होइन, पुच्छार तिर एउटा पक्की घर थियो। घर बेटी थिएनन्। सबै कोठा भाडामा गए पनि केही दिन यता एक कोठा बाहेक अरु कोठाका मानिसहरु काम विशेषमा कतै गएका थिए। रहेको त्यो कोठामा भारतबाट नेपालमा काम गर्न आएको एउटा सानो परिवार बस्थ्यो। सानो परिवार भन्नाले पति, पत्नि र एउटी छोरी। एकदिन बुढी त्यसै बाटो भएर आफ्नो घर जाँदै रहिछे। उसले अचानक बच्चा कराइरहेको आवाज सुनी। ऊ टक्क रोकि।

आवाज झन् चर्किदै गयो। यसै माझ एउटा मधुरो आवाज पनि आइरहेको थियो। यसले कुनै चिज वस्तुमाथि हान्दा निस्किने आवाज प्रतीत गराउथ्यो। उसलाई केही पक्का गडबडि भैरहेको भान भयो। के गरु? के नगरु? केही बेर अल्मलि। आवजहरु रोकिन्छन् कि भनेर पर्खि तर छाट देखिएन। ती आवजहरु आउन नरोकिए पछि उसले मान्छेहरु डाकि। मान्छेहरु भेला नहुँदै उसले ढोका फोडि सकेकि थिइ। फोड्दा भित्र जे दृश्य देखियो म अझै सम्झिदा हायलकायल हुन्छु। उफ कसरी बताउ तिमीलाई बाबु? बाबु तिमीलाई बताउ कसरी?”

त्यस्तो कस्तो दृश्य थियो होला भनि म सोच्दै थिए। सोच्न नभ्याउदै यस्तो थियो दृश्य (लामो सुस्केरा तानेर, आफूलाई समालेर) भनेर व्याख्या गर्न ऊ तम्सी, “ढोका फोड्दा उक्त व्यक्ति बच्चीलाई अचानोमा राखेर मासुलाई छिनाल्न दाब प्रहार गरे जस्तै गरी काठको मोटो दारले लगातार प्रहार गर्दै थियो। बच्ची रुदैरुदै अचेतमा पुग्न लाग्दै थिइ। बुढीले चिच्याउँदै उक्त व्यक्तिलाई च्याप्प समाति।

व्यक्तिले हुत्याउन खोज्दै थियो, दारले बुढीको टाउको बजारियो। टाउकोबाट रगत आउँदै थियो, निकै दुख्दै थियो। होस गुम्दै थियो तर पनि बुढीले कसोकसो उसलाई जोडले समाती। यसै बेला अरु मानिसहरु आइपुगे। त्यस व्यक्तिलाई समाते। हातबाट दार खोसे। कतै मिल्काए। उसका हात बाँधे। मुख बाँधे। यतिमै साम्य हुन खोज्दै थियो भिड। यतिकैमा मत्थर हुनहुन लाग्दै थियो, तातिएको माहोल। अँ! हुन पाएन।

अचानक सबैको ध्यान तुर्लुङ्ग भुन्डिएको नारी चोलामा पर्‍याे। सब एकछिन नराम्रो सङ्ग तर्से। बच्चाबच्चीहरु वरपर टालीए। आइमाइहरुले सलले, पच्छेउरीले, सप्काले मुख छोपे। पुरुषहरुको भिमकाय ज्यान पनि थर्थराई रहेको थियो। सबको हाल बेजोक थियो।” यति भनि सके पछि उसले पुनः निकै लामो सुस्केरा तानी। पानी घटघट पि। अनि उसले मेरो अनुहार हेरी। याद गरी होले, मेरो हाल पनि बेजोक थियो। यस्तो परिदृश्यले कस्को पो हाल बेजोक हुँदैन? अँ साँच्चि तपाईको हाल पनि कस्तो बेजोक भएको रहेछ। नपत्ताए हेर्नुहोस् त आफूलाई।

समय बित्दै जाँदा धेरै कुराहरु संयमित संयमित हुँदै जान्छन्। यो प्राकृतिक नियम हो । यस्तै संयमित त्यस बुढिमा भने अलि धेरै नै देखिन आयो। उमेर बढ्दै गएर पनि होला ऊ स्खलीत भएकी लाग्थी। जोस, उमङ्ग र सेवा भाव क्रमशः हराउँदै गैरहेको सबैको ठम्माई थियो। तर खासमा कारण यस्तो थियो। ऊ एकाएक रक्सीको अम्मली भएकी थिई। खैनीको अम्मली भएकी थिई। खैनीले खास केही असर पारीरहेको थिएन। त्यसैले यसको कुरै भएन। तर रक्सीको कुरो गम्भिर थियो। कुन शोकमा? कुन झोकमा? ऊ कहिले देखी रक्सी खाइरहेकी थिइ कसैलाई केही थाँहा थिएन। ऊ प्रायः रक्सी मेरो डेरा अगाडिको पसल्नीकोमा खान्थी।

टोलभरिका सबै मानिसहरु बुढीले रक्सी खाएकोमा दुःखी र असन्तुष्ट थिए, शिवाय पसल्नी। तर ऊ अरुको सामु भने बुढीले रक्सी खाएको कुरोमा खेद प्रकट गर्न पछि पर्थी न। तर यै कुरामा म सदैव खड्की रहे। यै कुरामा म सर्वदा संकास्पद भैरहे। मलाई निको लागीरहेको थिएन, बुढीले त्यसरी रक्सी खाएकोमा। मलाई राम्रोसँग थाँहा भैसकेको थियो बुढीलाई त्यसरी बिगार्ने त्यै पसल्नी हो भनेर। त्यसैले मलाई निको लाग्दै लागीरहेको थिएन। त्यस पसल्नीकोमा गएर रक्सी खाएको। किनभने ऊ मेरो पसन्दीता हक्कि बुढी थिइ। मलाई चुस्त र दुरुस्त बनाई रहने। राखिरहने हक्कि र लक्कि बुढी थिई। साँच्चै मलाई निकै ननिको लागि रहेको थियो। 

पछिपछि म विश्वविद्यालय जाँदा आउँदा अर्थात रक्सीको मात्रा यसरी बढाउदै लगेकी थि कि बिहान देखि साझैसम्म रक्सीमै झुलिदिन थाली। केही समयको अन्तरालमा बीच बाटोमै, बीच सडकमै सुतिदिने सम्म पुगी। कहिले त नाङ्गै सुतिएकी फेला पर्थी। उ नाङ्गै पल्टिएको दिन मलाई संकोचले आफैँलाई अङ्गालो हाल्न मन लाग्थ्यो। त्यो दिन सब से ज्यादा दुखित हुन्थे। झ्यालमा एक्लै टोलाई बस्न मन लाग्थ्यो। रातभर बसिदिन्थे।

ऊ जड्याहा भएपछि क्रमश मानिसहरुको आस्था घट्दै गयो। मानिसहरु जसरी पहिला उसको जयजयकार गर्थे, मान्थे, ठान्थे त्यसरी नै त्यसकै परिमाणमा तिनै मानिसहरु घृणा गर्न थाले। भनौं घृणा गर्न विवश भएका थिए। भनौ घृणा गर्नुपर्ने परिस्थिति बुढी स्वमले बनाएकी थिई।

मेरो व्यस्त रुटिन गतिमान नै थियो। म राती पुरै खाली हुन्छु भन्ने कुरा थाहा पाई सकेपछि यो भन्नु परेन कि मेरो झ्यालबाट मेरो पसिनदिदा हक्कि बुढीको घर मज्जैले देखिन्छ। यतिसम्मकी लाइट बालिएको खण्डमा कोठाभित्रका हरेक गतिविधि छरप्रष्ट देखिन्छन्। म हेरिरहेको थिए। हातमा चियाको कप समातेर। अँ, सम्झे आजभोली म ईश्वर वल्वभकोे “आगोका फूलहरु हुन, आगोका फूलहरु होईनन्” नामक कविता संग्रह पढिरहेको छु। किताब टेबलमा चिर निन्द्रमा छ। त्यसमध्यको सबैभन्दा बढि मन परेको कविता हो “मेरी आमाले आत्महत्या गरेको देश”। हँ म के देख्दै छु! एउटी आईमाई त्यस बुढीलाई जबरजस्ती झुन्डाउन लागेकी छे। लौ झुन्डाई पनि सकि त। अहो म के गरु? उता ऊ छटपटाइरहेकि छे। यता म छटपटाइरहेको छु। हँ म के गरु? म भित्रको म कहाँ भाग्यो? कँहा लुक्यो? ये कहाँ हराईस् डरछेरुवा म? ये कहाँ लुकिस नामर्द म? लौ उसले त छटपटाउन छोडी। अर्थात उ मरिसकी। यत्तिकैमा आईमाई आकृति फटाक्से फरार भैसक्छे।   

मेरी आमाले आत्महत्या गरेको देश!

वल्लव जी यो भनौं कि वा यो भनौं?

मेरी आमालाई आत्महत्या गराइएको देश!

म हरेक राति आफ्नो झ्यालबाट त्यस बुढी अर्थात ढुङ्गेनी बुढीको घर हेर्ने गर्छु। उसको कोठा हेर्ने गर्छु। कोठामा बुढी तुर्लुङ्ग झुन्डिएको अझै देख्ने गर्छु। यो कथा लेख्दै गर्दा पनि मैले निकै पटक त्यो घर, त्यो कोठा हेरिसकेको छु। यो कथा सिद्याउनै लाग्दा पनि म त्यै घर, त्यै कोठा हेरिरहेको छु। र म यो कथा सिद्याएर, प्रकाशीत गराएर तपाईको हातमा पुराएर पनि वर्षौ त्यै घर, त्यै कोठा हेरिरहन्छु होला। र मनमनै चुकचुकाई रहन्छु होला कि त्यो आईमाई आकृति, जो निकै भद्दा मोटो थियो। मेरो डेरा अगाडि कि पसल्नी, जो पनि निकै भद्दा छे, ऊ नै हो। पक्का ऊ नै हो।

मैले कम्तिमा चिच्याउँदै बाहीर निस्किनु पर्थ्याे। त्यस घर तर्फ दुर्गुनु पथ्र्यो। सायद उसलाई म बचाउन सक्दो हुँ। सायद!

नभए मैले प्रहरी आउदा भनिदिनु पर्थ्याे कि यी यै पसल्निले जबर्जस्ती झुन्डाएको देखेको हुँ। सायद मेरी मन पसन्दिता बुढीको आत्माले राहात पाउथ्यो कि, सायद!

आईमाई आकृति जति संलग्न छे बुढीको मृत्युमा म पनि उति त नभनौं कहीँ न कहीँ सायद म पनि छु, सायद! 

तपाईहरुले मलाई माफ कसरी दिनु होला हगी?

हगी, म आफुलाई माफ कसरी दिउला? 

त्यो आईमाई आकृति, जो निकै भद्दा मोटो थियो, मेरो डेरा अगाडि कि पसल्नी, जो पनि निकै भद्दा छे, उ नै हो। पक्का उ नै हो। यै एक कुरो हर पल, हर क्षण चुकचुकाएर जीवन जिउनु भन्दा अर्को कुनै सजाय होला? होला कि नहोला? अरे भन्नु होला कि नहोला?

 

प्रकाशित मिति: : 2020-11-21 12:59:00

प्रतिकृया दिनुहोस्