धुम्बाराहीमा प्रचण्डलाई भेटेपछि पाैडेलले भने– परिस्थिति निकै गम्भीर छ

बिएल संवाददाता

काठमाडाै‌ं

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र महासचिव विष्णु पौडेलबीच भेटवार्ता भएको छ।

शुक्रबार दिउँसो पार्टी मुख्यालय धुम्बाराहीमा भेट भएकाे हाे। भेटमा पार्टीभित्र देखिएको विवादबारे छलफल भएको  महासचिव पौडेलले बताए। 

दुई अध्यक्षबीच विवाद उत्कर्षमा पुगेका बेला महासचिव पौडेल प्रचण्डलाई भेट्न गएका हुन्। यसअघि पनि उनी प्रचण्डलाई भेट्न खुमलटारमा पुगेका थिए।

महासचिव पौडेल र अध्यक्ष प्रचण्डबीच धुम्बाराहीमा करिब २५ मिनेट छलफल भएको हो।

गत कात्तिक २८ गते बसेको सचिवालय बैठकमा प्रचण्डले एकतर्फी रूपमा प्रतिवेदन ल्याएको भन्दै प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओली आक्रोशित बनेका छन्।

प्रधानमन्त्री ओलीले मंसिर ३ गते बसेको बैठकमा प्रचण्डविरूद्ध आक्रोशसमेत पोखेका थिए। प्रधानमन्त्री ओलीले प्रचण्डको जवाफी प्रतिवेदनका लागि मंसिर १३ सम्मको समय मागेका छन्।

भेटपछि महासचिव पौडेलले परिस्थिति निकै गम्भीर भएको बताए। ‘परिस्थिति गम्भीर छ, धेरै गम्भीर छ,’ उनले भने। 

यता  कार्यकारी अध्यक्ष  प्रचण्डले पनि पार्टीको परिस्थिति गम्भीर रहको बताए। 
तर पार्टीको याे समस्या समाधानहीन भने नरहेको उनले बताए।

‘पार्टीको परिस्थिति गम्भीर रहेको सत्य हो तर समाधानहीन भने होइन,’ उनले भने। 

धुम्बाराहीमा उपप्रधानमन्त्री ईश्वर पोखरेल पनि छन्। उनले पार्टीका अन्य नेताहरुसँग छुट्टै छलफल गरिरहेका छन्।
 

प्रकाशित मिति: : 2020-11-20 14:37:00

प्रतिकृया दिनुहोस्