काठमाडौं महानगरमा कार्यरत कर्मचारी तथा पेशागत संगठनले नगर प्रहरी पप्रमुख राजुनाथ पाण्डेलाई तत्काल निलम्बन गर्न माग गरेका छन्।
नगर कार्यपालिकासमक्ष ११ बुँदे माग अघि सारेका पाँच संगठनले पहिलो बुँदामै पाण्डेलाई निलम्बन गरी छानबिन समिति बनाउँन माग गरेका हुन्।
केही दिनअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंलाई कार्यालय प्रवेश गर्न रोक लगाउने क्रममा भएको नगर प्रहरीको व्यवहारप्रति प्रश्न उठाउँदै उनीहरूले पाण्डेलाई तत्काल निलम्बन गरी तीन दिनभित्र छानबिन समिति बनाउँ माग गरेका छन्।
यो पनि-
मागपत्रको पहिलो बुँदामा भनिएको छ, ‘चैत २१ गते महानगर प्रहरी बलका प्रमुखको अगुवाइमा भएको कार्यालयको मर्यादा विपरितका अनुशासनहीन गैह्रकानूनी, अमर्यादित एवं अनपेक्षित घटनाका बारेमा सत्यतथ्य पत्ता लगाई दोषीलाई हदैसम्मको कारवाही गर्न तीन दिनभित्र अधिकार सम्पन्न छानबिन समिति गठन गरी जिम्मेवारी दिइयोस्।’
त्यस्तै दोस्रो बुँदामा भनिएको छ, ‘उक्त दिन आचरणविपरितको कार्यमा उत्रने महानगर प्रहरी बलका प्रमुखलाई महानगर प्रहरी ऐनअनुसार तत्काल निलम्बनमा राखी छानबिन कार्यलाई सहज बनाइयोस्।’
प्रमुख प्रशासकीय अधिकृतलाई सम्बोधन गरिएको ज्ञापन पत्रमा स्थानीय तह कर्मचारी युनियनका अध्यक्ष नरबहादुर साउद, स्थानीय तह कर्मचारी संघका महासचिव शम्भु बराल, महानगर कर्मचारी परिषद्का अध्यक्ष उत्तम घले, नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष मचाबाबु मलाकार र वातावरण तथा सरसफाइ श्रमिक संघकी अध्यक्ष रमिला पुजारीले हस्ताक्षर गरेका छन्।