आजबाट सदनमा पेलेरै अघि बढ्ने सत्तारुढ दलको तयारी!

संसदको अवरोध खुलाउने विषयमा सत्तापक्ष र प्रतिपक्षबीच कुराकानी मिल्न नसकेपछि सत्तारुढ दलहरू अब पेलेरै अघि बढ्ने रणनीतमा लागकेा छन्।

भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामा र छानबिन आयोग गठनको माग गर्दै प्रतिपक्षीहरूले सदनमा अवरोध गर्दै आएका छन्। लामो समयदेखिको सहमतीको प्रयास असफल भएपछि सत्तारुढ दलहरू अब सदनमा पेलेरै अघि बढ्ने रणनीतिमा पुगेका हुन्।

सभामुख देवराज घिमिरेसँग सिंहदरबारमा भएको छलफलबाट बाहिरिने क्रममा कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले अब प्रतिपक्षको अवरोध जारी रहेपनि संसद चलाउने दाबी गरे।

‘उहाँहरूले असहयोग गरे अलिकति अप्ठ्यारो त होला तर संसद आजदेखि चल्छ। धेरैदिन भयो यसलाई लम्ब्याएर लान सकिन्छ? कति दिन लम्ब्याउने? आजदेखि कार्यसूचीमा संसद प्रवेश गर्छ। आम जनतामा पनि राम्रो म्यासेज दिइराखेको छैन। एकदमै निहुँ खोज्ने अर्गेल्याइँ गर्ने हिसाबले अपोजिसनका कुरा आएका छन्। सधैं यही ढंगले अनिर्णयको बन्दी भएर बसिराख्न सकिँदैन। उहाँहरूले सहयोग गरे सुचारु हुन्छ। असहयोग गरेपनि व्यवधान त आउँछ तर संसद चल्छ।’

त्यस्तै एमाले प्रमुख सचेतक महेश बर्तौलाले पनि आजसम्म प्रतिपक्षीको कुरा मान्दै आएपनि अब पनि सूचना टाँस गरी संसद स्थगित गर्ने कार्यलाई निरन्तरता दिन नसकिने बताए।


उनले भने, ‘सूचना टाँस गरी बैठक स्थगित गर्ने उहाँहरूको कुरा आजसम्म मान्दै आयौं। आज हिजोको निरन्तरता हुँदैन। हामी सहज ढंगले आजदेखि बैठक अघि बढाउन चाहन्छौं। बजेटमाथिको छलफल आरम्भ हुन्छ, संघीय निजामती विधेयक टेबल हुन्छ। यसमा अपोजिसनले अवरोध गर्न खोज्नुहुन्न भन्ने लाग्छ। लामो समयसम्म हाउस बन्धक गर्ने पुष्टि उहाँहरूले दिइरहन सक्नुभएको छैन।’

प्रकाशित मिति: : 2025-06-08 13:35:00

प्रतिकृया दिनुहोस्