पूर्वसभामुख महराले पत्नीलाई गरे अन्तिम विदाइ

पूर्वसभामुख तथा प्रतिनिधि सभा सदस्य कृष्णबहादुर महराले पत्नी सीतालाई माला पहिराएर अन्तिम विदाइ गरेका छन्।

काेराेना संक्रमण देखिएसँगै सीतालाई १५ गतेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएकाे थियाे। यही क्रममा आज बिहान ६ः२५ बजे निधन भएको थियाे।

सीताको शव नेपाली सेनाले व्यवस्थापन गरेको हो। बुधबार पशुपति आर्यघाटमा महराले पत्नीलाई अन्तिम विदाइ गरेका हुन्। महरा परिवार आज नै दाङ जाँदैछन्।

दाङमा छोरा एटमको घरमा काजकिरिया गर्ने तयारी उनीहरूको छ। स्वास्थ्यमा समस्या देखिएपछि सीतालाई कार्तिक १३ गते दाङस्थित गोर्खा अस्पतालमा भर्ना गरिएको थियो।

 उपचारकाे क्रममा निमोनिया र स्वासप्रश्वासको समस्या  देखिएपछि कार्तिक १४ गते शुक्रबार हेलिकोप्टरबाट काठमाडौं ल्याई नर्भिक ल्याएकाे थियाे।

सीताकाे कृष्णबहादुर महरासँग २०३५ सालमा विवाह भएको थियो। उनका दुई छोरा र दुई छोरी रहेका छन्। 

महरा भूमिगत भएपछि तत्कालीन राज्यले धेरैपटक उनलाई शारिरीक मानसिक यातना दिनुका साथै केही दिन हिरासतमा पनि लिएको थियो।

२०५४ साउन २९ गते राती रोल्पा मेबाङस्थित घरमै आएर नाबालक छोराछोरीलाई घरमा थुनेर गिरप्तार गर्न थालेपछि उनी प्रहरीको घेरा तोड्न सफल भएकी थिइन। त्यसपछि घरभित्र थुनिएका छोराछोरी पनि घरपछाडिको ढोकाबाट भागेर बाँचेका थिए। त्यहीँ दिनदेखि घर छोडेका महरा परिवार नै पूर्णकालीन कार्यकर्ताको रुपमा जनयुद्धमा सहभागी भएका थिए।

प्रकाशित मिति: : 2020-11-04 14:48:00

प्रतिकृया दिनुहोस्