रुपन्देहीमा आईसीयू अभाव हुँदा धमाधम कोभिड-१९ संक्रमितको मृत्यु भइरहेको छ। बिहीवार बिहान पनि एक जना कोभिड-१९ संक्रमितको बुटवलमा आईसीयू नहुँदा ज्यान गएको छ।
अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका ९ का ७३ वर्षका पुरुषको बुटवलमा आईसीयू नहुँदा दाङ लैजाने क्रममा बाटैमा मृत्यु भएको हो। ७३ वर्षका संक्रमित पुरुष बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको कोभिड विशेष अस्थायी अस्पताल धागो कारखानाको आईसोलेसनमा बुधवार भर्ना भएका थिए।
अस्पतालमा उपचारका लागि थप आईसीयू नहुँदा उनलाई दाङस्थित बेलझुण्डी अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो। लुम्बिनी प्रादेशिक अस्पतालले बिहान ७:४५ बजे बाटोमै मृत्यु भएका ती संक्रमितको 'डेथ डिक्लियर' गरेको हो।
१७ गते मंगलवार उनमा कोभिड-१९ को संक्रमण पुष्टि भएको थियो। उनमा ज्वरो र स्वासप्रश्वासमा समस्यासमेत रहेको अस्पतालले जनाएको छ।
यसैबीच बिहीवार बिहान नै अर्का एक संक्रमितको पनि रुपन्देहीमा मृत्यु भएको छ। बुटवल उप-महानगरपालिका ७ का ७० वर्षका पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। २१ गते अस्थायी अस्पताल धागो कारखानामा भर्ना भएका उनलाई सघन उपचार कक्षमा राखेर उपचार भइरहेको थियो।
२१ गते नै संक्रमण पुष्टि भएका उनमा ज्वरो, दम, निमोनियम र स्वासप्रश्वासमा समस्या रहेको र उपचारकै क्रममा बिहान ९:१५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ।