विराटनगर र वीपी प्रतिष्ठानमा ८ कोरोना संक्रमितको मृत्यु

विराटनगर र धरानस्थित वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पछिल्लो २४ घण्टामा ८ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।

प्रतिष्ठानका सहप्रवक्ता डा आशीष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिकाका एक महिला र एक पुरुष, इटहरी उपमहानगरपालिकाकी एक महिला र तेह्रथुमका दुई पुरुषको मृत्यु भएको हो।

यता विराटनगर अस्पतालमा एक महिला र कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा दुई पुरुषको मृत्यु भएको छ। उनीहरु दुई मोरङका हुन् भने एक धरानका।

सहप्रवक्ता डा श्रेष्ठका अनुसार तेह्रथुमका ३१ वर्षीय पुरुषको बिहीबार बिहान ७ बजेर १५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको छ। 

मृगौलामा समस्या, मधुमेह र उच्च रक्तचापका बिरामी रहेका ती व्यक्तिमा असोज १० गते संक्रमण पुष्टि भएको थियो। कोरोना पुष्टि सँगै उनलाई भोलिपल्ट प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा भर्ना गरि उपचार भइरहेको थियो।

त्यसैगरी इटहरी उपमहानगरपालिका २० की ७५ वर्षीया वृद्धाको बिहीबार बिहान १२ बजेर ५ मिनेटमा उपचारकै क्रममा मृत्यु भएको छ। 

उच्च रक्तचापकी बिरामी बृद्धामा असोज २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो। सोही दिन थप उपचारका लागि प्रतिष्ठानको आकश्मिक कक्षमा उनलाई भर्ना गरिएकोथियो। 

यस्तै धरान उपमहानगरपालिका ९ का दुईजना संक्रमितको उमृत्यु भएको छ। प्रतिष्ठानकै प्रयोगशालामा असोज २५ गते कोरोना संक्रमण पुष्टि भएका ५८ वर्षीय पुरुषको कोभिड १९ अस्पतालमा उपचारका क्रममा बुधबार राति ११ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। 

ती व्यक्ति २८ गते कोभिड अस्पतालमा भर्ना भएका थिए। धरान ९ कै कोरोना संक्रमित ४४ वर्षीया महिलाको समेत बुधबार अपरान्ह ३ बजेर १५ मिनेटमा मृत्यु भएको थियो। असोज २७ गते ती महिलाको 

यसअघि, तेह्रथुम दांग्पा १ का ४९ वर्षीय पुरुषको समेत प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको थियो।

यस्तै विराटनगर अस्पतालमा मंगलबार भर्ना गरिएकी ४० वर्षीया महिलाको मृत्यु भएको हो।

मुटु सम्बन्धी समस्याको उपचारका लागि अस्पतालमा भर्ना गरिएकी महिलाको स्वाब परीक्षण गर्दा कोरोना पोजिटिभ रिपोर्ट आएको थियो। 

सुन्दरहरैचा नगरपालिका ५ की महिलाको रिपोर्ट पोजेटिभ आए पनि उनलाई थप उपचारका लागि कोभिड अस्पताल नलगी दुईदिन विराटनगर अस्पतालमै राखिएको थियो।

उनको बुधबार बेलुका ७ बजे मृत्यु भएको हो। महिलामा मुटु सम्बन्धी पुरानै समस्या थियो।

विराटनगरकै कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत दुईजना संक्रमित पुरुषको बिहीबार बिहान र बुधबार राति मृत्यु भएको छ। मृत्यु हुनेमा विराटनगर महानगरपालिका ४ का ५० वर्षीय र सुनसरीको धरान उपमहानगरपालिका १५ का ६६ वर्षीय पुरुष हुन्।

विराटनगरका पुरुषलाई असोज २१ गते रिपोर्ट पोजेटिभ आएको थियो। सोही राति अस्पताल भर्ना गरिएका उनको बिहीबार बिहान ३ बजेर ३० मिनेटमा मृत्यु भएको हो। 

मधुमेहले पीडित पुरुषको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो।

यता धरान उपमहानगरपालिका १५ का ६६ वर्षीय बृद्धको बुधबार राति ९ बजे मृत्यु भएको छ। असोज २६ गते बृद्धमा कोरोना पुष्टि भए पनि उनी होम आइसोलेशनमा बस्दै आएका थिए।

प्रकाशित मिति: : 2020-10-15 11:39:00

प्रतिकृया दिनुहोस्