परीक्षणमा सहभागी एकजना विरामी, जोन्सन एन्ड जोन्सनको कोरोना भ्याक्सिनको तेस्रो चरणको ट्रायल रोकियो

बिएल संवाददाता

न्यूयाेर्क

जोन्सन एन्ड जोन्सनले कोराेनाविरुद्धकाे खोप परीक्षण तत्कालका लागि रोक लगाएको छ। परीक्षणमा सहभागी एकजना विरामी भएपछि खोप परीक्षण तत्कालका लागि रोकिएकाे हाे।

‘हामीले अल्पकालीन अवस्थाका लागि फेज ३ ट्रायल सहित कोभिड १९ भ्याक्सिन स्थगित गरेका छौं,’ कम्पनीले जारी गरेको विज्ञप्तिमा भनेको छ, ‘अध्ययनमा सहभागी एकजनामा अप्रत्यासित रुपमा विरामी परेकाले यस्तो निर्णय गर्नुपरेको हो।’

बिरामीको गोपनीयतालाई ख्याल गर्दै कम्पनीले ती व्यक्ति कस्तो प्रकृतिको बिरामी परेको हो भन्नेबारेमा केही कुरा खुलाएको छैन। 

‘हामीले परीक्षणमा सहभागी व्यक्तिको गोपनीयताको सम्मान गर्नुपर्छ,’ कम्पनीले भनेको छ, ‘हामीले उनी बिरामीको हुनुको कारण पत्ता लगाउने प्रयास गरिरहेका छौं। अतिरिक्त जानकारी दिनुपूर्व सबै तथ्य हुनु महत्वपूर्ण छ।’

सेप्टेम्बरको अन्तिम सातातिरबाट कम्पनीले तेस्रो चरणको परीक्षणका लागि सहभागी हुने व्यक्ति छनोट गरिरहेको थियो। अर्जेन्टिना, चिली, कोलम्बिया, मेक्सिको, पेरु, दक्षिण अफ्रिका, अमेरिकालगायतका मुलुकबाट परीक्षणमा सहभागी हुने व्यक्ति छनोट भइरहेको थियो। दाेस्राे चरणमा करिब ६० हजार जनामा क्लिनिकल परीक्षण गरिएको थियो।  

जोन्सन एन्ड जोन्सनले परीक्षणमा सहभागी व्यक्ति बिरामी भएकोबारे एउटा स्वतन्त्र कमिटीले समीक्षा गरिरहेको बताएको छ। साथै कम्पनीका चिकित्सकले पनि त्यसको समीक्षा गरिरहेको बताएको छ। 

प्रकाशित मिति: : 2020-10-13 13:14:00

प्रतिकृया दिनुहोस्