काठमाडाैं। बुटवल र बाँकेमा शनिबार राति थप ५ कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ।
उपचारका क्रममा अस्पतालको सम्पर्कमा आएका तीन जनाको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको हो।
अस्पतालका प्रवक्ता डा विष्णु गौतमका अनुसार बुटवलमा शनिबार राती २ बजे बुटवल ११ की ६१ वर्षीया महिलाको मृत्यु भएको हो।
गत असोज २१ गते गरिएको पीसीआर परीक्षणमा उनमा कोरोना भाइरसको संक्रमण रहेको पुष्टि भएको थियो। त्यसपश्चात उनी कोरोना बिशेष अस्पतालमा भर्ना भएकी थिइन्। उनको राती २ बजेतिर मृत्यु भएको डा गौतमले पुष्टि गरे।
यता गत असोज २२ कोरोना भाइरसको संक्रमण पुष्टि भएका ७० वर्षिय पुरुषको पनि शनिबार राती करिब १० बजे मृत्यु भएको छ। उनी २४ गतेदेखि कोरोना बिशेष अस्पतालमा उपचाररत थिए।
यस्तै बुटवल ११ का ८४ वर्षीय पुरुषको पनि कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ। उनको आईसोलेसन अस्पतालमा बेड खाली नभएपछि दाङ लैजादै गर्दा बाटोमा नै मृत्यु भएको हो।
उनलाई शनिबार स्वास्थ्यमा समस्या देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल लगेर पीसीआर परिक्षण गरिएको थियो।
हिजो राति मात्रै बाँकेमा दुई कोरोना संक्रमितको मृत्यु भएको थियो।
कोहलपुर नगरपालिका ८ गोल्छाका ७१ वर्षीया महिलाको गए राति १० बजे मृत्यु भएको हो।
उनलाई गत असोज १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
गम्भीर प्रकृतिको निमोनियाका कारण उनको मृत्यु भएको बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए।
त्यस्तै नेपालगन्ज उपमहानगरपालिका १० का ८४ वर्षीय एक पुरूषको पनि मृत्यु भएको छ।
उनको राति ९ बजेर ५५ मिनेटमा मृत्यु भएको हो। असोज ६ गते कोरोना संक्रमण पुष्टि भएका उनको स्वास्थ्यमा सुधार नभएपछि भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको श्रेष्ठले बताएका छन्।
उनको मृत्युको कारण पनि निमिनियाको कारण स्वासप्रश्वासमा समस्या उत्पन्न भएर भएको श्रेष्ठले बताए।
योसँगै बाँकेका मात्रै २६ जनाको कोरोना संक्रमणले मृत्यु भइसकेको छ।
त्यस्तै बाहिरी जिल्लाबाट उपचारका लागि बाँके लगिएका थप १२ जना गरी कुल ३८ जनाको मृत्यु भइसकेको छ।