नशामा लठ्ठिएका युवतीहरूलाई देख्दा छिमी आफ्नो विगतमा पुग्ने गर्छिन्। अनि सम्झिन्छिन्, सडकका गल्ली–गल्लीहरूमा एक डोजको खाेजीमा भाैँतारिएकाे र पैसा माग्दै घरमा लफडा गरेकाे दिनहरू।
त्यो दिनहरू सम्झँदा उनलाई हिजोझैँ लाग्छ। तर अहिले छिमीको जिन्दगी बदलिएको छ। र, उनको काम पनि।
कुनै समय लागुऔषध खानका लागि पैसा माग्दै हिँड्ने उनी अहिले भने दिनभरि ‘गार्बेज’ कम्पनीमा काम गर्छिन् अनि रातमा सुधार केन्द्रमा बसेर दुर्व्यसनी महिलाहरूको हेरचाहमा खट्छिन्।
सुधार गृहकाे संरक्षणमा बसेका उनै दुर्व्यसनीहरूलाई समयमा औषधि दिनु र लत छुट्याउनका लागि विभिन्न तालिम गराउनुको छिमीको दैनिकी हो।
त्योसँगै लागुऔषधको सेवन गर्दा आफूले भोगेका दुःख अनि सुध्रिएपछिको सकारात्मक परिवर्तनहरूलाई पनि प्रयोगकर्ताहरूका अगाडि सुनाउने गर्छिन् छिमी।
उनले सुधार केन्द्रमा बोलेका ती शब्दहरूले प्रेरित भएका कयौँ दुर्व्यसनी युवतीहरूले नशाको लत छोडिसकेका छन्। ती कुराहरूले थप उनमा सकारात्मक साेचाइहरू थपिदिएकाे छ।
‘कुनैबेला म आफैं दुर्व्यसनी थिएँ तर आज मैले लागुऔषध प्रयोगकर्ता नानीहरूलाई निको बनाउने प्रयास गर्दैछु’, उनी भन्छिन्, ‘मेरो कामप्रति धेरै सन्तुष्ट छु।’
कुनैबेला कुलतमा फसेर परिवारसँग टाढिएकी छिमी अहिले परिवारसँग खुसी छिन्। तर कहिलेकाहीँ विगतमा आफूले गरेका गल्तीहरू सम्झिँदा दुःखी हुन्छिन्।
000
ठमेल क्षेत्रमा हुर्किएकी छिमीको आकर्षणको केन्द्र बनेको थियो, त्यहाँका ‘नाइट क्लब’हरू।
क्लबहरूमा बलेका झिलीमिली बत्तीजस्तै जिन्दगीलाई रंगाउने लालसा पलाएको थियो उनमा। क्लबमा साथीहरू रक्सी पिएर नाचगान गरेको देख्दा उनलाई पनि रमाइलो लाग्थ्यो।
शुक्रबारको दिन। क्लबमा गएर रमाइलो गर्नु उनको बानी बनिसकेको थियो। त्यही आदतले उनलाई कुलतको दुनियाँमा पुर्यायो।
‘गुड फ्राइडे मनाउनका लागि साथीहरूसँग नाइट क्लब जान्थेँ’, उनी भन्छिन्, ‘त्यो दिन क्लब नजाँदा खल्लो लाग्थ्यो।’
घरकी एक्ली छोरी थिइन् छिमी। बाआमा र दाजुकी प्यारी बहिनी। सानैदेखि उनलाई केही कुराको अभाव हुन दिएन परिवारले।
परिवारको मायाले पुल्पुलिएकी छिमी पनि शान्त र सोझी स्वभावकी थिइन्। कसैसँग मुख नलाग्ने अनि बुबाआमाले भनेको मान्ने, ज्ञानी छोरी थिइन् उनी।
तर सधैँ एकैनासको कहाँ हुँदोरहिछ र मानिसको स्वभाव। समयसँगै बदलिइन् छिमी पनि।
आफूसँग क्लब जाने साथीहरूको संगतमा उनले चुरोट तान्न थालिसकेकी थिइन्।
पहिलोपटक साथीले एक खिल्ली चुरोट खान लगाउँदा उनलाई लाग्थ्यो, ‘चुरोटले के गर्छ र?’ त्यही सोचले उनले चुरोटको सर्को लिइन्।
कहिले चुरोटको सेवन नगरेकी उनले पहिलोपटक चुरोटको धुँवा उडाइरहँदा उनको शिक्षक बन्ने सपना पनि हावामा बिलाइरहेको थियो। कहिल्यै पूरा नहुनेगरी।
‘मैले कहिल्यै चुरोट तानेकी थिइनँ। त्यसैले पहिलोपटक क्लबमा बसेर चुरोट तान्दा रिङ्गटा लाग्यो। त। चुरोट छोडिनँ’, त्यही बन्यो कुलतको बाटो पछ्याउने उनको पहिलो सिँढी।
एक दिन–दुई दिन गर्दै चुरोट तान्ने उनको बानी बन्यो। त्यसपछि छिमीले रक्सी पनि पिउन सुरु गरिन्।
घरमा बुबाआमाले रक्सी पिउने गर्थे र आफूसँग स्कूल पढ्ने साथीहरूले पनि रक्सी पिएको देखेकी थिइन् उनले। त्याे देखेर उनमा पनि उत्सुकता बढेको थियो, मद्यपानको सेवन गर्ने।
‘घरका मान्छे र साथीहरूले रक्सी पिएको देख्दा मलाई पनि खाइदिम जस्तो लाग्यो। त्यसैले खान सुरु गरिदिएँ’, रक्सीको लतबारे उनले बताइन्।
चुरोट, रक्सी हुँदै उनले गाँजा पनि खान थालिन्। त्यो पनि साथीहरूको करकापमा।
पहिलोपटक छिमीलाई साथीहरूले ‘यो तानिस् भने स्वर्गमा पुग्छस्’ भन्दै चुरोटमा गाँजा बेरेर दिएका थिए। उनले पनि साथीहरूको कुरा मानेर एक सर्को गाँजा तानिन्।
नभन्दै उनलाई स्वर्गमा पुगेजस्तो भयो। आकाशमा उडिरहेजस्तो महसुस भयो। उनलाई गाँजाको पहिलो डोजले नै लठ्याएको थियो। ‘चुरोटले भन्दा मिठो ट्रिप मलाई गाँजाले दियो’, गाँजाको लतबारे उनले बिएल नेपाली सेवासँग बताइन्।
चुरोटबाट गाँजाको लतमा पुगेकी उनी त्यतिमै रहिनन्। उनले ड्रग्स पनि खान थालिन्। ‘हामी खाने मान्छे भएपछि चाहिँ नशा बढाउँदै जान मन लाग्दो रहिछ। झन–झनै नयाँ केमिकल प्रयोग गर्न मन लाग्न थाल्यो’, नशा बढ्नुको कारणबारे उनले सुनाइन्।
चुरोटबाट ड्रग्ससम्म पुगेकी छिमीले ‘ब्राउन सुगर’को प्रयोग पनि गर्न थालिन्। त्योबेला उनले ड्रग्सले भन्दा धेरै नशा ब्राउन सुगरले दिन्छ भनेर थाहा पाएकी थिइन्। त्यसैले ब्राउन सुगरको प्रयोग गर्न थालेको उनले बताइन्।
त्यतिबेला एक डोज ब्राउन सुगरको मूल्य पाँच रुपैयाँ पर्थ्यो। जुन पैसा उनी घरमा झगडा गरेर जुटाउँथिन्।
‘असल साथीभाइ र घरमा तोडफोड गरेर पैसा लिन्थें अनि डोज पुर्याउँथेँ’, उनले भनिन्, ‘आफूलाई माया गर्ने मान्छेको विश्वास धेरै पटक गुमाएँ।’
उनको बानी–व्यवहार देखेर घरका परिवारै आजित भइसकेका थिए। जब छिमी कुलतमा फसेको थाहा पाए।
लागुऔषधको सेवन गर्नअघि कम बोल्थिन् छिमी। तर जब उनी कुलतमा लागिन्। उनको चालढालै बदलियो।
घरमा पैसा मागिरहन्थिन्। बुबाआमासँग मुख लगाउँथिन्। र, आफूले गरेका गल्ती पनि अस्वीकार गर्थिन्। उनले गरेका ती व्यवहारकाे कारण परिवारले बुझिसकेकाे थियाे छिमी कुलतमा छिन्।
‘अरूबेला शान्त बस्ने म लागुऔषध खान थालेपछि धेरै बोल्न थालेकी थिएँ। धेरै पैसा माग्थेँ। घरमा झगडा गरिदिहाल्थेँ’, विगतमा परिवारप्रति आफूले देखाएको व्यवहारबारे उनले बताइन्।
एक्ली छोरी छिमीको कारण बुबाआमा धेरै रुन्थे तर कहिल्यै त्यो दुःख देखिनन् उनले। बरू, सधैँ पैसा मागेर हैरान बनाउँथिन्। पैसा नदिँदा मोबाइल नै चोरेर भाग्थिन्। ‘घरबाट चोरेर लगेको मोबाइल डिक राख्थेँ अनि एक डोज पुर्याउँथेँ’, उनले विगतलाई कोट्याइन्।
परिवारमा कसैले नहिँडेको बाटो पछ्याइरहेकी छिमीलाई बुबाआमाले लागुऔषध छोड्न धेरै सम्झाए। उनलाई डरपनि देखाए।
तर सुध्रिने उनमा छाँटकाँटै थिएन।
आफूलाई निर्दोष देखाउन बुबाआमासँग उनी भनिरहन्थिन्, ‘मैले केही खादिनँ।’ लागुऔषध प्रयोगकर्ता साथीहरूसँग छुट्याउनको लागि छिमीलाई घरमै थुनेर पनि राखेका थिए परिवारले।
तर शुक्रबार आउनेबित्तिकै उनलाई बोलाउन आइपुग्थे साथीहरू। छिमी पनि घरको बार्दलीबाट हाम फालेर साथीहरूसँगै क्लब जान्थिन्।
क्लबबाट उनी मध्यरातमा घर फर्किन्थिन्। झुलिएकै अवस्थामा।
लागुऔषध खाएर उनले देखाएको हर्कतको कारण समाजमा बदनाम भइसकेका थिए छिमीका परिवार।
उनको कारण छिमेकीहरूले कुरा काट्दै छिमीसहित परिवारलाई अनेकथरि भन्थे। बाटोमा हिँड्दा शिर निहुराएर हिँड्न बाध्य भएका थिए परिवार।
आफ्नो कारण परिवारले नानाथरिका कुरा सुन्नुपरेकाे राम्राेसँग बुझेकी थिइन् उनले त्यही पनि नशा छोड्ने आँट थिएन उनमा।
‘बिग्रिएर हिँडेको थिएँ। त्यहीपनि म एउटी छोरी मान्छे कुरा त काट्ने भइहाल्यो नि! तर मैले उहाँहरूको बारेमा सोचिनँ। किनकी मलाई ड्रग्स छोड्ने मनै थिएन’, परिवारको बदनामभन्दा धेरै उनलाई ड्रग्सको लतले सताउँथ्यो।
ठमेल क्षेत्रमा सबै छरछिमेकहरूले चिनिसकेको थियो उनीहरूलाई। त्यसैले ठमेलबाट बसाइँ सरेर बौद्धमा बस्न बाध्य भएकाे थियाे उनीहरूकाे परिवार।
‘बौद्धमा धेरै चिनेको आफन्तहरू पनि हुनुहुन्थ्यो। त्यसैले हामी त्यहाँ बस्न थाल्यौं। तर मेरो लागि रमाइलो ठाउँ ठमेलै थियो’, उनले बताइन्।
बौद्ध सरेपछि पनि सुध्रिने सोचमा थिइनन् छिमी। त्यसैले आफन्तको सल्लाहमा उनलाई बुबाआमाले सुधार केन्द्रमा राखिदिए।
फेरिएको छिमीको जीवन
त्यो दिन,
साँझमा चिया घरमै पकाउँदै थिइन् उनी। त्यतिखेरै घर आएका केही मान्छेले उनलाई ‘तिम्रो नाम छिमी हो’ भनेर सोध्यो। उनले ‘हो’ भन्दै जवाफ फर्काइन्। त्यसपछि उनलाई बोकेर गाडीमा पुर्याइयो।
त्यतिबेला भने उनले बुझिसकेकी थिइन् उनलाई सुधार केन्द्र पुर्याइँदैछ। सुधार गृह पुगेपछि उनले घर जाने बताइन्। तर सम्भव कहाँ थियो र!
सन् २०१३ सालमा उनलाई पहिलोपटक ‘सोबर रिकभरी वुमन ड्रग्स–अल्कोहल उपचार र पुनर्वास केन्द्र’मा राखियो।
उनको रहरबिनै सुधार केन्द्र पठाउँदा धेरै रिसाएकी थिइन् छिमी, आफ्नै परिवारसित।
परिवारप्रति मात्र उनकाे रिस थियो, ‘पख्! यहाँबाट निस्किनेबित्तिकै यस्तो डेन्जर बन्छु कि!’
‘केमिकल’ खान नपाएको त्यो ‘सिकनेस’ अनि परिवारप्रतिको घृणा बोकेरै उनले सात महिना सोबरमा बिताइन्।
तर घर फर्किएपछि फेरि उनले लागुऔषध खान थालिन्। ‘मेरो मनमा सुध्रिन्छु भन्ने सोचै थिएन। मात्र थियो नकारात्मक कुराहरू। त्यसले मलाई सुध्रिन दिएन’, पहिलो उपचार उनको लागि असफल भयो।
रिहाब सेन्टर बसेरपनि नसुध्रिएपछि उनलाई काकाले एउटा ‘गार्बेज’ कम्पनीमा काम लगाइदिए। सुध्रिने आशमा।
काम गर्न थालेपनि उनी सुध्रिनन्। बरू, उनलाई डोज पुर्याउने पैसा भयो। ‘काकाले सुध्रिन्छ भनेर काममा लगाइदिए तर मैले कहाँबाट छोड्नु र! मेरो बाँच्ने आधारै ड्रग्स बनेको थियो’, उनले बताइन्।
केही महिना राम्रोसित काम गरिन् उनले। तर सधैं एकनासले काम गर्न कहाँ सक्थिन् र छिमीले। काम गर्न नसकेपछि उनलाई त्यो कम्पनीबाट निकालियो।
काम गर्न छाडेपछि उनले फेरि घरमा तोडफोड गर्न थालिन्। पैसा नदिएसम्म उनी घरको सामान फुटाइरहन्थिन्। र, पैसा पाएपछि खुसी हुँदै आफ्नो बाटोतिर लाग्थिन्।
‘हामी खाने भइसकेपछि एक–एक डोजको लागि तड्पिनुपर्थ्याे। त्यही डोजको लागि मैले धेरै सडकको गल्ली–गल्ली डुलेँ। कत्तिको गाली खाएँ। त्यसकाे कुनै लेखाजाेखा छैन’, उनी भन्छिन्, ‘परिवारसँग टाढिएर बाहिर–बाहिरै बसेँ।’
पहिलेभन्दा पनि छोरीको अवस्था झनै डरलाग्दो भएपछि उनका बुबाआमाले फेरि छिमीलाई सुधार केन्द्रमै राख्ने निधो गरे। छोरी नसुध्रिएपनि एक डोजको लागि सडकको गल्ली भौँतारिदै हिँड्न पर्दैन भन्ने विश्वास थियो बाआमाको। त्यही आशले छिमीलाई दोस्रोपटक पनि सोबर पुर्याइयो।
सोबरबाट फर्किएको ९ महिना हुँदै थियो। छिमी आफ्नो घरमा बसिरहेकी थिइन्। अनुहारमा ‘फेस प्याक’ लगाएर।
त्यतिखेरै उनले आफ्नो घरमा सोबरका ‘सिनियर स्टाफ’ देखिन्। र, मनमनै सोच्न थालिन्, ‘अब फेरि मामाघर जानेबेला भयो।’
सुधार केन्द्र लैजान उनलाई घरबाट निकाल्न थालियो। उनी ‘जादिनँ’ भन्दै चिच्याउन थालिन्। आमासँग गुहार मानिन्। तर आमा भने ढोका बन्द गरेर बसेकी थिइन्। त्यसपछि उनी सरासर गोकर्णस्थित आरुबारीको सुधार केन्द्र पुगिन्।
‘मलाई दोस्रो पटक पनि सुधार केन्द्र जाने मनै थिएन। तर जर्बजस्ती जानुपर्याे। मैले आमासँग गुहार मागेँ तर आमाले नसुनेजस्तो गर्नुभयो। त्यसपछि म अनुहारमा फेस प्याक बोकेरै सोबर पुगेँ। हल्का कमेडी पनि लाग्यो’, त्यो दिनलाई सम्झदै मुस्कुराउँछिन् उनी।
दोस्रोपटक सोबर आउँदा रिसाएकी उनी धेरै ‘नेगेटिभ’ भइसकेकी थिइन्। सुधार गृहबाट भाग्नको लागि उनले अनेकौं जुक्ति अपनाइन्।
सोबरको पर्खाल भत्काउन खोजिन्। तर उनी आफैं थला परिन्। ‘भाग्छु भनेर पर्खाल भत्काउन खोजें तर कहाँ सक्नु र! आफैं थला परेँ नि’, त्यसपश्चात त्यहाँबाट भाग्ने उनको योजना फेल भयाे।
पहिलोपटकभन्दा पनि उनलाई दोस्रोपटक सुधार केन्द्रमा बस्दा धेरै पीडा भयो। ड्रग्सको डोज बढेरपनि होला उनको उपचार पनि उत्तिकै संघर्षपूर्ण भयो।
सुरु–सुरुमा उनको शरीर पूरै काँप्यो। नाकबाट लगातार सिँगान चुहियो। निन्द्रा लागेन। एकैछिन आँखा बन्द गर्दा बिहान भइसक्थ्यो। ‘सिक पिरियडमा मैले २५ दिनसम्म आँखा बन्द गर्न सकिनँ’, उनी भन्छिन्, ‘मैले त्यतिबेला थाहा पाएँ। नसुतिकन पनि बाँच्न सकिँदो रहिछ।’
जब दोस्रोपटकको उपचारमा उनले एक महिना कटाइन्। त्यसपछि उनमा सकारात्मक कुराहरू आउन थाले। उनले आफूभन्दा अगाडि सुध्रिएका दिदीहरूको कुरा पनि सुन्न थालिन्।
त्यसपश्चात उनले महसुस गरिन्, लागुऔषध खाएर कोहीपनि सफल हुँदैन।
आफूभित्र सकारात्मक सोचाइहरू आउन थालेपछि उनले आफैंसँग संकल्प लिइन्, ‘अब म सुध्रिनैपर्छ। लागुऔषध खान छोड्नैपर्छ।’
त्यो सोचले उनलाई ९ महिना सोबरमा बस्न बाध्य बनायो।
उनको दोस्रोपटकको उपचार सफल भयो। छिमी कुलतबाट रिकभर भइन्। तर उनी घर गइनन्।
घर फर्किदा फेरि त्यही लतमा फस्ने डर थियो उनमा। त्यसैले उनी सोबरमै बस्न थालिन्। र, कुलतमा लागेका महिलाहरूको उपचारमा खटिइन्।
अहिले उनी सोबरकी ‘सिनियर स्टाफ’ भएकी छिन्। र, आफ्नो पुरानो गार्बेज कम्पनीमा पनि काम गर्छिन्। ‘मैले त्यो जागिर गुमाइसकेकी थिएँ तर सोबरका दाइहरूको कारण फेरि पाएँ’, उनी भन्छिन्, ‘अहिले दुई वटा काम गरेर आफूलाई व्यस्त बनाइरहेकी छु।’
अहिले आफूले गरिरहेको कामप्रति खुसी भएकी छिमीलाई एउटै कुराले चस्काइदिइरहेको छ। त्यो हो उनको पढाइ।
‘शिक्षक बन्ने मेरो सपना थियो तर त्यो पूरा हुन सकेन। मैले लागुऔषध सेवन गर्न थालेपछि कक्षा आठबाटै पढाइबाट विश्राम लिएँ’, उनी भन्छिन्, ‘मलाई विदेश जाने पनि अवसर आएको थियो तर कुलतमा लागेकै कारण जान सकिनँ। तरपनि अहिले खुसी नै छु।’
लागुऔषधले निल्यो साथी ज्यान
कुलतको दुनियाँबाट निस्किएकी छिमी आफूलाई निकै भाग्यमानी ठान्छिन्। अहिले उनी नशामुक्त जीवन बाँचिरहेकी छिन्।
तर स्वर्गीय बुबा र साथीहरू सम्झँदा भने भावुक हुन्छिन् उनी। क्यान्सर रोगी बुबालाई उनले नशाकै हालतमा गुमाइन्। सुध्रिएको देखाउनसमेत पाइनन् उनले।
‘बुबाले म बिग्रिएको मात्र देख्नुभयो तर सुध्रिएको देख्नुभएन’, त्यो कुराले अझै पनि पिरोलिरहेको छ उनलाई।
नशाको कारण उनले बुबासँगै साथीहरूलाई पनि गुमाइन्। आफूसँगै केमिकल खाएर हिँडेका कयौं साथीहरूलाई गुमाइसकिन् उनले।
तर धन्न! बेलैमा उपचार पाइन् छिमीले। ‘मेरो धेरै साथीहरू लागुऔषध खाएर मरिसके तर म अहिलेसम्म बाँचिरहेकी छु।’
कुनैबेला आफूसँगै खाएर हिँडेका साथीहरूलाई गुमाइसकेकी छिमी अहिले भने नयाँ जीवन बाँचिरहेकी छिन्। र, दुर्व्यसनीहरूलाई बाँच्न सिकाइरहेकी छिन्।