मानव अधिकार आयोगले भन्याे: डा केसीकाे स्वास्थ्य अवस्थालाई सरकारले चासाे दिएन

राष्ट्रिय मानव अधिकार आयोगले डा गोविन्द केसीकाे स्वास्थ्य अवस्थालाई सरकारले चासाेका साथ नहेरेको बताएकाे छ।

आयोगका प्रवक्ता तथा सचिव वेद भट्टराईले जारी गरेको विज्ञप्तिमा आयोगको अनुगमनमा डा केसीको स्वास्थ्य अवस्थाबारे सरकारले चासोका साथ नहेरेको पाइएको उल्लेख गरेको छ ।

डा. केसीको १९ औं अनशनको बुधबार २४ औं दिन भए पनि सरकारले अनशन तोड्न आग्रह गर्नेबाहेक वार्ता टोलीसमेत गठन गरेको छैन ।

भदौ २९ गतेदेखि अनशनरत डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बन्दै गइरहेको प्रति पनि आयोगले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

‘डा. केसीको स्वास्थ्य अवस्था सम्बन्धमा आयोगको बागमती प्रदेश कार्यालयको टोलीले आज महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगी अनुगमन गरेको छ । निजको स्वास्थ्य अवस्था सम्बन्धमा नेपाल सरकारबाट चासोका साथ नहेरिएको अनुगमनको क्रममा पाइएको छ,’ विज्ञप्तिमा भनिएको छ । 

आयाेगले यसअघि सरकारले गरेका सम्झौताहरु कार्यान्वयनको स्थिति सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको छ । 

‘डा केसीको स्वास्थ्य अवस्था एवम् नेपाल सरकारसँग विगतमा भएका सम्झौताहरुको कार्यान्वयन अवस्था सम्बन्धमा जानकारी गराउन नेपाल सरकारलाई पत्राचार गरेको छाैं। याे सम्बाेधन हुनेछ भन्ने आश व्यक्त गर्दै ,’ विज्ञप्तिमा भनिएको छ । 

आयोगले केसीसँग विगतमा गरिएका सम्झौताको पालना गर्न र उनको स्वास्थ्य तथा उचित मागहरुप्रति समयमै संवेदनशील बन्न सरकारलाई आग्रह गरेको छ । 

‘वार्ता र संवादको माध्यमबाटै कुनै पनि समस्याको समाधान हुने भएकोले त्यसतर्फ समयमै सार्थक पहल गरी निजको जीवन रक्षा गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

आयोगले आफ्ना मागहरु पूरा गराउन आमरण अनशनजस्तो जीवन नै जोखिममा पर्नसक्ने जटिल विकल्प नरोज्न पनि डा. केसीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति: : 2020-10-07 18:27:31

प्रतिकृया दिनुहोस्