राष्ट्रिय सभा सदस्यसहित १३ जनामा कोरोना संक्रमण

अर्घाखाँचीमा राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्कासहित समुदायस्तरका १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । समुदायस्तरमा बढी समाजमा घुलमेल हुनेहरु जिल्लास्तरीय उच्च तहका वर्गमा कोरोना संक्रमण देखिएको हो। 

अर्घाखाँची अस्पतालका प्रमुख डा. कपिल गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको स्वाब परीक्षणमा नेपाली कांग्रेस जिल्ला उपसभापति शान्ता भण्डारी, प्रहरी नायब उपरीक्षक माधब प्रसाद बुढाथोकी, रामबाण दल गुल्मका गुल्मपती अशोक कुमार थापा क्षेत्री , रेडक्रस शाखाका जिल्ला सभापति कुशल भुसाल ,अर्घाखाँची अस्पतालका डा. जगदीश शर्मा,  लगायत १३ जनामा  संक्रमण पुष्टि भएको  हो। ।

जिल्लाका विभिन्न स्थानमा गएका पहिरो प्रभावितहरुको राहात तथा पुनरस्थापनामा खटिएकामा कोरोना देखिएको अनुमान गरिएको छ । यसअघि आश्विन ६ गते देखि परेको अबिरल वर्षाका कारण जिल्लाको विभिन्न ठाउँमा भएको विपद व्यवस्थापन राहत उद्वार र पुनरस्थापनामा खटिएकै बेला जिल्लाका प्रमुख जिल्ला अधिकारीलगायत ७ जनामा संक्रमण पुष्टि भएको थियो । 

त्यसको दुई दिनपछि गरिएको स्वाब परिक्षणमा सोही विपद व्यवस्थापनमा सँगै खटिएका १३ जनामा समेत संक्रमण पुष्टि भएको जिल्ला जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताए ।

प्रकाशित मिति: : 2020-10-05 14:30:38

प्रतिकृया दिनुहोस्