विश्वको शक्तिशाली राष्ट्रपति डोनाल्ड ट्रम्पको शरीरमा रिजेन–कोभ२ भ्याक्सिन परीक्षण गरिएको छ।
दुई दिनअघि कोरोना संक्रमण देखिएपछि अमेरिकी राष्ट्रपति ट्रम्पलाई उपचारका लागि मेरील्याण्डको वाल्टर रिड अस्पताल भर्ना गरिएको थियो।
उनको शरीरको तापक्रम बढेपछि तथा स्वास लिन अफ्ठेरो भएपछि चिकित्सकहरूको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको हो।
अस्पताल प्रशासनले ट्रम्पलाई ८ ग्राम भ्याक्सिनको खोप दिएको बताएको छ। रिजेन–कोभ२ भ्याक्सिन ‘एन्टीबडी ककटेल’ औषधि हो।
रिजिने–कोभ२ औषधिलाई अमेरिकी कम्पनी रिजेनेरनले तयार पार्दैछ। यसको परीक्षण लन्डनमा भइरहेको छ। कम्पनीको दावीलाई मान्ने हो भने यसको परीक्षण निकै सकारात्मक छ।
मुसा र कोरोनाबाट निको भएका बिरामीको एन्टीबडीलाई प्रयोग गरेर औषधि तयार पारिएको कम्पनीको दावी छ। यसले कोरोनालाई नियन्त्रण गर्न सहयोग गर्छ। यो औषधि कति प्रभावित छ भन्ने कुराको आधिकारीक जानकारी सार्वजनिक हुन बाँकी छ।
बेलायतबाट प्रकासित डेली मेल अनलाइनका अनुसार यसअघि दुई जना संक्रमितमा भएको उपचारमा यो औषधिमा साइडइफेक्ट देखिएको थियो। तर, अमेरिकी कम्पनीले यसको पुष्टी गरेको छैन।
ट्रम्पका चिकित्सक डा. सिएन कान्लेका अनुसार ट्रम्पलाई ८ ग्राम रिजेन–कोभ२ औषधिको सिङ्गल डोज उपलब्ध गराइएको छ।
ट्रम्पलाई दिइएको भ्याक्सिन सुरक्षित भएको अक्सफोर्ड विश्वविधालयका प्रोफेसर पिटर हार्बीले बताएका छन्।
उनले यसको एउटा डोजले बिरामी ६ सातासम्म सुरक्षित रहन सक्ने बताएका छन्। यसलाई एक प्रकारको ‘आर्टिफिसियल एन्टीबडी’ भनिएको छ। जसमा दुई प्रकारको एन्टीबडी पाइने र एउटाले मानव शरीरमा कोरोनाको भाइरस प्रवेश गर्न रोक लगाउने बताइएको छ। यसले भाइरसलाई समाप्त पार्न इम्युन सिस्टमलाई सहयोग गर्छ।
प्रोफेसर पिटरका अनुसार परीक्षणका क्रममा यो भ्याक्सिन कारोनाको सामान्य र गम्भीर लक्षण भएका ५ सय संक्रमितलाई दिइएको छ। अहिलेसम्म स्वास्थ्यमा कुनै समस्या देखिएको छैन।