जुम्ल्याहा बच्चा जन्माएकी कोरोना संक्रमित सुत्केरीको मृत्यु

बाँकेको कोहलपुरस्थित नेपालगन्ज मेडिकल कलेज, शिक्षण अस्पतालमा आज (आइतबार)  कोरोना संक्रमित सुत्केरीकाे मृत्यु भएको छ।

कञ्चनपुरकाे महेन्द्रनगर-२ ठेगानाकी २९ वर्षीया सुत्करीकाे उपचारका क्रममा बिहान ४:३० बजे मृत्यु भएको फोकल पर्सन नरेशबाबु श्रेष्ठले पुष्टि गरेका हुन्। 

धनगढीस्थित सेती अस्पतालमा उनले एक छाेरा र छाेरी जुम्ल्याहा जन्माएकी थिइन्। त्यस क्रममा उच्च रक्तश्राव भएपछि उनको पाठेघरको अपरेसन गरिएको थियो।

रगत चढाई उपचार गर्ने क्रममा पीसीआर जाँच गर्दा उनमा कोरोना पुष्टि भएको थियो। त्यसपछि यही असोज १५ गते उनलाई नेपालगन्ज मेडिकल कलेजमा रेफर गरिएको थियो।

तर उपचारकै क्रममा आज बिहान उनकाे मृत्यु भएको श्रेष्ठले बताए।

योसँगै बाँकेमा बाहिरी जिल्लाबाट आएर उपचार गराएका ९ संक्रमितको मृत्यु भएको छ। 

प्रकाशित मिति: : 2020-10-04 08:40:52

प्रतिकृया दिनुहोस्