खोप आउँदैमा महामारी अन्त्य हुँदैन, सामान्य स्थितिमा फर्किन एक वर्ष लाग्ने छ: प्रतिवेदन

बिएल संवाददाता

न्यूयाेर्क

कोरोना भाइरसविरुद्धको खोप बनेर प्रयोगमा आए पनि जनजीवन सामान्य बन्न अझै एक वर्ष लाग्ने वैज्ञानिकले बताएका छन्।

रोयल सोसाइटी अन्तर्गत डेल्भ इनिसिएटिभ अन्तर्गत विभिन्न क्षेत्रका वैज्ञानिकहरुले यस्ताे निराशाजनक अनुसन्धान प्रतिवेदन सार्वजनिक गरेका हुन्।

वैज्ञानिकले बुजाएकाे प्रतिवेदनमा खोपका विषयमा तथ्यपरक भएर सोच्नु पर्ने र अपेक्षा पनि सोही अनुसारको हुनु पर्ने उल्लेख छ।

खोप आउँदैमा महामारीको सबै समस्या समाधान नहुने उनीहरुले तर्क छ।

कोरोना भाइरस महामारीको एक मात्र अचूक ओखती वा विकल्पका रुपमा खोपलाई लिइएको छ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार अहिले विश्वमा २ सयभन्दा बढी खोप बनिरहेका छन् भने तीमध्ये ४० वटाभन्दा बढी मानिसलाई लगाएर गरिने परीक्षण चरणमा पुगेका छन्।

तर खोप प्रभावकारी प्रमाणित भई प्रयोगमा आउन थाले पनि आउँदो मार्चसम्म जनजीवन सामान्य अवस्था फर्किने सम्भावना नरहेको वैज्ञानिकले बताएका छन्।

यसैकारण खोप प्रयोगमा आइसकेपछि पनि संक्रमण फैलिन नदिनका लागि लागु गरिएका प्रतिबन्धहरु बिस्तारै मात्रै फुकुवा गर्नु पर्ने वैज्ञानिकहरुले सो प्रतिवेदनमा सुझाव दिएका छन्।

इम्पेरियल कलेज लन्डनको नेसनल हार्ट एन्ड लङ इन्स्टिच्युटकी डा. फिओना कलीले भनेकी छन्, ‘खोपबाट महामारी अन्त्य हुन्छ भन्ने ठूलो अपेक्षा छ, तर खोप विकासको इतिहास हेर्दा धेरै असफलता पनि भएका छन्।’

बेलायत, अमेरिकालगायत देशमा यही वर्षको अन्त्यसम्ममा केही मानिसले खोप पाउने र आउँदो वर्षको सुरुवातमा यो क्रम व्यापक हुने आशा गरिएको छ।

तर रोयल सोसाइटीको रिपोर्टले भने खोप तत्काल उपलब्ध नहुने तर्फ सचेत गराउँदै खोपको विकास लामो प्रक्रिया रहेको उल्लेख गरेको छ।

इम्पेरियल कलेज लन्डनकी केमिकल इन्जिनियरिङ विभागका प्रमुख निलय शाहले भनेका छन्, ‘खोप प्रयोगमा आएको महिना दिनभित्रै सबैले लगाउन पाउँछन् भन्ने हुँदैन। खोप लगाउने प्रक्रिया पूरा हुन ६ महिनादेखि एक वर्षसम्म लाग्छ।’

प्रकाशित मिति: : 2020-10-02 08:54:22

प्रतिकृया दिनुहोस्