पर्सा औराहाका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु

पर्साको सखुवा प्रसौनी गाउँपालिका १ रेञ्ज औराहाका ६५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

नारायणी बयोधा हस्पिटलमा उपचारको क्रममा कोरोना संक्रमण पुष्टि भएपछि उनलाई थप उपचारका लागि सोमबार भरतपुर रिफर गरिएको थियो। 

भरतपुर लैजाँदै गर्दा बाटोमा नै उनको मृत्यु भएको उनका आफन्तजनले बताएका छन्। योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४५ पुगेको छ। 

मधुमेहको पुरानो रोगी उनको मृगौलामा समेत समस्या देखिएको थियो। नारायणी बयोधा र नेसनल मेडिकल कलेजमा गरी उनको १८ पटक डायलायसिस भइसकेको थियो। 

तीन दिनदेखि स्वास प्रस्वासमा समेत समस्या देखिएपछि असोज १० गते शनिबार उपचारका लागि नारायणी बयोधा हस्पिटलमा भर्ना गरिएको थियो।

बेलुका भर्ना गरिएकोमा अस्पतालले कोरोना संक्रमणको आशंकामा कुनैपनि चेकजाँच नै गरेको मृतकका छोरा यसराज महतो थारु बताउँछन्। 

‘भोलिपल्ट पीसीआर परीक्षणका लागि स्वाब नमुना संकलन गरेर नारायणी अस्पतालको प्रयोगशालामा पठायो,’ उनले भने, ‘उनीहरुले अक्सिजन लगाएर छोडिदिएका थिए। बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आयो भन्ने जानकारी आयो, हामी सबै आत्तियौं।’ 

त्यसपछि बयोधाले थप उपचारका लागि भरतपुर लैजानु भनि रिफर गरिदिएको र लैजाँदै गर्दा बाटोमा असोज १२ गते बिहान १ बजेतिर मृत्यु भएको यसराजको भनाई छ।

प्रकाशित मिति: : 2020-09-29 18:53:33

प्रतिकृया दिनुहोस्