नेपाल कोरोना संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ। योसँगै मृतकको संख्या ४ सय ४१ पुगेको छ।
यो समाचार तयार पार्दासम्म बुटबलमा दुई तथा चितवन, डडेलधुरा र सप्तरीमा एक एक जनाको मृत्यु भएको हो।
बुटवलको कोरोना अस्पतालमा उपचाररत नवलपरासी पश्चिम र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ। उनीहरु दुवैजना सात दिनदेखि भेन्टिलेटरमा थिए।
गत भदौ २७ गते अस्पताल भर्ना भएका नवलपरासी पश्चिमको रामग्राम नगरपालिका ३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो। उनी कलेजो र मिर्गौलाका दीर्घ रोगी थिए।
यस्तै असोज १ गते अस्पताल भर्ना भएका कपिलवस्तुको बुद्धभूमि नगरपालिका ६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा विष्णु गौतमले जानकारी दिए। उ
उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी रहेका थिए।
यता चितवनमा पनि एक जनाको मृत्यु भएको छ। चितवन मेडिकल कलेजमा उपचाररत तनहुँको आँबुखैरहनी नगरपालिका ३ का ३९ वर्षीय युवकको मृत्यु भएको हो।
अस्पतालका निर्देशक डा दयाराम लम्सालका अनुसार उनको बुधबार राति १२ः५५ बजे मृत्यु भएको हो।
डायलासिस गराउन भदौ २९ गते अस्पताल आएका उनमा गत भदौ ३१ गते कोरोना देखिएको थियो। कोरोना संक्रमणसँगै अस्पतालको सघन उपचार कक्षमा उनको उपचार भइरहेको थियो।
यस्तै डडेल्धुरामा कोरोना संक्रमणबाटपहिलो मृत्यु भएको छ।
नवदुर्गा गाउँपालिकाका ४८ वर्षीय पुरुषको गएराति डडेल्धुरा अस्पतालमा मृत्यु भएको हो।
केही दिनअघि भारतबाट आएका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको थियो।
डडेल्धुरा अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा पनि संक्रमण पुष्टि भएको कोभिड १९ सम्पर्क व्यक्ति हरिप्रसाद भट्टले जानकारी दिए।
उनका अनुसार बिरामीलाई अस्पताल ल्याएर उपचार गर्ने क्रममा श्वासप्रश्वासको गति बन्द भइसकेको थियो।
यस्तै सप्तरीमा कोरोना संक्रमणबाट जिल्ला प्रशासन कार्यालयमा कार्यरत ५५ वर्षीय कार्यालय सहयोगी पुरुषको मृत्यु भएको छ। उनको बिहीबार बिहान ५ बजेतिर मृत्यु भएको हो।
गत ३१ भदौमा कोरोना पोजेटिभ देखिएपछि उनी होम आइसोलेसनमा रहँदै आएका थिए। शुरुवाती समयमा ज्वरो देखिए पनि पछिल्लो चार दिन यता उनको स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत आनन्द ठाकुरले बताए।
स्वास्थ्य अवस्था सामान्य रहेको अवस्थामा उनको मृत्यु भएको ठाकुरले बताए।
मृत्यु भएका पुरुष लामो समयदेखि प्रजिअ निवासमै खाना पकाउने काम गर्दै आएका थिए।