राष्ट्रसंघीय व्यूरो निर्देशकको सल्लाहकारमा नियुक्त स्वर्णिम वाग्ले न्यूयोर्क प्रस्थान

राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष स्वर्णिम वाग्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी) की सहायक महासचिव कन्नी विग्नाराजाको वरिष्ठ सल्लाहकारमा नियुक्ति हुँदै न्यूयाेर्क प्रस्थान गरेका छन्।

राष्ट्रसंघको एसिया र प्रशान्त महासागरका लागि क्षेत्रीय व्यूरो निर्देशक एवं सहायक महासचिव विग्नाराजाले वाग्लेलाई आफ्नो वरिष्ठ सल्लाहकारमा छनोट गरेपछि उनी सोमबार न्यूयाेर्कतर्फ प्रस्थान गरेका हुन्।

इन्टिच्यूट फर इन्टिग्रेटड डेभलपमेन्ट स्टडिज् (एकीकृत विकासका लागि अध्ययन संस्थान) (आइआइडिएस) का वर्तमान अध्यक्षसमेत रहेका वाग्ले सहायक महासचिवको सल्लाहकारमा नियुक्त भएर गए पनि आइआइडिएसको अध्यक्ष भने रहिरहने छन्।

संविधान सभाको दोस्रो निर्वाचन २०७० मा सम्पन्न भएसँगै विश्व बैंकको जागिर छोडेर वाग्ले नेपाल फर्किएका थिए।

झण्डै १५ वर्षसम्म कहिले विश्व बैंक, कहिले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम अन्तर्गत विभिन्न देशमा सक्रिय भएर काम गरेका वाग्लेलाई तत्कालिन नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रिय योजना आयोगको सदस्य पदमा मनोनित गरेका थिए।

त्यसपछिको नेकपा एमाले/माओवादी सरकारको पालामा केही समय पद बिहिन भएका वाग्ले कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको माओवादीसहितको गठबन्धन सरकारको पालामा २०७४ साउन १९ गते योजना आयोगको उपाध्यक्षमा नियुक्ति भएका थिए।

गत निर्वाचनमा कम्युनिष्ट गठबन्धनले बहुमत हाँसिल गर्दै नयाँ सरकारको नेतृत्वमा केपी शर्मा ओली आउनुअघि तत्कालिन सरकारको सिफारिसमा राष्ट्रपतिको तर्फबाट मनोनित हुने तीन जनामध्ये एक सदस्यका रुपमा राष्ट्रिय सभा सदस्यमा मनोनित हुन असफल प्रयास गरेका थिए।

 राष्ट्रिय सभा सदस्य पदमा मनोनित हुने प्रयास विफल भएपछि वाग्लेले उपाध्यक्ष पदबाट राजीनामा दिएर कांग्रेसको राजनीतिमा विस्तारै सक्रिय हुँदै गएका थिए।

जसको कारण कांग्रेस सभापति देउवाले २०७५ साल मंसिरमा पार्टीको महासमिति बैठक सुरु हुनुअघि विधान वमोजिम महासमिति सदस्यमा मनोनित पनि गरेका थिए।

त्यसपछिका दिनमा उनी सभापति देउवासँग पनि विस्तारै टाढिँदै गएका थिए।

नयाँ जागिरको सिलसिलामा न्यूयाेर्क उड्नु अघि उनले पार्टी सभापति देउवासहित शीर्ष नेताहरु रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, रामशरण महत लगायतलाई भेटेर वाग्लेले आफू राष्ट्र संघको एक वर्षे जागिरका लागि न्यूयाेर्क जान लागेको जानकारी गराएका थिए।

प्रकाशित मिति: : 2020-09-21 22:24:55

प्रतिकृया दिनुहोस्